समाज

कोभिडले बढायो ‘लिभिङ टुगेदर’मा लफडा

सृजना खड्का |
बैशाख ११, २०७८ शनिबार ६:४२ बजे

काठमाडौँ : नायक किशोर खतिवडा र लक्ष्मी गदाल युट्युबभरि भाइरल छन् । उनीहरूलाई भाइरल बनाउने मुख्य कारण बनेको छ, ‘लिभिङ टुगेदर रिलेसनसिप’ । तीन वर्षदेखि ‘लिभिङ टुगेदर रिलेसन’मा रहेका किशोर र लक्ष्मी एक-अर्काको खोइरो खन्दै छरपस्ट भएपछि युट्युबरले उनीहरूलाई पछ्याउन थालेका हुन् । जसकारण उनीहरू भाइरल भएका छन् । 

दुलही बनेर भद्रकाली मन्दिरमा विवाहका लागि पुगेकी लक्ष्मीलाई सिन्दुर हाल्न किशोर नआएपछि यो कुरा युट्युबमार्फत् बाहिरियो । भद्रकालीमा दुलहीको भेषमा बसेकी लक्ष्मीले युट्युबसामू विभिन्‍न आरोप लगाउँदै रोइकराइ गरिन् ।


आफू यौन शोषणमा परेकोेदेखि जातकै कारण बिहे नभएकोसम्मका कुरा लक्ष्मीले युट्युबरसामु राखेकी थिइन् । तर, पछिल्लो समय भने दुवैले एकैसाथ अन्तवार्ता दिँदै मिलेको भिडियो पनि युट्युबमा आइरहेका छन् । 

०००
कालिमाटी महिला सेलमा केही समय पहिले एकजना महिला आइन्, बलात्कारविरुद्धको उजुरी दर्ता गर्न । उनले जोविरुद्ध बलात्कारको उजुरी हालिन् उनी पाइलट थिए । दुबैजना विवाहित । आ-आफ्ना पार्टनरलाई छलेर उनीहरू ६ वर्षदेखि लिभिङ टुगेदर रिलेसनसिपमा थिए । उनीहरूबीच असमझदारी बढ्दै गएपछि महिला सेलमा उनले बलात्कारविरुद्धको उजुरी हालिन् । ‘कानुनी रुपले उनलाई श्रीमती बनाउने नमिल्ने भएपछि उनले बलात्कारविरुद्धको उजुरी हालेकी रहिछिन्,’ महिला सेलमा कार्यरत एक प्रहरीले भनिन्, ‘कुरा नमिलेपछि बलात्कारविरुद्धको उजुरीमा परेर ती पाइलट हाल थुनामा छन् ।’

उनका अनुसार, महिला सेलमा ‘लिभिङ रिलेसन’का केसहरू टन्‍नै आउन थालेका छन् । ‘हामीलाई त यस्ता केस सामान्य लाग्न थालिसक्यो,’ उनले भनिन्, ‘यस्ता केस त कति आउँछन् कति ।’

लिभिङ रिलेसनलाई उमेरले छेकेको हुँदैन भन्‍ने उदाहरण उनले महिला सेलमै देखेकी छिन् । ‘६०÷६५ वर्षका पुरुषहरू लिभिङ रिलेसनमा बसेको पाइन्छ,’ उनले भनिन्, ‘उनीहरूसँग बस्ने महिलाहरू भने निकै कम उमेरका हुन्छन् ।’

लिभिङ रिलेसनमा बसेर पछि जातका कारण बिहे गर्न नमान्‍ने केस पनि महिला सेलमा आउँछन् । ‘उनीहरू भने साँच्चिकै पिडित हुन्छन्,’ उनले भनिन्, ‘सुरुमा दुबैले मन मिलेर बसे पनि परिवारले नमानेपछि उजुरी बोकेर आउँछन् ।’

महिला सेलकी इन्सपेक्टर अनु लामाका अनुसार कालिमाटी महिला सेलमा प्रायः दिनमै दुईवटा ‘लिभिङ टुगेदर’का केसहरू आउने गरेका छन् । कोभिडले ‘लिभिङ रिलेसन’का लफडा ह्वात्तै बढाएको उनले बताइन् ।  ‘दिनमै दुइटासम्म लिभिङका लफडाहरू आउँछन्,’ उनले भनिन्, ‘उनीहरू मेरो पार्टनरलाई उपस्थित गराएर आवश्यक कारबाही गरी पाऊँ भन्दै निवेदन लिएर आउँछन् । आजभोलि भर्खरका भन्दा पनि पाका मानिसहरू लिभिङ रिलेसनमा बस्ने गरेको पाइएको छ ।’

आ-आफ्ना पार्टनरलाई छलेर ६ वर्षदेखि ‘लिभिङ टुगेदर रिलेसनसिप’मा थिए । उनीहरूबीच असमझदारी बढ्दै गएपछि महिला सेलमा बलात्कारविरुद्धको उजुरी नै पर्‍यो ।

लिभिङ रिलेसनमा बस्नेहरू प्रायः आफ्नै खुशीले बस्छन् आफ्नै खुशीले छुटिन्छन् भन्‍ने लाग्छ उनलाई । ‘छुटिएपछि उनीहरू आ-आफ्नो बाटो लाग्दैनन्, एक-अर्कालाई केही न केही बाहनामा दुःख दिइरहन्छन्,’ उनले भनिन्, ‘ब्ल्याकमेल गरेर हिंसा गरिरहन्छन् । फेसबुकमा फोटो हालिदिने, म्यासेन्जरबाट धाकधम्की दिने, जिन्दगी बर्बाद गरिदिन्छु भन्‍ने जस्ताकुरा गर्छन् ।’ 

यस्ता केसमा महिला सेलले सुरुमा अर्को पक्षलाई बोलाउँछ । पहिलो चरणमा छलफल हुन्छ । धेरैजसो बिहे भएर पनि लिभिङ रिलेसनमा बस्नेहरू हुन्छन् । त्यस्तालाई बहुविवाहको कानुनबारे महिला सेलले जानकारी दिन्छ । एक-अर्काको जीवनमा फेरि फर्केर नआउने भन्दै शान्ति सुरक्षाको कागज पनि गर्छ । तर, समस्या सल्टिदैन । 

‘सिन्दुर नहाले पनि सँगै बसेपछि बुढाबुढी भइहाल्यौँ नि मलाई जसरी पनि न्याय चहियो भन्दै आउँछन्,’ इन्सपेक्टर लामाले भनिन्, ‘तर, उनीहरूसँग प्रमाण पुग्दैन । जसको कारण न नाता प्रमाणित गर्न सकिन्छ न सम्पत्तिमा दावा नै ।’ 

महिला आयोगकी मुद्दा व्यवस्थापक अधिवक्ता विमला खड्काले लिभिङ रिलेसनसम्बन्धि कानुन कडा नभएकाले पनि यस्ता समस्या देखिएको बताइन् । ‘लिभिङ रिलेसन सम्बन्धी कडा कानुुन छैन,’ उनले भनिन्, ‘यो घरेलु हिंसाअन्तर्गत जान्छ ।’

यस्ता केसमा पुरुषभन्दा धेरै महिलाहरू पीडित हुने गरेको अधिवक्ता खड्काले बताइन् । ‘कतिपय केसमा नाता कायम गर्न मिल्ने अवस्था नै हुँदैन,’ उनले भनिन्, ‘यस्ता केसमा धेरैजसो महिला पीडित हुन्छन् । उनीहरूसँग प्रमाणको अभाव हुन्छ ।’

लिभिङ रिलेसनका कारण कतिपय महिला ‘एन्जाइटी’ र ‘डिप्रेसन’जस्ता स्वास्थ्य समस्यासमेत लिएर आउने गरेको उनले बताइन् । ‘उनीहरूले आफ्ना पार्टनरसँग भावनात्मक सम्बन्ध राखेका हुन्छन्,’ उनले भनिन्, ‘पुरुष पार्टनरले छाड्न खोज्छ । तर, महिलाले छोड्न सक्दिन भन्दै आत्महत्याको कोसिससमेत गर्ने गरेको पाइएको छ । उनीहरूमा एन्जाइटी, डिप्रेसन, अन्वान्टेड प्रेग्नेन्सी जस्ता समस्या देखिएका छन् ।’

समाजशास्त्री डा. मीना उप्रेतीलाई लिभिङ रिलेसनसिप आफैमा नराम्रो लाग्दैन । ‘कसैले यो मान्छे राम्रो भनेर बिहे गर्नुभन्दा लिभिङमा बसेर उसको बानी व्यवहार थाहा पाएर बिहे गर्नु पनि राम्रो हो,’ उनले भनिन् ।  

कोभिडले लिभिङ रिलेसनमात्रै नभएर अन्य सम्बन्धलाई समेत धरापमा पारेको उनले बताइन् । ‘लिभिङ रिलेसनमा बसेको परिवारलाई थाहा हुँदैन,’ उनले भनिन्, ‘कोभिडले थाहा दिनुपर्ने अवस्था आएको हुन सक्छ । व्यापार, व्यवसाय, जागिरमा समस्या आएपछि सम्बन्धमा पनि समस्या आएको हुन सक्छ ।’

हिजो बिहे गर्छु भनेर सपना देखाएर सम्बन्धमा बसेको मानिसले बाहना गर्न थालेपछि सम्बन्धमा समस्या आउन थाल्ने उनले बताइन् । तर, यसलाई एकतर्र्फी रुपले मात्रै हेर्न नहुने उनले बताइन् । ‘केही महिलाले यस्तो सम्बन्धलाई हतियार पनि बनाएका हुन सक्छन्,’ उनले भनिन्, ‘उनीहरूमाथि हिंसा भएको हो कि होइन बुझ्नुपर्छ । त्यसका लागि उनीहरूको पृष्ठभूमि केलाउनुपर्छ । 

लिभिङ रिलेसनमा रहेका महिला मानसिक र शारीरिक दुवै तरिकाले सम्बन्धमा बसेपनि भने पुरुष शारीरिक रुपले मात्रै सम्बन्धमा बस्ने गरेको उनले बताइन् । ‘राजी खुशी भविष्यबारे सोेचेर निर्णय गरेर लिभिङमा बस्नेहरू हिंसामा परेको देखिँदैन,’ उनले भनिन्, ‘तर, आर्थिक र शारीरिक सुविधाका लागि बनाइएका सम्बन्धहरू अन्त्यमा प्रहरी कहाँ नै गएर टुङ्गिन्छन् ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x