बागमती

बागमती प्रदेशसभा : वर्षे अधिवेशन मंगलबार मध्यरातदेखि अन्त्य

इकागज |
असोज २३, २०८० मंगलबार २०:४२ बजे

मकवानपुर- बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य हुने भएकाे छ । बागमती प्रदेश प्रमुखबाट मन्त्रिपरिषद्काे सिफारिसमा प्रदेश सभाकाे १२ अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएकाे हाे ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषदकाे मंगलबारकाे बैठकले प्रदेश सभाको १२औँ वर्षे अधिवेशन अन्त्यकाे सिफारिस गर्ने निर्णय गरेकाे थियाे । प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषदबाट सिफारिस भई आए बमाेजिम प्रदेश सभाकाे अधिवेशन अन्त्य गरेका हुन् ।


मन्त्रिपरिषदबाट मंगलबार सिफारिस भइ आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया अनुसार प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशसभाको वर्षे अधिवेशन (दोस्राे अधिवेशन) काे पहिलो बैठक २०८० जेठ ९ गते बसेको थियो ।

प्रदेशकाे १२ औं अधिवेशनमा सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएकाे थियाे । अधिवेशनमा ३८ वटा बैठक सञ्चालन हुँदा ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्ताव १/१ वटा पारित गरेको छ । त्यस्तै उक्त अवधिमा अर्थ सम्बन्धी २ वटा विधेयकसहित ४ वटा विधेयकहरू पारित भएकाे छ । प्रदेश सभाकाे यस अवधिमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएका छन् । 

उक्त अधिवेशनको अवधिमा ७ वटा विधेयक दर्ता भएकाेमा ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेकाे बताइएकाे छ । संसदीय समितिमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०५७ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका क्रममा रहेका प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

संसद् सचिवालयमा  प्रदेश प्रमुखबाट फिर्ता पठाइएकाे चिठ्ठा विधेयक विचाराधीन अवस्थामा रहेको बताइएकाे छ ।


Author

थप समाचार
x