राजनीति

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

इकागज |
जेठ २७, २०८० शनिबार २१:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गर्दै छन् ।

अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गर्न लागेका हुन् । 


उनी प्रदर्शनीमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै छन् । उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधि मण्डलमा सहभागी छन् । यस्तै उनका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।

कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधि मण्डलले बेइजिङ र साङ्घाई भ्रमण गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । 

भ्रमणमा बेइजिङमा विभिन्न स्थलको अवलोकन गर्ने कार्यक्रम छ । उनी औपचारिक भ्रमण सम्पन्न गरी असार ६ गते नेपाल फर्कने कार्यक्रम छ । रासस


Author

थप समाचार
x