राजनीति

५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन आजदेखि

इकागज |
भदौ १८, २०७८ शुक्रबार ७:४९ बजे

काठमाडौँ- शुक्रबार ५६ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । आसन्‍न १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुन लागेको हो । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि अधिवेशन सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । 

नामावली प्रकाशित भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृतसमेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनले भने, 'क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा आज नै अधिवेशन हुन्छ, केही वडामा नाम छुटेका र मिलाउनुपर्ने भएको अवस्था समितिको रोहवर एक/दुई दिन पछाडि सार्न सकिन्छ ।'


नौ लाख कांग्रेसका क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । 

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्‍न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिए । देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्‍न हुने जानकारी दिए । 

कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका/नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाका व्यवस्था गरिएको छ ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । 


Author

थप समाचार
x