राजनीति

स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

इकागज |
कात्तिक ७, २०७८ आइतबार १६:१९ बजे

पोखरा – गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउनेसमेत बताए ।

मन्त्रालयले पुनरावलोकन समिति गठन गरेको र स्थानीय तहको कानुन निर्माणमा देखिएका समस्यालाई सो समितिमा राखेर प्रक्रियागत ढंगबाट सम्बोधन गरिने उनले जानकारी गराए ।  ‘हामीले पुनरावलोकन समिति गठन गरेका छौं । स्थानीय तहलाई काम गर्न सहज हुने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने प्रयत्नमा छौं । त्यसैले स्थानीय तहमा देखिएका समस्यालाई पुनरावलोकन समितिमा राखेर सम्बोधन गरिनेछ,’ मन्त्री थापाले भने ।


मन्त्री थापाले जनताले अपनत्व गर्ने कानुन निर्माण गरी सहज र सरल रूपमा सेवा प्रवाह गर्न म्याग्दीको स्थानीय तहलाई निर्देशन दिएका छन् । वर्तमान सरकार जनताको सरकार भएकाले जनताले संघीयताको अपनत्व गर्ने गरी नीति निर्माण बनाउनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पार्दै मन्त्रालयका सचिव धर्मराज कुँइकेलले नेपालमा संघीयता प्रारम्भ पछि स्थानीय तहहरू आफैंमा पूर्ण सरकारको रूपमा कार्य सञ्चालन गरिरहेको बताए । उनले सुरुवातका समयमा प्रदेशमा कानुन निर्माणका कार्यहरू भएको र हाल स्थानीय तहहरूले नै कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको रुपमा काम गर्दै आएको जानकारी गराए ।


Author

थप समाचार
x