दल

मौसम तात्यो तर देउवा र दाहालको सम्बन्ध चिसियो

इकागज |
माघ २३, २०७८ आइतबार १५:१८ बजे

काठमाडौँ– अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा पठाएको पत्र सार्वजनिक भएसँगै देउवा र दाहालबीच फोन संवाद भएको छ । 

फोनवार्तामा दाहालले पत्र सार्वजनिक भएकोमा आपत्ति जनाएका छन् ।  उनले देउवासँग ‘पत्र सार्वजनिक गर्नुको बाध्यता र अर्थ के हो ?’ भनेर सोधेका थिए । यद्यपि देउवाले आफूले पत्र सार्वजनिक गर्न नलगाएको दाबी गरेका छन् । 


पत्र सार्वजनिक भएसँगै बाहिर र भित्र दोहोरो कुरा गरिरहेका दाहालले आफूलाई अप्ठेरो पारिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । अपराह्न चार बजे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुन लागेको भेटका सम्बन्धमा पनि दाहालले आशंका व्यक्त गरेका छन् । 

यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवाले नोभेम्बरमा स्कटल्याण्डमा सम्पन्न विश्व जलवायु सम्मेलनबाट फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमसीसीसँगको सम्झौता अनुमोदनका लागि आफू र दाहालले संयुक्त पत्र लेखेर दिएको र चाँडै गठबन्धन दलहरू बसेर पत्रकार सम्मेलन गरी एमसीसीबारे गठबन्धनको साझा धारणा सार्वजनिक गर्ने तयारी भएको बताइसकेका थिए । 

एमसीसी सम्झौताका बारेमा धारणा बनाउन माओवादी केन्द्रले आजै आन्तरिक छलफल थालेको छ । काठमाडौँ उपत्यका र आपपासका क्षेत्रमा गएको दुई–तीन दिनदेखि बढेको चिसो आजबाट हटेपनि गठबन्धनका सहयात्री देउवा र दाहालको सम्बन्धमा चिसोपना बढेको छ । प्रधानमन्त्री पत्नी आरजु राणाले त दाहाल र देउवा ‘बेस्ट फ्रेन्ड’ रहेको बताउँदै आएकी थिइन्, तर उनीहरूबीचको सम्बन्ध करिब–करिब अघिल्लो पटकको आम निर्वाचन अघिकै स्थितिमा पुगेको छ । 

देउवा र ओली भने आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेट्ने तय भएको छ । 
 


Author

थप समाचार
x