राजनीति

‘मी टु’ आरोपपछि किन जङ्गिए स्थापित ?

सुरेन्द्र बजगाईं |
बैशाख १५, २०७९ बिहीबार १९:५० बजे

काठमाडौँ – देश चुनावमय भएको छ । ७५३ स्थानीय तहको चुनाव आउन १५ दिन मात्रै बाँकी रहेको छ । उम्मेदवारहरू आफ्नो एजेन्डा बोकेर आफूलाई किन मत दिने भनेर घरदैलो सुरु गरेका छन् । काठमाडौँको नेसनल कलेजमा भने ४ काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार र नागार्जुन नगरपालिकाका एक स्वतन्त्र उम्मेदवार सहभागी थिए ।

सहभागी उम्मेदवारमा एमाले पार्टीबाट उम्मेदवारी दिएका केशव स्थापित र विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाबाहेक अन्य तीन जना स्वतन्त्र उम्मेदवार थिए । 


निर्धारित समयमा नै सुरु भएको उक्त कार्यक्रममा बालेनबाहेक सबै उम्मेदवार समयमा नै पुगेका थिए । 

आयोजकले सबै वक्ताहरूलाई मञ्चमा आसन ग्रहण गर्न बोलाए । मञ्चमा आयोजकले वक्ताहरूलाई पुष्पगुच्छा दिएर स्वागत गर्दै थिए । यता केशव स्थापित भने विवेकशील साझाको तर्फबाट मेयरको पदमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटा सँग खासखुस कुरा गर्दै थिए । उक्त खासखुसमा स्थापितले आफ्नै प्रतिद्वन्द्वी समीक्षा बाँस्कोटालाई ‘तपाई खास उपमेयर बन्नु पर्ने र म मेयर बन्नु पर्ने’ भने । तर समीक्षाले उनको जवाफमा आफू मेयर र स्थापित मेयर बन्नु पर्ने बताइन् । कार्यक्रम सुरु हुनुभन्दा पहिले भएको यो संवाद कार्यक्रम दर्शकहरूले समेत प्रस्ट सुन्न सकिने गरी गरिएको थियो । 

००

कार्यक्रम सुरु भयो । कार्यक्रम सञ्चालकले काठमाडौँको वातावरणसँग जोडेर प्रश्न गरे । स्थापितले आफू यसअघि मेयर हुँदा गरेको काम र अब गर्न सकिने कामको फेहरिस्त सुनाए । स्थापितले करिब २० मिनेट आफ्नो कुरा धाराप्रवाह राखे । त्यसपछि पालो बाँस्कोटाको आयो । कार्यक्रम सञ्चालकले अबका वक्ताले समयको ख्याल गरेर बोल्नका लागि आग्रह गरे । त्यही बेला स्थापितले फ्याट्ट भने ‘महिलाले अलि बेसी बोले पनि हुन्छ । तपाईं अलि बोल्नुस् ।’ 

स्थापितको यो कुराले बास्कोटाले आफू सही समयमा नै आफ्नो विचार राखिसक्ने बताइन् । 

उनले मूलधारको पार्टीको एजेन्डामा वातावरण पर्ने नसकेको कुरा राखिन् । ‘हाम्रा मूलधारको पार्टीको मुद्दा वातावरण छैन । यसको कारण आफ्नो कार्यकर्तालाई विचारको सिक्रीमा बाँध्न खोजेकाले भएकाले हो । विचार भन्दा माथि देश हुनुपर्छ’ उनले भनिन्, ‘पहिले विचारको लडाई भयो । अब परिणाम मुखी काम गरेर देखाउने लडाई आवश्यक छ ।’ 

यत्तिकैमा बालेन कार्यक्रम हलमा आए । उनी भित्र पसेपछि कार्यक्रम हलमा भएका युवाले बालेनको पक्षमा हुटिङ सुरु गरे । 
फेरि कार्यक्रम सुरु सुरु भयो । बाटोमा पराग र चुरोट खाएर फाल्नेहरू नै वातावरणको कुरा गर्ने गरेको बताइन् । उनले समाजमा ठूला भनिएका मानिसको गराइ र भनाइमा  गराई र भनाइमा फरक भएको बताइन् । 

‘राजनीतिक दलहरूले वातावरण मुख्य एजेन्डा हो भनेर उठाउन सकेका छैनन् । तर विवेकशील साझाले वातावरणलाई मुख्य एजेन्डामा राखेको छ ।’ उनले आफ्नो कुरा थप प्रस्ट्याउँदै भनिन्, ‘कोरोनापछि वातावरणको कुरा महत्वपूर्ण रहेको छ । किन भने हामी वातावरणको कुरा गर्छौ । डिप्रेसन, एञ्जाइटीका कुरा गर्छौ । मी टु अभियानका कुरा गर्छौ । सबै चिजका कुरा गर्छौ । तर व्यवहारमा खै  कहाँ छ ।’ 

उनले यसो भनेपछि हलमा ताली बज्यो । 
 

सेक्सुअल ह्यारासमेन्टको कुरा गर्दा त्यही महिलालाई परिवारको इज्जतको लागि बोल्न नदिने उनले बताइन् । यति मात्रै हैन । उनले ‘मी टु’ बन्द हुनुभन्दा एक कदम अगाडि आउनु पर्ने बताइन् । ‘किन भने हामी बोल्नुपर्छ । अरूले बेलेनन् होला । त्यो उनीहरूको समस्या हो । तर आजको युवाले यस्तो एजेन्डामा बोल्छन् ।’ उनले भनिन् ।

उम्मेदवारहरूले करिब २ घण्टा आफ्नो बिचार राखे । कार्यक्रमको अन्तिममा त्यहाँ उपस्थित विद्यार्थीहरूले प्रश्न गर्ने चरण थियो । त्यही प्रश्न गर्ने क्रममा भावना राउतले प्रश्न गरिन् । 

‘यदि हामी सबैको भोट तपाईँलाई चाहिन्छ भने तपाईँलाई लाग्ने गरेको मी टु आरोपको बारेमा प्रस्ट पारिदिनुस् । हैन यो कुरालाई अहिले नगरौँ भन्न भएन’ उनले स्थापित प्रति प्रश्न तेस्र्याउदै भनिन्, ‘महिला नै तपाईँको अफिसमा ‘सेफ’ छैनन् भने विकासका कुरा नगरिदिनु होला । यो तपाईंलाई सुहाउँदैन ।’

उक्त प्रश्नको जवाफ दिने क्रममा स्थापितले आफूलाई चुनावको बेलामा मात्रै यस्तो आरोप लगाइने गरेको बताए । ती आरोप लगाउने महिला नै अपराधी भएको सम्म भन्न भ्याए । ‘एक जना महिलाले त ती महिलाकै कारण ज्यान गुमाएकी छन् । २५ वर्षसम्म चुप बस्ने चुनाव आएपछि यस्तो कुरा गर्ने’ उनले भने ‘म आरोप नै लगाउँछु सिर्जना जीले पनि मलाई आरोप लगाउनेलाई भेटेकी छन् । फेसबुकमा खोज्नुस् । यो उनीहरूको प्लान हो ।’

उनले महिलाले जथाभावी गर्न हुने मैले औला देखाउन नहुने भन्दै मञ्चबाट बोल्न लागे । ‘प्रमाण चाहिन्छ ।’ उनी आफू बसेको स्थानबाट उठेर भने ‘ उनी किन कोर्ट गइनन् । म च्यालेञ्ज गर्छु । यो स्थानमा वहाँ र मलाई राखौँ । मैले महिला हिसा गरेको हो ?’ 

‘म जत्तिको मान्छेलाई आरोप लगाउने । आरोप लगाउन प्रमाण के छ । यु आर नाइस लेडि तर तपाईँको थुतुनो ठिक छैन ।’ उनले भने ।
यति भन्दै उनी बसे । तर त्यहाँ उपस्थित सहभागीहरूले भने ‘तपाइको बोली ठिक छैन ।’

यति भनेपछि स्थापितलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरूले आफ्नो स्थानमा बस्नको लागि ताने । उनी बस्न त बसे । उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन । तर उनी फेरि जङ्गिए । रिसले चुर भएका स्थापित फेरि जँगिदै उठे र भने ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’

यो पनि


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x