राजनीति

प्रदेश १

कोइरालाको नेतृत्वमा बन्यो राजनीतिक संयन्त्र, थापाको नेतृत्वमा न्यूनतम् साझा कार्यक्रम लेखिँदै

बाबुराम भण्डारी |
कात्तिक २९, २०७८ सोमबार १६:४ बजे

विराटनगर - सरकार संचालन र सत्ता गठबन्धनमा रहेका दलबीचको सम्बन्धलाई अगाडि बढाउन भन्दै प्रदेश १ मा सरकारमा रहेका पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाएको छ । संयन्त्र अन्तरगत रहने गरी कांग्रेसकै सांसद शेखरचन्द्र थापाको संयोजकत्वमा सरकारको न्यूनतम् साझा कार्यक्रम लेखनका लागि समिति गठन भएको छ ।

कोइरालाको नेतृत्वमा गठबन्धन दलका नेताहरू सदस्य रहने गरी प्रदेश १ मा उच्च स्तरीय राजनीतिक संयन्त्र बनेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए । उनले थापाको नेतृत्वमा गठबन्धनभित्रका दलहरूले पठाएका प्रतिनिधि सांसद र केही बाहिरका व्यक्तिसमेतको सहभागितामा सरकारको साझा कार्यक्रम लेखिने जानकारी दिए ।


‘हामी गठबन्धन दलहरूबाट माननीय राजीव कोइरालाको नेतृत्वमा गठबन्धन दलका सबै नेताहरू सदस्य रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो’ मन्त्री कार्कीले भने, ‘संयन्त्रको मातहतमा रहेर सरकारको न्यूनतम् साझा कार्यक्रम माननीय शेखरचन्द्र थापाको संयोजकत्वमा अरु दलहरूबाट पनि एकएकजना प्रतिनिधित्व हुने गरी निर्माण गरेका छौं ।’ उनले सांसद थापा नेतृत्वको समितिले तयार पारेको न्यूनतम् साझा कार्यक्रमलाई कोइराला नेतृत्वको संयन्त्रभित्र छलफल गरी अन्तिम रुप दिइने बताए ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि थापा नेतृत्वको समितिले सरकारको न्यूनतम् साझा कार्यक्रम लेखनलाई अघि बढाउने जनाइएको छ । समितिमा माओवादी केन्द्रबाट सांसद धिरेन्द्र शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट राजन राई सदस्य रहेका छन् । त्यसैगरी समितिमा जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने पार्टीबाट प्रतिनिधित्व गराउने जनाइएको छ ।

ठूलो दललाई मौका

सत्ता गठबन्धनभित्रको सवैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसले संयन्त्र र सरकारको न्यूनतम् साझा कार्यक्रम लेख्ने कामको नेतृत्व लिएको छ । गठबन्धनभित्रको ठुलो दल कांग्रेसमा सरकार गठनदेखि नै गुटगत प्रतिस्पर्धा छ । देउवा समुहमा रहेका कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीको नेतृत्वमा सरकारमा गएको कांग्रेसले पहिलो पटक बनेको मन्त्रीमण्डलमा डा.शेखर कोइराला समुहका केदार कार्कीलाई समेत एकैदिन सपथ गराउनु परेको थियो । 

सरकार संचालनका लागि बनाइएको संयन्त्र र साझा न्यूनतम् कार्यक्रम लेखन समितिमा पनि कांग्रेसभित्रको दुई समुहको संघर्षकै व्यवस्थापनमा केन्द्रीत देखिएको छ । संयन्त्रको नेता चयन भएका कांग्रेस संसदीय दलका नेता कोइराला डा.शेखर कोइराला निकट हुन् । कांग्रेसका समानुपातिक सांसद थापाले देउवा समुहको प्रतिनिधित्व गर्दै सरकारको न्यूनतम् साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी पाएका हुन् । 

२१ सांसद रहेको कांग्रेसले राजेन्द्रकुमार राईको नेतृत्वमा प्रदेश सरकार गठन गर्न शर्तसहितको सहमति जनाएको थियो । सरकार गठनअघि बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई गठबन्धन दलको तर्फबाट ‘हाललाई’ मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय गरेको जनाइएको छ । सरकार आलोपालो लगायतका बिषयमा सहमति नभएको भन्दै तत्कालिन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कांग्रेसकै निवेदनका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा एक साता आफ्नो आयु लम्ब्याउने मौका पाएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x