राजनीति

बाढीपहिरो र डुबान व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह

इकागज |
बैशाख ११, २०८० सोमबार १७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेसहितका नेताहरूले बाढी, पहिरो र डुबान व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरले वर्षा सुरु हुनै लागेकाले सरकारले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने बताए ।


एमालेका प्रमुख सचेत गिरीले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बन्धित सबै निकायले ध्यान दिनुपर्ने बताए । अबको एक, डेढ महिनापछि बाढी, पहिरो र डुबानको समस्या आउने भएकाले त्यसलाई न्यूनीकरण गर्न सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो ।

प्रमुख सचेतक गिरीले विपद् व्यवस्थापनका लागि बनाइएका सरकारी निकायमा स्रोत र साधनको समेत अभाव भएको उल्लेख गर्दै त्यसतर्फ पनि लाग्न सरकारलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले विपद् व्यवस्थापनका लागि फेरि रेस्क्यू गर्ने, पुनर्वासको व्यवस्था गर्नेलगायतका समय आएको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले विपद व्यवस्थापनको पूर्वतयारीका लागि साधन, स्रोतको नीतिसहितको तयारी गर्न पनि सरकारसँग आग्रह गरे ।

ठूलो राजनीतिक दलहरूले पनि विपद् व्यवस्थापनका लागि अनिवार्य रूपमा छुट्टै विभागको व्यवस्था गर्नुपर्नेमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले जोड दिए । उनले राजनीतिक दलसम्बन्धी ऐनमा सो व्यवस्था रहेकाले ठूला राजनीतिक दलहरूले विभाग बनाई विपद न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।​

उपमहासचिव तुलाधरले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सूचना प्रविधिको व्यवस्था मिलाउन पनि सरकारलाई दबाब दिए ।


Author

थप समाचार
x