राजनीति

दाहाल-नेपाल समूहमा सुरु भयो विवाद

७७ जिल्‍लाकै नेतृत्‍वको नाम एकैपटक सार्वजनिक गरिने

सन्तोष अधिकारी |
फागुन १०, २०७७ सोमबार १९:३५ बजे

काठमाडौँ  :  नेकपा दाहाल-नेपाल समूहमा विवाद सुरु भएको छ । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजन भएको दाहाल-नेपाल समूहमा पनि विवाद सुरु भएको हो । सोमबार सार्वजनिक भएको ६८ जिल्लाको नेतृत्व छनोटको विषयलाई लिएर विवाद उत्पन्‍न भएको हो । ५०-५० प्रतिशतमा भागवण्डा गरेको यो समूहमा नेतृत्व चयन हुन नपाउँदै विवाद देखिएको हो । 

आज (सोमबार) मात्रै उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले हस्ताक्षर गरेर ६८ जिल्लाका नेतृत्वको सूची सार्वजनिक गरेका थिए । तर, नेकपाका नेताहरूले नै उक्त सूची आधिकारिक नभएको दाबी गरेका छन् । ‘त्यो सूची अन्तिम होइन । छलफल गर्नै बाँकी थियो । हाम्रै केही साथीहरूले सार्वजनिक गरिदिनुभएछ,’ दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले भने, ‘खासमा ७७ वटै जिल्लाको एकै पटक टुंग्याउने भन्‍ने थियो । विवाद भएको भन्‍न मिल्दैन । छलफल बाँकी भएपछि त्यसलाई कसरी विवाद भन्‍न मिल्छ ?’ उनले नेताहरू छलफलमै रहेकाे हुँदा मतभेद् भन्‍न नमिल्ने दाबी गरे ।  उनले सोमबार सार्वजनिक विवरण परिमार्जन गर्ने गरी छलफल भइरहेको पनि बताए ।  


सोमबार सार्वजनिक सूचनामा माघ १ र २ मा बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरे अनुसार जिल्लामा नेतृत्व नियुक्त गरिएको बताइएको छ । ‘नाम कतै एकलौटी सिफारिस गरिएको देखियो,’ पूर्वमाओवादी पृष्ठभूमिका एक नेताले भने, ‘अहिले सार्वजनिक भएको नामहरूलाई आधिकारिकता दिनुहुँदैन भनेर दबाब दिएपछि पुनः परिवर्तन गर्ने तयारी भएको छ ।’

स्रोतका अनुसार पूर्वमाओवादी र पूर्वएमाले पक्ष कस्को संख्या धेरै हुने भन्‍ने विषयमा विवाद देखिएको हो ।  ‘पूर्वमाओवादी  र पूर्वएमाले कस्को संख्या धेरै हाल्ने भन्‍नेमा विवाद हो,’ स्रोतले भन्यो, ‘केपी शर्मा ओलीको गुटलाई कारबाही गरेर निकालिसकेपछि यहाँ संख्याको राजनीति नगरौँ भन्‍ने हाम्रो कुरा हो ।’

आइतबार अध्यक्षद्वय दाहाल र नेपालले प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज, पदाधिकारी तथा संगठनका पदाधिकारीहरू यस अघि खाली भएको ठाउँमा कुन पक्षको खाली भएको हो त्यो ठाउँमा सो पक्षबाट पूर्ति गर्ने सहमति भएको थियो ।

जिल्ला नेतृत्वको भागवण्डा टुंग्याउन पूर्वएमाले र पूर्वमाओवादीबीच भागवण्डा गरिएको छ । उनले कुनै जिल्लामा सोमबार सार्वजनिक भएको नाम कायम हुने भए पनि कुनै जिल्लाको भने नाम परिवर्तन हुने बताए । नेकपा सचिवालय स्रोतका अनुसार यो हप्तामा ७७ वटै जिल्लामा नेतृत्व तोकिनेछ । 

याे पनि 

दाहाल-नेपाल समूहले छान्‍यो ६८ जिल्लामा नयाँ नेतृत्व, कुन जिल्‍लामा को ? (सूचीसहित) 
 

 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x