बागमती

बागमती प्रदेश सभा : विशेष समय मात्रै सञ्‍चालन, चार विधेयक समितिमा पठाउन स्वीकृत

इकागज |
भदौ ३१, २०८० आइतबार ९:४९ बजे

मकवानपुर- बागमती प्रदेश सभाको शनिबारको बैठक विशेष समयमात्रै बसेको छ । सभामुख भुवनकुमार पाठकले सभाको सुरुवातमै शुन्य समय नभएकाले विशेष समय सुरु गरेको जानकारी गराएका थिए ।

विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका गरी २२ सांसदले आफ्नो धारणा राखेका थिए । विशेष समयको सुरुवातमै नेकपा एमालेका जगन्नाथ थपलियाले समिति बनाएरै मन्त्रालयको टुङ्गो लगाइएकोमा सरकार मन्त्रालय थप्ने तिर लागेको आरोप लगाए । सरकारले गाडी किन्दै रहने र मन्त्री थपरिहने काम गरिरहेको तर अन्य पक्ष कमजोर अवस्थामा रहेकोमा विकास निर्माण अलपत्र रहेको बताए । ‘ठेकेदारहरुले भुक्तानी पाएका छैनन सरकारको ध्यानाकर्षण गराउँछु’ थपलियाले भने ।


उपचारको क्रममा लापरबाही भएको भन्दै हेटौंडामा भएको डाक्टर कुटपिट घटना सरकारलाई थाहा छ कि छैन प्रश्न गर्दै थपलियाले भने अस्पलातबाट हुने लापरबाही रोकिनु पर्ने बताए । ‘कानूनी कारबाहीको लागि मार्ग प्रसस्त रहेको अवस्थामा सरकार बेखबर जस्तै छ र डाक्टर मौन छन्’ थपलियाले भने ‘स्वास्थ्यकर्मीले काम गर्ने वातावरणको लागि प्रदेश सभा घेरेका छन् ।’ कुटपिट गर्नेलाई कानुनको दायरामा कारबाहीमा ल्याउनु पर्ने उनले भने ।

थपलियाले कमसेकम प्रदेशस्तरमा संचालित अस्पतालमा स्वास्थ्य सुविधाको वातावरण वनाउन सरकारको ध्यानाकर्षण गराए । ‘प्रदेश सभा अन्तर्गतका समितिहरुको सभापति ९ महिनाको अवधीमा समेत चयन नहुँदा सदनका काम कारबाही सञ्‍चालनमा समस्या परेको छ’ थपलियाले भने ‘मिनि संसदको रुपमा रहने समितिहरुको सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गर्दछु ।’

यसैगरी प्रदेश सभा सदस्य बसन्त मानन्धरले बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा तय गरेको कार्ययोजना कार्यान्वयनका क्रममा विचौलियाका कारण चुनौती रहेको बताए । ‘उपभोक्ताले गर्नुपर्ने कामलाई केही सांसद तथा स्थानीय जनप्रतिनिधिहरुले ठेकेदार मार्फत योजना कार्यान्वयन गर्ने गरेका छन्’ मानन्धरले भने ‘यसले लागत अधिक भई काम कम गुणस्तरको हुन जान्छ।’

उपभोक्ता मार्फत हुने कार्य उपभाेक्तालाई नै गर्न दिनु पर्ने उनले बताए । बागमती प्रदेश सरकारले प्रदेशमा भएका सम्पदा चिन्न नसकेको उनले आरोप समेत लगाएका छन् । सम्पदासँग जोडिएका कामहरुका लागि छुट्टै मुल्य निर्धारण गरिनु पर्छ, यसले हाम्रो सम्पदा संरक्षणमा टेवा पुग्छ उनले भने।

अर्का सांसद कुमार श्रेष्ठले जनता चाडवाड मनाउन ऋण लिने अवस्थामा रहेको अवस्थामा प्रदेशका पदाधिकारीहरुको लागि काठमाडौमा करौडाको संरचना बनाएकोमा आपत्ती जनाए । धादिङबाट काटमाडौ जोड्ने मार्ग निर्माणमा ढिलाइ भएकोमा सरकारको ध्यानाकर्षण समेत उनले गराए ।

यसैगरी मधुसुदन पौडेलले धार्मिक जातीय अतिवादीहरुले विवादित गतिविधि गरिरहेकाले लोकतन्त्र र गणतन्त्रमा असर पर्ने भन्दै ध्यानाकर्षण गराए । सरकारले फजुल खर्च कम गर्दै सुशासन कायम गर्न सरकार असफल भएकोले यस तर्फ सचेत गरादछु । उनले कालोबजारी रोक्न सरकार सचेत हुनु जरुरी रहेको सदनमा जानकारी गराए ।

‘नेपाली उत्पादनले बजार नपाउने तर आयातीत कृषि उपजले उचित बजार पाउने वातावरणले उत्पादन खेर मात्र गइरहेको छैन नेपाली किसान समेत मर्कामा परेका छन्’ उनले भने । काठमाडौँको ट्राफिक व्यवस्थापन र वातावरण प्रदुषण रोक्ने तर्फ प्रदेश सरकारले ध्यान दिनु पर्ने समेत उनले बताए ।

मकवानपुरबाट निर्वाचित सदस्य एकालाल श्रेष्ठले हेटौडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सञ्‍चालन हुदै आएकोमा प्रदेश सरकारबाट समेत लगानी भई स्वास्थ्य क्षेत्रमा सुधार हुदै आएको बताए । सञ्चो अस्पतालमा भएको डाक्टर कुटपिट घटनामा समिति बनाई कार्य गर्नुपर्दछ उनले भने ।

त्यस्तै दिनेशचन्द्र देवकोटाले शुन्य समय र विशेष समयमा सांसदले उठाएका कुराको कुनै प्रतिउत्तर सरकारको तर्फबाट नआउने तथा सुनुवाई समेत नहुने भएकोले यसको औचित्यमा समेत प्रश्न उठाए । प्रदेश सभा सदस्यहरु ठाकुर प्रसाद ढकाल, प्रभात तामाङ, मायादेवी शर्मा, शिवराज अधिकारी, रामेश्वर श्रेष्ठ, सुष्मा भुजेल न्यौपाने, निरज बज्राचार्य, टिका थानी, श्रीराम लामिछाने, केशव प्रसाद पोखरेललगायतका २२ जना सदस्यले आफ्नाे धारणा राख्दै सरकारको धान्याकर्षण गराए ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षका अधिकांश सदस्यले हेटौँडामा केही दिनअघि चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे । दलगत स्वार्थभन्दा माथि उठेर अपराध गर्नेलाई संरक्षण गर्न नहुने र प्रहरी प्रशासनले दबाबमा परेर मुद्दालाई फितलो बनाउन नहुनेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी प्रदेशको निकुञ्ज क्षेत्रभित्र पर्ने जिल्लामा जङ्गली जनावरको आक्रमण गरी मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइते भएका परिवारलाई राहत उपलब्ध गराउन समेत सदस्यहरुले सभामा सरकार समक्ष माग गरेका थिए ।

बैठकमा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा सडकको स्तरोन्नति, खानेपानी र  कृषकलाई सिँचाइको व्यवस्था गर्न उनीहरुले प्रदेश सरकारसित आग्रह गरे ।

४ विधेयक सम्बन्धित समितिमा पठाउन स्वीकृत 
बागमती प्रदेशसभाको आजको बैठकले ४ वटा विधेयक सम्बन्धित विषयगत समितिमा छलफलका लागि पठाउन स्वीकृत प्रदान गरेको छ । बैठकमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यसैगरी, उनले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठकातर्फबाट प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए । सो बैठकमा प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका क्रममा शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै, उक्त बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए । सवै प्रस्तावहरु बहुमत सदस्यबाट स्वीकृत भइ सम्बन्धित समितिमा पठाइने भएको छ ।

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
प्रदेशसभाको शनिबारको बैठकले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख तथा प्रतिनिधिसभा सांसद सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उक्त शोक प्रस्ताव पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । 

शोक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै स्व नेम्वाङको आत्माको चिरशान्तिको कामनाका लागि एक मिनेट मौनधारण समेत  गरिएको थियो । साथै बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक १५ दिन पछि आगामी असोज १४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका थिए । 


Author

थप समाचार
x