बागमती

तीजले चेली-माइतीबीचको सम्बन्ध प्रगाढ बनाउँछ : प्रदेश प्रमुख शर्मा

इकागज |
असोज १, २०८० सोमबार ९:१९ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका (तीज) २०८० का सन्दर्भमा सोमबार जारी शुभकामना सन्देशमा प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरेका छन । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ’ प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन, ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाले आफ्नो महत्वपूर्ण पर्व मान्दछन् । ’


देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताए । ‘आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’ शर्माले भने । हाम्रा पर्वहरुले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरु विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको उनले आग्रह गरे ।

यो पर्व मनाइरहँदा यसले हाम्रो समाजमा विद्यमान सामाजिक तन्तुहरुको संरक्षण, सम्बर्द्धन गर्दै सहिष्णुतायुक्त समाज निर्माणमा पनि योगदान पुर्‍याउँन आवश्यक रहेको शर्माले सन्देशमा उल्लेख गरेका छन् ।


Author

थप समाचार
x