राजनीति

स्थानीय निर्वाचन

प्रहरी र सेनाले कसरी गर्छन् मतदानस्थलको सुरक्षा ?

सुरक्षाको प्रमुख जिम्मा नेपाल प्रहरीलाई

अतिन आचार्य |
बैशाख २९, २०७९ बिहीबार ९:४५ बजे

काठमाडौँ- स्थानीय निर्वाचन हुन एक दिन मात्र बाँकी छ । देशभरको ७ सय ५३ स्थानीय तहका लागि जनप्रतिनिधि छनाेट गर्न वैशाख ३० गते ( शुक्रबार)  निर्वाचन हुँदैछ ।

देशभरका १० हजार ७५६ मतदानस्थलमा निर्वाचन गराउन सुरक्षाकर्मीसहित मुख्य निर्वाचन अधिकृत मतदान केन्द्रमा पुगिसकेका छन् । कतिपय ठाउँमा भने आज अन्तिम दिन भएकाले निर्वाचन अधिकृत मतपत्रसहित पुग्ने क्रम जारी रहेको छ ।


निर्वाचन आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र छन् । प्रदेश १ मा मतदानस्थल १ हजार ८७७, मधेश प्रदेशमा मतदानस्थल २ हजार १६३, बागमती प्रदेशमा मतदानस्थल १ हजार ७९२, गण्डकी प्रदेशमा मतदानस्थल १ हजार २५३, लुम्बिनी प्रदेशमा मतदानस्थल १ हजार ६२९, कर्णाली प्रदेशमा मतदानस्थलमा ७ सय ९ र सुदुर पश्‍चिम प्रदेशमा मतदानस्थल १ हजार १३५ छन् ।

मतदान केन्द्रको मुख्य सुरक्षा नेपाल प्रहरीले गर्ने भएको छ । मतगणना केन्द्रको सुरक्षा पनि नेपाल प्रहरीले गर्ने छ । मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकोसमेत निगरानीमा हुनेछ । मतदान केन्द्रको पहिलो सुरक्षाको जिम्मा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना हुनेछन् ।

शान्तिपूर्ण र सुरक्षा व्यवस्था मजबुत बनाइ निर्वाचन कार्यक्रम सम्पन्न गर्न पनि विभिन्न निकायका सुरक्षाकर्मी लागेका छन् । अझ रोचकताका साथ काठमाडौँ उपत्यकामा  दुई वटा ठूला-ठूला महानगरपालिका भएकाले सुरक्षाको दृष्‍टिकोणले पनि सरकारले महत्व दिएको छ ।

उपत्यकामा मात्र कूल ५२८ मतदानस्थल संख्या छन् । काठमाडौँमा ३२०, ललितपुरमा १३१ र भक्तपुरमा ७७ मतदान केन्द्र छन् । संघीय राजधानी काठमाडौँ उपत्यका मतदाता बढी छन् । सुरक्षाको दृष्‍टिकोणले पनि उपत्यका उच्च जोखिममा रहेकाले पनि यस क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

उपत्यका मात्र  ४५ सय नेपाल प्रहरी खटाउने व्यवस्था गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । उनका अनुसार काठमाडौँमा २५ सय प्रहरी, ललितपुरमा १२ सय र भक्तपुरमा ८ सय परिचालन हुन्छन् । काठमाडौँमा बढी मतदान केन्द्र र मतदाताको संख्या बढी सुरक्षाकर्मीको व्यवस्थापन गरिएको केसीको भनाइ छ ।

देशभरकै प्रत्येक मतदान केन्द्रमा ८ देखि १८ जनासम्म प्रहरी परिचालन हुनेछन् । म्यादी प्रहरीसहित मतदान केन्द्रमा प्रहरी खटाइने उनले बताए । सुरक्षा व्यवस्थामा कुनै पनि कमी कमजोरी आउन नदिने सुरक्षा व्यवस्थापन मजबुत बनाइएको उनले सुनाए ।

काठमाडौँमा निर्वाचन केन्द्रको मुख्य जिम्मा नेपाल प्रहरीलाई

गृह मन्त्रालयका अनुसार देशभर ६२ हजार नेपाल प्रहरी मतदान केन्द्रको सुरक्षामा छन् ।  साथै मतदान केन्द्रको सुरक्षामा म्यादी प्रहरी पनि खटिएका छन् ।

काठमाडौँमा निर्वाचन मतदान केन्द्रको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई जिम्मा दिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । प्रशासनले सुरक्षाका लागि तीनै निकायका सुरक्षाकर्मी खटाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिएका छन् । 'सुरक्षा व्यवस्थापनलाई कमजोर हुन नदिन प्रशासन सचेत रहेको छ, ' उनले भने,' मतदान केन्द्रको अवस्था हेरेर सुरक्षाकर्मी परिचालन हुन्छ ।'

 निर्वाचनको सुरक्षामा ७१  हजार नेपाली सेना

मतदानको दिन नेपाली सेनाले पनि खटिने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । उनका अनुसार देशभर ७१ हजार सेना परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजना स्थानीय निर्वाचन २०७९ योजना अन्तर्गत नेपाली खटिएका छन् । मतपत्र छपाइको सुरक्षादेखि ढुवानीमा नेपाली सेना परिचालित थिए ।

जगेडा, रिजर्भ फौज खटिने उनले बताए । इटहरी, पोखरा, सुर्खेत र काठमाडौँमा विशेष सुरक्षाका लागि सेना खटिने उनको भनाइ छ । 'काठमाडौँमा तयारी फौज सहितको हेलिकप्टर तैनाथ गरिनेछ,' उनले भने ।

प्रत्येक मतदान केन्द्रको सुरक्षा गर्न बढीमा ३० मिनेटमा नेपाली सेना पुग्ने सिलवालले जानकारी दिए । जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ ।

सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी थपिने

त्यसैगरी, निर्वाचनको दिन मतदान केन्द्रको सुरक्षाका निम्ति ३२ हजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता विदुर खड्काले जानकारीले दिए । मतदान केन्द्रको संवेदनशीलताका आधारमा प्रहरी थप हुन सक्ने उनले बताए ।  आवश्यकताका आधारमा तुरुन्त पुग्ने गरी १ सय ११ ठाउँमा सशस्त्र प्रहरी राखिएका छन् ।

'मतदान केन्द्रको सुरक्षाका लागि सबै हाम्रा सुरक्षाकर्मी पुगिसकेका छन,' खड्काले भने,' मतदान केन्द्रको वरिपरि मोबाइल गस्ती गरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयलाई सुरक्षा दिएको छ ।'

उपत्यकामा भौगोलिक बनावट हेरेर पनि प्रहरी खटाइने उनको भनाइ छ । मतदान केन्द्रको अवस्थालाई अध्ययन गरेर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले सुनाए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x