समाज

लुम्बिनीका काेभिड अस्पताल संक्रमितले भरिए

एकै दिन बाँकेमा १२३ जना संक्रमित थपिए

बिक्रम खड्का |
बैशाख ३, २०७८ शुक्रबार १५:३७ बजे

बुटवल : लुम्बिनी प्रदेश अन्तरगतका बाँके रुपन्देहीलगायतका जिल्लामा कोभिड संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमितहरुको संख्या बढेसँगै अस्पतालमा भर्ना हुने बिरामीको चाप बढेको हो ।  बाँकेस्थित भेरी अस्पतालको पीसीआर परीक्षण ल्याबले पछिल्लो हप्ता संक्रमितको संख्यामा एकपछि अर्को ब्रेक गर्दै आएको छ । बुधबार मात्र एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालको पीसीआर ल्याबमा शुक्रबार फेरि १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

अस्पतालमा पछिल्लो २४ घण्टामा प्राप्त रिपोर्ट अनुसार १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । १२७ जना मध्य बाँके ठेगाना लेखाएका मात्र ९९ जना छन् भने अन्य संक्रमितहरु पनि ठेगाना बाहिरी जिल्ला भएर बाँकेमा बसोबास गर्दै आएका हुन् । 


उता आज १२ बजेसम्ममा भारतबाट नेपाल फर्केका १५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको नेपाल–भारत सीमाको जमुनाहामा एन्टिजिन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

अस्पताल भरिए 

कोभिड संक्रमित थपिँदै जाँदा लुम्बिनीका दुई प्रमुख सहरमा संक्रमितहरुले उपचार नपाउने अवस्था सिर्जना भएको छ । संक्रमितहरुको चापले बुटवल र नेपालगन्जका कोभिड विशेष अस्पताल भर्रिका छन् ।  
 
पछिल्लो हप्ता कोरोना सक्रमण तीव्र गतिमा वृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ बिरामी भर्ना गर्नै नसक्ने अवस्थामा पुगेको छ । कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको चाप बढेपछि भेरी अस्पताल थप कोरोना संक्रमितलाई राख्न सक्ने अवस्था छैन ।  भर्ना भएका  मध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

कोरोनाले घरघरमा जोखिम बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो पुरानो आइसोलेसन केन्द्रलाई सक्रिय बनाउने तयारी थालेको छ । 

यता  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिषेश अस्पताल पनि गम्भिर प्रकृतिका संक्रमितले भरिभराउ भएको छ । १५ वटा आईसीयूसहित संचालनमा रहेको बिशेष अस्पतालमा १३ वटा बेड संचालनमा रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार धागो कारखानामा रहेको कोभिड अस्पतालमा ९ जना र अस्पतालको फिबर क्लिनिकमा ७ जनाको उपचार भइरहेको छ । उनले नयाँ बिरामी आए भर्ना लिन सक्ने अवस्था नभएको पनि बताए । 

अर्घाखाँचीका संक्रमितको बुटवलमा मृत्यु

अर्घाखाँचीकी कोभिड संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोभिड विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो । 

चैत २९ गते कोभिड संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास–प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । पछिल्लो एक हप्तामा यसअघि कोभिड विशेष अस्पतालमा चारजनाको मृत्यु भइसकेको छ ।

 भारतीय बजार जान रोक

बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया नाकाबाट  आवतजावत बन्द गरिएको छ । 

छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाइसमेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । 

उनले सीमा क्षेत्रमा आवतजावत तथा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि आज आफैँ सीमा क्षेत्रमा पुगेर स्वास्थ्य मापदण्डका सबै प्रक्रिया पूरा गराउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको बताए । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x