गण्डकी

आफ्नै छात्रालाई करणी गर्ने शिक्षकलाई १२ वर्ष जेल

इकागज |
भदौ २८, २०८० बिहीबार ७:२९ बजे

सांकेतिक तस्बिर

लमजुङ- आफ्नै छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिकाका ९ का प्रकास थापालाई लमजुङ जिल्ला अदालतले १२ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ ।

तिनै बालिकालाई बलात्कार गरेको भनि परेको अर्को मुद्दामा साेही ठाउँका अर्जुन विक्रम थापालाई पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेको छ । छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । 


२०७७ माघमा भएको बलत्कारको घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाको वडा नं ९ मा रहेको भैरब माविका शिक्षक प्रकाश थापालाई पहिलाेपटक पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकोमा दबाबमा बालिकाले आरोप झुटो रहेको बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।

उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । विद्यालयका अध्यक्ष नै शिक्षकको विरोधमा उत्रे पछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर्नुपर्ने भन्दै विद्यालयको पठनपाठन नै अवरूद्ध गरेर आन्दोलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आरोप प्रत्यारोपको अनौठो सिलसिला नै चलेको थियो ।

पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएको ठहर गरी बाल अधिकारकर्मीहरूको सहयोगमा मनोविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदौ १ मा ती बालिकाले प्रकाश थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । 

सो क्रममा ती बालिकाले आफूलाई राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाई पक्राउ गरेको थियो । शिक्षक प्रकाश थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूको कासमु बुझाउन काठमाडौं गएको बताइए पनि उनी लमजुङमै लुकेर बसेकामा किटानी जाहेरी परेको १४ दिनपछि पक्राउ परेका थिए ।

प्रहरीले पीडित बालिकाको किटानी जाहेरीका आधारमा दुवै आरोपीवसरूद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेको थियो । लमजुङ जिल्ला अदालतको फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।


Author

थप समाचार
x