राजनीति

राप्रपाबाट काठमाडौंमा कलाकार मदनदासको प्रवल सम्भावना, पोखरा र बुटवलमा लाग्यो टुंगो

कमल विष्ट |
बैशाख ८, २०७९ बिहीबार १६:५५ बजे

काठमाडौं– राष्टिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई उठाउने सम्भावना प्रवल रहेको बताएका छन् । कलाकार श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने विषयमा पार्टीका शीर्ष नेताबीच निरन्तर छलफल भइरहेको प्रवक्ता श्रेष्ठले इकागजसँग बताए । 

उनले कलाकार श्रेष्ठसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जीतको नाममा पनि छलफल भइरहेको जानकारी दिए । यसको टुंगो भोलिसम्ममा लाग्नेछ ।


ललितपुर महानगरपालिकामा भने राप्रपाबाट अष्ट महर्जन र हसिना शाक्यको दाबेदारी रहेको उनले बताए । महर्जन राप्रपाको ललितपुर जिल्ला अध्यक्ष हुन् भने शाक्य एक साताअघि मात्र नेकपा माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गरेकी हुन् । 

शाक्य गएको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरको उपमेयरमा माओवादी केन्द्रबाट उठेकी थिइन् । उनले उक्त निर्वाचनमा १३ हजार बढी मत प्राप्त गरेकी थिइन् । 

पोखरा र बुटवलमा लगायो टुंगो

ललितपुर र काठमाडौं महानगरमा उम्मेदवारको अन्तिम टुंगो राप्रपाले लगाउन नसके पनि पोखरा महानगरपालिका र बुटवल उपमहानगरपालिकामा भने टुंगो लगाएको छ । 

राप्रपाले पोखरा महानगरको मेयरमा शंकर खराललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बुटवल उपमहानगरको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरा महानगरको मेयरका उम्मेदवार खराल हिन्दूवादी अभियन्ता अभियन्ता हुन् । उनले दुई महिनाअघि राप्रपा प्रवेश गरेका हुन् । 

त्यस्तै, पार्टीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि मेयरको टुंगो लगाएको छ । पार्टीले यस नगरको मेयरमा सागर प्रताप राणालाई उठाउने घोषणा गरेको छ । 
बुटवल उमहानगरका उम्मेदवार शेरचन र सिद्धार्थनगरका उम्मेदवार राणालाई एक कार्यक्रमको आयोजना गरी पार्टी अध्यक्ष राजेन्द्र लिंदेनले मेयरको उम्मेदजार घोषणा गरेका हुन् । 

अन्य स्थानीय तहमा मेयर र उपमेयरको टुंगो लगाउन पार्टीभित्र निरन्तर छलफल भइरहेको र छिट्टै अन्य ठाउँको टुंगो लाग्ने उनले बताए । 

केन्द्रीय स्तरमा कसैसँग तालमेल नगर्ने

प्रवक्ता श्रेष्ठले केन्द्रीय स्तरमा राप्रपाले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । उनले चुनाव पार्टीले आफ्नै बलबुतामा लड्ने दाबी गरे । यद्धपि स्थानीय स्तरमा कुनै ठाउँमा नागरिकको चाहना र आवश्यकता हेरेर तालमेल हुन सक्ने उनले बताए । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x