राजनीति

'समयमै कोभिडविरुद्धको खोप ल्याउन नसक्नुले सरकारको कुटनीति असफल भएको पुष्टि भयो'

इकागज |
असार ६, २०७८ आइतबार १५:५४ बजे

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप लगाएका छन् ।आज बिहान आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले सरकार कमिसनको खेलमा लागेका कारण कोभिडविरुद्धको भ्याक्सिन समयमा नै ल्याउन नसकेकेको बताएका हुन् । 

उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरे । कोभिडविरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनीतिक रुपमा असफल भएको उनको दाबी छ । ‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिक अहिले दोस्रो डोजको प्रतिक्षामा छन्,’ उनले भने, 'समयमा नै दोस्रो डोज खोप लगाउन नपाउँदा ती जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’ साथै नेता सिहंले जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले हेलचेक्राई गर्न नहुने बताए । सरकार उत्तरदायी नहुँदा समयमा नै कोभिड संक्रमण नियन्त्रण हुन नसकेको उनको भनाइ छ ।


फरक प्रसङ्गमा नेता सिंहले पार्टीको १४ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेकाले समयमा नै माहाधिवेशन सम्पन्न हुने बताए । साथै उनले १४ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निमार्ण गर्न र विधि प्रक्रिया अनुसार अगाडी बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

त्यस्तै नेता सिंहले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्‍न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपिल गरेका छन् । उनले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दु:खमा आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।


Author

थप समाचार
x