राजनीति

ओलीलाई खनाल-नेपाल समूहका सांसदको प्रश्‍न : अनुहार हेर्दै रिस उठ्यो भनेर स्पष्टीकरण सोध्‍ने ?

चन्द्रशेखर अधिकारी |
बैशाख ७, २०७८ मंगलबार १८:८ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीलाई विभाजनतिरै लैजान अनेकन हत्कण्डा प्रयोग गरेको निस्कर्षसहित पार्टी जोगाउन ‘ओलीको भण्डाफोर’ गर्ने निर्णय माधवकुमार नेपाल-झलनाथ खनाल समूहले गरेको छ । ओलीले जनताद्वारा निर्वाचित सांसदहरूलाई कुनै आधारबेगर मनपरी ढंगले स्पष्टीकरण सोधिएको निस्कर्ष पनि उनीहरूको छ । ओलीका क्रियाकलापबारे सार्वजनिक रूपमा बाहिर बोल्ने तर उनलाई स्पष्टीकरण दिने बाटोमा नजाने निर्क्यौल बैठकले निकालेको एमालेका सांसदहरूले बताए ।

स्पष्टीकरण सोधिनेमा परेका अधिकांश सांसद र बरिष्ठ नेताद्वय  नेपाल र खनालबीच बानेश्वरमा छलफल भएको थियो । उक्त छलफलमा ओलीले सांसद पद खारेज गर्न सक्ने कानुनी आधार नभएको हुँदा स्पष्टीकरण दिनुको तूक नभएको नभएको ठहर पनि उनीहरूको छ । उनीहरूले स्पष्टीकरण नदिएको खण्डमा हुन सक्ने सम्भावित कारबाही र त्यसपछि अपनाउनुपर्ने कानुनी बाटोका सवालमा पनि छलफल गरेका थिए ।


स्पष्टीकरण सोधिनेमा परेका सांसद् एवं पूर्वमन्त्री घनश्याम भुसालले इकागजसँग कुरा गर्दै भने, ‘तथाकथित स्पष्टीकरण सोध्‍ने, पार्टी सत्यानाश गर्ने श्रृखला सुनियोजित ढंगले अघि बढाएका छन् । यसमा हामी डटेर लड्ने छौँ ।’ ओली नियोजित ढंगले एमाले सिध्याउन लागिपरेको आरोप पनि भुसालको छ । सामूहिक राजीनामा दिन लागेको भन्‍ने हल्लासमेत ओलीका ‘साइबर सेना’ले फैलाएको उल्लेख गर्दै  भुसालले भने, ‘हामी डटेर जाने हो । राजीनामा दिएर कहाँ भाग्‍ने ? हामीले के उल्लंघन गरेका छौँ र ? न नयाँ पार्टी खोलेका छौँ न त अन्य कुरा गरेका छौँ ।’

पछिल्लो समय ओलीले दललाई भन्दा आफूलाई केन्द्रमा राख्दा यो परिस्थिति आएको पनि उनीहरूको मूल्यांकन छ । एमालेभित्र ओली हाबी भएपछि अन्य सबैलाई उनले सिध्याउने काम मात्र गरेको भन्दै यस्तो कार्यले दल सकिने निश्कर्ष पनि उनीहरूको छ । 

आफूले भर्खर मात्रै ‘भाइबर’मा स्पष्टीकरणपत्र पाएको बताउँदै एमाले सांसद् विरोध खतिवडा भन्छन्, ‘स्पष्टीकरण सोध्‍नेगरी हामीले के कार्य गरेका छौँ र ? न हामीले नयाँ पार्टी खोलेका छौं, न त फ्लोर क्रस नै । अनुहार हेर्दामै रिस उठ्यो भन्दैमा स्पष्टीकरण सोध्‍न पाइन्छ ? यो विषयमा हामी थप छलफल गर्नेछौँ ।’ 

ओलीले आफ्नो एउटा सानो समूहको ‘क्लब’जस्तो बनाएर चलाउने र कुर्सी जोगाउने खेलबाहेक अरु केही गरेका छैनन् भन्दै खतिवडाले भने, ‘शक्तिबाट बाहिर निस्केपछि पातालमा पुग्छु भन्ने थाहा भएर नै उनले अन्तिम प्रयास गरिरहेका हुन् । उनले पार्टी बनाउनुको सट्टा पार्टी सक्ने काम गरे । त्यो पनि नियोजित ढंगले । उनलाई पार्टीप्रति कत्ति पनि मोह छैन । प्रधानमन्त्री पद र शक्ति र कुर्सी उनको चाह हो । त्यही तुजुकमा उनी छन् ।’

अर्का नेता रघुजी पन्तले पनि स्पष्टीकरणबारे छलफल भइरहेको र त्यसमा ओलीको भण्डाफोर गरेर अघि बढ्नेबाहेक अन्य कुरा नभएको बताए । कानुनी पाटोको विषयमा पनि छलफल हुनेछ । दललाई नै सक्दै अघि बढ्न लागेपछि हामी दल बचाउन र प्राप्त उपलब्धिलाई पनि सँगै बचाएर अघि बढ्न आवश्यक रहेको उनले बताए । ओलीले २७ जना सांसद्लाई स्पष्टीकरण सोध्दै किन पार्टीबाट निस्कासन गर्न नपर्ने भनिएका वाक्या‌श राखिएको छ । त्यसरी स्पष्टीकरणमा परेकाहरू जम्मा हुँदै भावी रणनीतिबारे छलफल गरेका हुन् ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x