राजनीति

३९ वर्षपछि टुटेको दाहाल र भट्टको आत्मीयता

नवराज पनेरु |
माघ १८, २०७७ आइतबार १३:५४ बजे

दाहाललाई मोटरसाइकलमा लैजादैं लेखराज । यो तस्वीर १४ वर्षअघि पत्रकार भोजराज भाटले खिचेका थिए ।

धनगढी : प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भयो । वर्षौदेखि सँगै रहेका कतिपय नेता अलग-अलग समूहमा लागे । अहिले एक अर्काप्रति आरोप-प्रत्यारोपमा उत्रिएका छन् । नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहाल शनिबार हाल ओली समूहमा रहेका उद्योगमन्त्री लेखराज भट्टमाथि खनिए । भट्टकै गृह जिल्लामा आएर दाहालले भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाए । 

नेकपा (दाहाल–नेपाल समूह) ले धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले भने, ‘मैले नै हुर्काएर उनलाई पटकपटक मन्त्री बनाएको थिए । अहिले उनी केपीको दलाल भएका छन् । केपी आफै दलाल थिए । उनी दलालको पनि दलाल भए ।’ भट्टले साथ छोड्दा केही दिन निन्द्रा नलागेको बताउँदै दाहालले अगाडि थपे, ‘हाम्रा कुनै साथी दलालको पछि लागेनन् । ९५ प्रतिशत साथीले हामीलाई साथ दिएर दलालको भण्डाफोर गरिरहेका छन् ।’


धनगढीमै २४ पुसमा नेकपा ओली समूहले पनि भेला गरेको थियो । भेलामा भट्ट दाहालविरुद्ध खनिएका थिए । केपी शर्मा ओली नेतृत्वको नेकपाका सुदूरपश्चिम संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले दाहालले १० वटा सरकार गिराइसकेको आरोप लगाएका थिए ।

‘अध्यक्ष कमरेडले १० वटा सरकार गिराइसक्नु भएको रेकर्ड छ । पार्टी त नेकपासम्म उहाँले विघटन गराउनुभयो । यो प्रवृत्तिविरुद्ध हामी जनताको बीचमा गइरहेका छौं ।’ संसद विघटनपछि हरेक कार्यक्रममा भट्टले दाहालको विरोध गर्दै आएका छन् । 

किन छोडे लेखराजले दाहालको साथ ?
नेकपा माओवादी, एकिकृत नेकपा माओवादी र माओवादी केन्द्रमा हुँदा लेखराज भट्ट पार्टीमा सुदूरपश्चिमका पहिलो नम्बरका नेता थिए । सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूले पनि उनलाई नम्बर ‘वान’ कमाण्डर नै मानेका मान्‍थे । उनी पुष्पकमल दाहाल नजिक भएकाले पार्टीमा उनको बोली पनि बिक्थ्यो । तर एमाले र माओवादी केन्द्रको एकतापछि उनले सुदूरपश्चिममा पार्टीको कुनै जिम्मेवारी पाएनन् । ईञ्चार्ज पूर्वएमालेबाट भीम रावल भए भने अध्यक्ष पनि एमालेबाटै कर्ण थापा भए ।

लेखराज स्थायी कमिटी सदस्य भए । एकतापछि दाहालले सुदूरपश्चिमकै एक कार्यक्रममा अब सुदूरपश्चिमको नेता भीम रावल भएको अभिव्यक्ति दिएपछि लेखराज दाहालबाट टाढिदै गए । सुदूरपश्चिममा पार्टीको इन्चार्ज रावललाई दिनु र दाहालले रावललाई नै सुदूरपश्चिमको नेता भन्दै अभिव्यक्ति दिएपछि लेखराज टाढिएको आँकलन गरिन्छ । त्यसपछि लेखराजले दाहाल क्याम्प छोडेको चर्चा चल्यो । लेखराज मन्त्री बनेपछि खुलेरै ओलीको समर्थनमा लागे ।  संसद विघटनपछि पनि उनी ओली पक्षकै समर्थनमा जुटेका छन् ।

दाहाललाई पेस्तोल उपहार
दाहालले ३९ वर्ष पहिले उपहारस्वरुप लेखराजबाटै एउटा पेस्तोल पाएका थिए । २०३८ सालमा भारतको गोरखपुरमा युवक संगठनको भेला हुँदै थियो । सो समयमा संगठनका केन्द्रीय अध्यक्ष दाहाल र केन्द्रीय सदस्य लेखराज भट्ट थिए । 

भट्टले दाहाललाई जनयुद्धको सफलताका लागि एउटा पेस्तोल उपहार दिएका थिए । सो समयदेखि दाहाल र लेखराजबीच आत्मीयता बढेको थियो । २०१६ सालमा डोटीमा जन्मिएका भट्ट ०२१ सालमा कैलालीको अत्तरियामा बसाइँ सरेका हुन् । 

दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा लेखराजलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका थिए भने बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्री थिए । बुवाले कांग्रेसको राजनीति गरे पनि भट्ट भने सहिद भीमदत्त पन्तको किसान आन्दोलनबाट प्रभावित हुँदै कम्युनिष्ट आन्दोलनमा लागेका थिए । 

१४ वर्षअघिको फोटो भाइरल
दाहाललाई भट्टले मोटरसाइकलमा बोकेको तस्वीर अहिले भाइरल भएको छ । भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाएपछि अहिले सामाजिक सञ्जाल फेसबुकमा उक्त तस्वीर भाइरल भएको हो । तस्वीर पत्रकार भोजराज भाटले २०६३ सालको असारमा खिचेका थिए । डोटीको विपीनगर प्रशिक्षणपछि अत्तरियास्थित लेखराज भट्टको घरमा आउँदै गर्दा भाटले खिचेको बताएका छन् ।


Author

थप समाचार
x