बागमती

बागमती प्रदेश सभाबाट २ विधेयक पारित

इकागज |
असोज २२, २०८० सोमबार २१:७ बजे

मकवानपुर- बागमती प्रदेश सभाकाे साेमबारकाे बैठकबाट २ वटा विधेयक पारित भएकाे छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारितका लागि सभामा प्रस्तुत गरेका थिए । सभामुख भुवनकुमार पाठकले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सभाबाट सर्वसम्मत पारित भएको हाे ।


आइतबारको बैठकमा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न विधेयक समितिको प्रतिवेदनसहितको विधेयक संसदमा पेस गरेका थिए ।

यसैगरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले संसदमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबारकाे प्रदेशसभा बैठकमा पारितका लागि प्रस्ताव सभामा पेस गरेका थिए । विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हाे । यसअघि सोमबार नै बसेको पहिलो बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिकी ज्येष्ठ सदस्य यांकिला शेर्पाले समितिको प्रतिवेदनसहितको विधेयक सभामा पेस गरेकी थिइन् ।

उक्त २ वटा विधेयक पारित भएसँगै सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकाे जानकारी गराएका थिए ।


Author

थप समाचार
x