राजनीति

सिसडोलवासीले भदौबाट फोहोरका गाडी जान नदिने चेतावनी दिएका छन्ः मन्त्री चौधरी

इकागज |
साउन ११, २०७९ बुधबार १९:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् ।

बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौँमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताए । उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको जिकिर गरे । उनले ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौँ भित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने उल्लेख गरे ।


मन्त्री चौधरीले देशभर बञ्चरेडाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए । मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भएपनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने सुनाए । उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए । उनले सिसडोलवासीले आजैमात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए । 


Author

थप समाचार
x