बागमती

हेटौंडाका सबै स्वास्थ्य संस्था बन्द

इकागज |
भदौ २९, २०८० शुक्रबार ८:३७ बजे

हेटौंडा- मकवानपुरको हेटौंडाका स्वस्थ्यस‌ंस्थाहरुमा आजबाट आकष्मिक बाहेकको सेवा बन्द गरिएको छ । बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा स्वास्थ्य सेवा ठप्प पारिएको हो ।

हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन् । उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कानुन कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग स्थानीय प्रशासन समक्ष राखेका छन् । डाक्टर कुटपिटका कारण अहिले जिल्लाको स्वास्थ्य क्षेत्रमा तनाव सिर्जना भएको छ । घटना भएको ३ दिन बितिसक्दासम्म कारवाहीको प्रक्रिया सुरु नगरेको भन्दै स्वास्थकर्मीहरुले सेवा अवरुद्ध पारेका हुन् ।


बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको अवस्थामा स्थानीय प्रशासन र प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिइ ‘मौन’ रहेर मिलापत्र गराउन खोज्दा मकवानपुरको स्वास्थ्य क्षेत्र आन्दोलित बनेका हुन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ का राजेश प्रधानका आफन्तको उपचारमा लापर्वाही भएको उनका आफन्तले दाबि गरेका छन् । गत साउन २५ मा डेंगी संक्रमित प्रधानलाई सञ्चो अस्पतालबाट थप उपचारको लागि चितवनमा पठाइएकोमा उनको उतै मृत्य भएको थियो ।

मृतकका आफन्तले बुधबार सञ्चो अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डा। प्रशान्त बिडारी र डा। विकास थापालाई कुटपिट गरेका हुन् । कुटपिटबाट डा। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा। थापाको गाला र अनुहार सुनिएको छ । उनी उपचारका लागि काठमाडौं गएका छन् ।

प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसअघि उनलाई उपचारका लागि साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि साउन २३ गते चितवन रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो । डाक्टर कुटपिटमा संलग्नलाई कारबाही नहुने अवस्था भएपछि जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रुपमा प्रहरीमा निवेदन दिएका छन् । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रुपमा उजुरी दर्ता गरिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरु दोषी रहे स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ । घटनामा संलग्न ४ जनामात्रै नियन्त्रणमा रहेको र उनीहरुलाई समेत कारवाहीभन्दा मिलापत्रको पहल मात्रै जारी राखेको प्रति स्वास्थ्यकर्मीहरु आक्रोशित छन् ।


Author

थप समाचार
x