राजनीति

१५७ मतले पराजित अरगरिया भन्छन्- जनअभिमत विपरीत निर्वाचन अधिकृतले कांग्रेसलाई विजयी गराए

सुभाष कर्ण |
मंसिर ९, २०७९ शुक्रबार १९:२० बजे

जनकपुरधाम - धनुषा-२ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा पराजित उमाशंकर अरगरीयाले मतगणनामा बेइमानी गरिएको आरोप लगाएका छन् । कांग्रेसका रामकृष्ण यादवसँग १५७ मतले पराजित भएका अरगरियाले जनताको अभिमतविपरीत निर्वाचन अधिकृतले गलत मनसाय राखेर काँग्रेस उम्मेदवारलाई निर्वाचित गराएको आरोप लगाएका हुन् । 

शुक्रबार मतगणनाको परिणाम आएलगतै जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै अरगरियाले मतगणनामा सत्ताको अडामा प्रहरी प्रशासन लगाएर मुख्यनिर्वाचन अधिकृतले यादवलाई जिताएको आरोप लगाए ।


मतगणनाको क्रममा प्रदेश सभाको मतपेटिकामा आफ्नो करिब ४ सय मत गएकोमा निर्देशिकाविपरीत त्यसलाई बदर गरिएको उनको आरोप छ । मतपेटिकामा गएका मतपत्रलाई सदर गर्न आफूहरूले पटक-पटक मौखिक ताकेता गर्दा पनि लिखित रूपमा निवेदन दिँदा पनि निर्वाचन अधिकृतले निवेदन समेत नलिएको उनले बताए ।

उनले प्रतिनिधि सभाको मत प्रदेश सभाको मतपेटिकामा परेकोमा मत सदर वा पुनर्गणना गर्नुपर्ने माग समेत गरे ।

निर्वाचन निर्देशिकाविपरीत अर्को वक्सामा गएको मतपत्रलाई बदर गरेर अन्याय गरिएको भन्दै आफू न्यायका लागि अदालत जाने उनले चेतावनी दिए । 

रामकृष्णले २० हजार ११२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिद्वन्दी उमाशंकरले १९ हजार ९५५ मत ल्याए छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x