राजनीति

संसदीय राजनीतिमा अनुभवी ठाकुर, यस्ताे छ राजनीतिक जीवन

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २२:४१ बजे

काठमाडौँ - तराई–मधेसलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सम्भावना बोकेका शीर्षनेताहरू मध्येका महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ठाकुर रौतहट क्षेत्र नं ३ बाट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनकाअनुसार लोसपाका अध्यक्ष ठाकुरले १६ हजार तीन सय ७५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले १४ हजार तीन सय २५ मत प्राप्त गरे ।    
    
महोत्तरी पिपरा गाउँपालिका एकरहियामा विसं १९९९ जेठ १३ गते जन्मिएका ठाकुर संसदीय राजनीतिको अनुभवी राजनीतिज्ञका रुपमा परिचित छन् । अघिल्लो पटकको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यसमते रहेका उनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका छन् ।    
    
विसं २०१६ मा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय ठाकुर तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कार्यसमितिसम्म पुगे । तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना गरे । विसं २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गरेका उनी हाल लोसपाको अध्यक्ष छन् ।    
    
विसं २०४८ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका ठाकुर मध्यावधि निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए । विसं २०६४ संविधानसभा सदस्य मनोनीत सदस्य भई ठाकुरले संविधान निर्माणमा भूमिका निर्वाह गरेका थिए । सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७४ मा महोत्तरी ३ बाट निर्वाचित भए । उनले संसद्को अर्थसमितिको सदस्य भएर काम गरेका थिए ।    
    
प्रतिनिधिसभा उपसभामुखको विशेष जिम्मेवारी बहन गरेका ठाकुर अन्तरिम सरकार २०६३ मा वातावरण तथा विज्ञान प्रविधिमन्त्री बनेका थिए । राजनीतिअघि शिक्षण र वकालत पेसामा आबद्ध ठाकुर तराईका पुराना त्यागी र सादगी नेताका रुपमा परिचित छन् ।    
    
राजनीतिक आन्दोलनका क्रममा प्रहरी हिरासत, बन्दी तथा जेल जीवन निर्वासनका क्रममा पनि जेल जीवन बिताएका थिए । आफूलाई निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने सांसद ठाकुर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए। रासस



Author

थप समाचार
x