राजनीति

बागमती प्रदेश सभा असोज २४ गते आह्वान गर्न सिफारिस

इकागज |
असोज २०, २०७८ बुधबार २०:३ बजे

हेटौंडा - बागमती प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन आह्वान  गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही असोज २४ गते प्रदेश सभाको बैठक बोलाउन सिफारिस गरेको प्रदेशको स्वास्थ्यमन्त्री प्रदीप कटुवालले जानकारी दिए ।
   
बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने सम्बन्धमा भने कुनै छलफल नभएको मन्त्री कटुवालले बताए । असोज २४ गते बागमती प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिने प्रस्ताव राख्‍ने र २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी भएको स्रोतले बतायो । 

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रतिनिधित्व गरेको दल एमाले विभाजन भएसँगै सरकार अल्पमतमा परिसकेको छ । एमालेमा रहेका १३ सांसदले विभाजपछि बनेको नेपका एकीकृत समाजवादी पार्टी रोजेका थिए ।  


अहिले बामगती प्रदेश सभाको कुल १०९ सांसद मध्ये एमालेमा ४३ सांसद, कांग्रेस २२, माओवादी २३, समाजवादी १३, विवेकशील साझा ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसद एक जना छन् । 

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागि दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव  राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

सोही अनुसार विश्वासको मत लिने भन्दै मुख्यमन्त्री शाक्यले विश्वासको मत दिन्छन् भन्ने आश गर्न सकिए पनि भरोसा गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।


Author

थप समाचार
x