राजनीति

प्रधामन्त्री प्रचण्डको दसैँ शुभकामना

‘उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती’

इकागज |
कात्तिक ४, २०८० शनिबार ९:७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नेपालीहरूको महान् पर्व विजयादशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।


‘पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ। हामीले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ। यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो। योसँगै हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकोमा म जोड दिन चाहन्छु,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

उनले अहिले हामी अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेको तथा लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती रहेको बताएका छन् ।

‘हामीलाई पछाडि फर्किन या यत्तिकै रुमलिने छुट छैन। हामीले नेपाली जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पुरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आएपनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ,’ उनको संदेशमा उल्लेख छ ।


Author

थप समाचार
x