समाज

मेलम्चीले पनि टारेन काठमाडौँमा पानीको हाहाकार (फोटो फिचर)

इकागज |
मंसिर २४, २०७९ शनिबार ११:२३ बजे

मेलम्चीको पानी काठमाडौँमा तेस्रो पटक वितरण भएको छ । तर पनि उपत्यकावासीहरू हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौँमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए ।


मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् । लामो लाइन लागेर सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको संख्या आज पनि उल्लेख्य देखिन्छ ।

पानी वितरण शुरु भएपनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरूमा पानी थाप्न बिहानैदेखि मानिसहरूको भीड छ । पानीको समस्या मेलम्चीको पानी आइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ ।

पानीको अभाव खड्किरहने काठमाडौँ उपत्यका यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महसुस गर्नुपर्ने हो । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा उनले काठमाडौँवासीलाई अस्थायी रुपमै भएपनि १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका थिए । तर मेलम्चीको पानी काठमाडौँ आइसक्दासमेत काठमाडौँवासीले सहजताको अनुभुति गर्न सकेका छैनन् ।

मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ ।

तरपनि सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको लाइन कम देखिँदैन । हाल काठमाडौँ उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर मात्रै रहेको थियो । तर मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ ।


Author

थप समाचार
x