राजनीति

पुराना राजनीतिक दलहरू सबै बेठीक हुन् भन्ने भाष्य तयार गरिएको छ : रमेश लेखक

इकागज |
कात्तिक १६, २०८० बिहीबार १६:१३ बजे

फाइल फाेटाे

काठमाडाैँ – नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरू सबै बेठीक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् । 

बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठीक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताए ।


प्रमुख सचेतक लेखकले  यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे । उनले संविधान सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने कुराकाे जिकिर गरे ।

लेखकले संविधान सफल गर्न लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने जानकारी गराए । उनले राजनीतिक दलहरू संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे।

लेखकले भने , ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन । यदि यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अप्ठ्यारोमा पुग्न सक्छ । किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षहरू क्रान्ति, बलिदानहरू ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो । यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो गर्दैन । यो संविधान सफल गर्नुछ ।’

लेखकले अगाडि भने, ‘यो संविधान सफल गर्नका लागि पनि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्छ । यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका विरुद्धमा आवाज उठाउने गरिएको छ । प्रायोजित रूपमा उठ्ने गरेको छ । यो व्यवस्था, संविधान, यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू, पुराना राजनीतिक दलहरू बेठीक हुन्, यि अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने  प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ ।’

लेखकले यो संविधान र व्यवस्था असफल भयो भने मुलुक ठीक ठाउँमा नपुग्ने बताए ।   

साथै, लेखकले प्रायोजित षडयन्त्रलाई चिर्न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड समेत दिए ।


Author

थप समाचार
x