बागमती

मकवानपुरमा खेलकुद महोत्सव हुने

इकागज |
कात्तिक १६, २०८० बिहीबार २१:२६ बजे

मकवानपुर- मकवानपुर जिल्लामा आगामी पुस पहिलो साता खेलकुद महोत्सव हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौँको संयुक्त आयोजनामा हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो ।

आयोजकले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ देखि १७ गतेसम्म महोत्सव हुने आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हो ।


आयोजकले महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त गरिसकेको समिति अध्यक्ष वेष खड्कीले बताए । महोत्सवका लागि भइसकेको र आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त हुनेछ ।

मेला अवधिभर किनमेल, साङ्गीतिक प्रस्तुति, नृत्यसहित दैनिक रूपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिनेछ । महोत्सवमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ बिक्री तथा सेवनलाई पूर्ण रूपमा निषेध गरिने खड्गीले बताए ।

महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवमा विशेष आकर्षणको रूपमा उसु (राष्ट्रिय महिला र पुरुष), भलिबल (राष्ट्रिय महिला), कबड्डी (प्रदेश स्तरीय आमन्त्रित, महिला र पुरुष), कराँते (जिल्लास्तरीय महिला र पुरुष), फुलकन्ट्याक्ट कराँते (जिल्ला स्तरीय महिला र पुरुष), एथ्लेटिक्स (जिल्ला विद्यालय स्तरीय), आर्चरी (खेल प्रदर्शन), रेस्लिङ (आमन्त्रित राष्ट्रिय), कुस्ती (आमन्त्रित अन्तर्राष्ट्रिय प्रदर्शन), ब्याडमिन्टन रहने खड्गीले बताए ।


Author

थप समाचार
x