राजनीति

व्यवस्थालाई दोष दिने बेला भएको छैन : मन्त्री गुरुङ

इकागज |
असोज १५, २०८० सोमबार १४:४६ बजे

काठमाडौँ- ​शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छन् ।​

सोमबार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता प्राप्त गरे पनि कानुनी रूपमा, संवैधानिक रूपमा व्यवस्था गरे पनि अहिले व्यवहारिक रूपमा कार्यान्वयन गर्न नसकेको बताइन् । उनले झन्डै ४० वटा संघीय कानुन बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गरिन् । उनले कार्यान्वयनकै चरणमा सबै कुरा भएन भन्ने हो भने गलत हुने बताइन् । उनले आम नागरिकको चासो शहरकेन्द्रित हुन थालेको बताइन् ।


मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारे पनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन् । उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गरिन् । उनले सबैको साझा संकल्प र प्रतिबद्धता हुन नसक्दा यी योजनाहरू कार्यान्वयनमा जान नसकेको बताइन् ।

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् । उनले सबै पालिकामा शहर निर्माणको बेस लाइन योजनाबारे आवश्यक अध्ययन हुन जरुरी रहेको बताइन् । उनले शहर व्यवस्थित गर्नका लागि शहरी विकास नीति आवश्यक रहेको बताइन् । 


Author

थप समाचार
x