राजनीति

मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार छ : गृह मन्त्रालय

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १५:९ बजे

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ ।

सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकूलताको सम्बन्धमा आंकलन गरी व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहेको बताएको हो । बिहीबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोइरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्येनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए ।


उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्‍यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने जानकारी दिए । सडक, खोला, नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उल्लेख गरे ।

सहसचिव कोइरालाले सम्भावित विपद्को आंकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे । निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने उनकाे भनाइ छ ।

सहसचिव कोइरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकूलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए ।


Author

थप समाचार
x