समाज

घरानियाँ युवतीसँगको एकोहोरो प्रेमले पुर्‍यायो खोरमा

अतिन आचार्य |
चैत २, २०७९ बिहीबार १३:३३ बजे

काठमाडौँ - कालीमाटीका सागर जैसवालको (नाम परिवर्तन) आनीबानी र व्यवहार राम्रो भएकाले परिवारको साथ र माया दुवै थियो । उनले परिवारमा रहँदा सधैँ साथ पाए । उनको विद्यालयमा पढाइ पनि राम्रै थियो । एसएलसीमा राम्रो नम्बर ल्याइ उत्तीर्ण गरे । ‘प्लस टु’ सम्म पुग्दा पनि आफ्नो पढाइ र स्वभावलाई परिवर्तन हुन दिएनन् । राम्रो अंक ल्याएर पास गरे । 

उमेर, शिक्षाको तह बढ्यो र संगतको क्षितिज पनि फराकिलो बन्यो । सागरले विस्तारै आफूलाई परिवर्तन गर्दै लगे । आफूलाई फराकिलो पनि बनाउँदै लगे । स्कुलका साथीहरूको संगत छुटाए । 


नयाँ साथीको संगत बढाए । उनको आनीबानीमा परिवर्तन आयो । कलेजमा नयाँ साथीहरूसँग चिनजान र संगत बाक्लियो । सागरमा आएको भित्री परिवर्तन उनलाई मात्र थाहा थियो । बाहिर देखाएनन् । उनको संगत कुलतमा फसेकासँग बढ्यो । उनको समय कटाउने माध्यम सामाजिक सञ्जाल, मद्यापान र धुम्रपान बन्यो ।

सागरले संगत मात्र बढाएनन् । आफैँ कुलतमा फसे । उनले खान र लगाउन पनि बिर्से । उनको शरीरमा एक पटक लगाएको लुगा शरीरमा सातासम्म रहन्थ्यो । 

आफ्नो मानिससँग भन्दा मद्यापान र धुम्रपानसँग निकटता बढाए । परिवार, र पुराना साथी बिर्सेर हराउन थाले ।

सागर परिवारबाट टाढिए । तरकारीको व्यापार गर्थे अभिभावक । उनका लागि घरको मुलढोका सदाका लागि बन्द भयो । उनी बाहिर-बाहिर भएपछि अलग्गै कोठा लिएर बस्न थाले ।

उनलाई झन सहज भयो । उसलाई हेर्ने अरु थिएनन् । उनी आफैँलाई हेर्थे । सागर साथीहरूसँगै रमाउँथे। उनको दैनिकी साथीहरूसँग भेट्नु र मदिराको साथमा बित्थ्यो ।

२७ वर्षीय सागरले एकदिन स्कुलको साथीको ‘बर्थ डे’ पार्टीमा जाने अवसर पाए । उनी मात्र थिएनन् उनका अरु पनि साथी थिए । त्यहाँ केटा साथी मात्र थिएनन् । नयाँ केटी साथीको पनि उपस्थिति थियो । उनले सबैसँग मित्रताको हात बढाए ।

साइबर क्राइमको शिकार

चावहिलबाट रसिला कार्की ( नाम परिवर्तन ) पनि पार्टीमा पुगेकी थिइन् । उनी पार्टीमा अरुभन्दा भिन्न थिइन् । सागरको उनैसँग सम्पर्क भयो । दुवै जनाले नम्बर आदानप्रदान गरी फेसबुकमा जोडिए ।

सागरसँग चिनजान भएपछि रसिलाको दैनिकी फेरियो । सागरसँग फोन,फेसबुकमा बोल्ने र भेटघाट गर्ने काम बाक्लियो । दुवै जना फेसबुकमा झुम्मिन थाले ।

रसिला कुल घरानीया परिवारकी थिइन् । एमबीए पास गरेकी उनी काठमाडौँकै प्रतिष्ठित निजी कम्पनीमा कर्मचारी थिइन् । मासिक एक लाख रुपैयाँ आम्दानी थियो ।

रसिलाको सागरसँग दयाभाव  कुराकानी हुन थाल्यो । भेटघाट बाक्लियो । सागर प्रेममा परे । उनीहरूको भेटघाट दैनिक वसन्तपुरमा हुन्थ्यो ।

उनले सागरलाई समय-समयमा खर्च दिन्थिन् । काठमाडौँकै विभिन्न ठाउँमा लगी सपिङ्ग गरिदिन्थिन् । सागर उनको प्रेममा परिसकेका थिए । तर, उनी भने सागरलाई साथीको रुपमा हेर्थिन् ।

रसिलाले पहिलो भेटमा देखेकै अवस्थाले सागरलाई साथ दिइन् । जहाँ उनी इनोसेन्ट देखिन्थे । महिनौदेखि नधोएका जस्ता लुगा शरीरमा थियो । उनको निर्धनपनले रसिलालाई नजिक्यायो ।

उनले सागरलाई साथ र माया दिइन् ।  माया गरे पनि उनी जीवनभरका लागि साथ दिने सोचाइमा थिइनन् ।

रसिलाको मायामा लठ्ठिएका उनी परिवारसँग घुम्न जाँदा पनि तड्पिन्थे ।  परिवारसहितको फोटो फेसबुकमा राख्दा पनि उनले गाली गर्थे । सागरको त्यही बानीले उनी टाढिइन् । फोन र फेसबुक दुवैबाट पर बसिन् ।

रसिला टाढिएपछि उनी तड्पिए । उनले भेट्न खोज्दा पनि अस्वीकारिन् । वास्ता गरिनन् । सागरले नभेट्दासँगै बसेको, घुमेको, खाएको र हिँडेका जस्ता फोटोहरू उनका अभिभावकलाई पठाउने गर्थे ।

अभिभावकले थाहा पाएपछि मानसिक तनावमा परिन रसिला । एक महिनासम्म अफिस गइनन् । घरमा बसिन् । उनमा छटपटी बढ्यो । भेट नगरेमा अझ धेरै फोटो सार्वजनिक गरिरहने धम्की दिइरहन्थे । झुक्याएर खिचेका फोटो उनलाई पनि पठाउँथे । उनलाई झन असह्य हुन्थ्यो ।

खुला आकाशमा रमाउने २४ वर्षीया रसिला कोठामा बन्द भइन् । आत्महत्या गर्ने प्रयास गरिन् तर पीडा कम गर्ने उपाय सोचिन् । विकल्प खोज्ने प्रयास गरिन तर सकिनन् । आफ्नो समस्या सेयर गर्न खोजिन तर, अन्तिममा क्यानडामा भएकी दिदीलाई केही दिनदेखि भोगिरहेकी पीडा सुनाइन् ।

दिदीले रसिलाको सबै कुरा सुनेपछि उनले भिनाजुलाई भेट्न सुझाइन् । भिनाजुको सहारामा भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगिन् । उनले ब्यूरोमा ठाडो निवेदन दिइन् ।

२४ घण्टामै प्रहरीको नियन्त्रणमा 

ब्यूरोमा निवेदन दिएको २४ घण्टामा उनलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिएर पनि कारबाही गर्न नसकिएको ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गी बताउँछन् । ‘पीडित पक्षले कारबाही नगर्न अनुरोध गरिएपछि ब्यूरो थप अगाडि नबढेको हो,’ उनी भन्छन्,’ पीडित र पीडक दुवै पक्षलाई फरक-फरक स्थानमा मनोपरामर्श गरेर फिर्ता पठाइयो ।‘

पीडकले आइन्दादेखि त्यस्तो व्यवहार नदोर्‍हयाउने प्रतिबद्धता जनाए । ब्यूरोले पटक-पटक उपस्थित हुने गरी उनलाई तारिखमा छाड्यो।

माया गर्ने युवती पाउँदा पनि किन पीडा दिएको रहेछ भन्ने प्रश्‍नमा सागरको भनाइ उदृत गर्दै खड्गीले भने,’ मलाई माया गर्ने मानिस टाढिएपछि, खर्चको अभाव र साथ नभएपछि बाध्य भए ।‘

उनका अनुसार रसिलाले समय-समयमा पनि मासिक खर्च दिने गर्थिन् । उसलाई मोबाइल र लुगा पनि किन्देको रहिछन् ।

महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै अमर्यादित कार्य गर्ने वा गर्न लगाएमा पनि साईबर अपराध गरेको मानिन्छ । यस्ता अपराध गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

‘इनोसेन्ट रुप देखिएको र देख्दै माया लाग्दो लागेकाले माया गरेकी थिए,’ रसिलाको भनाइ उद्दृत गर्दै उनले अगाडि थपे,’  हेर्दै मायालाग्दो थियो । कति दिनदेखि लुगा नफेरेको जस्तो थियो । हाउभाउ देखेर मात्र माया गरेको हुँ । विवाह गर्नलाई माया गरेको थिइनँ ।‘

कसैको रुप र अवस्था देखेर शदासयता देखाउँदा सजाय भोग्नु परेको रसिलाको बुझाइ थियो । पश्चातापको बोध पनि गरिन् । प्रहरीको सोधपुछकै क्रममा मानिसको मन र स्वभाव कतिखेर बदलिने त्यसको ग्यारेण्टी नहुने उनले बताएकी थिइन् । अपरिचित मानिसलाई दया भाव देखाउन नहुने उनले सुनाएकी थिइन् ।

‘साथी बन्दाको उद्देश्य खुलाउनुपर्छ’

साथी बनिसकेपछि आफूले कति सीमा पार गर्नुपर्ने हो त्यसको ख्याल गर्नुपर्ने मनोचिकित्सक डा. नम्रता प्रधान बताउँछिन् । राम्रो उद्देश्यका लागि मात्र साथी बनेको भनेर सुरुमा खुलाउनु पर्ने उनको भनाइ छ ।

‘कतिपय मानिसले आफ्नो विगतको साथी देखेर पनि माया र सम्मान गरेको हुन सक्छन्,’ डा. प्रधान भन्छिन्,’ आफूले विगतमा कसैलाई केही राम्रो गर्न नपाएर त्यही पुरानो मानिस सम्झेर राम्रो गर्छन् । तर, दोस्रो व्यक्तिले नाजायज फाइदा उठाउँछन् । आफैँ सचेत हुनुपर्छ ।‘

माया गर्नु गलत नभएको पनि डा. प्रधानको तर्क छ । दोस्रो व्यक्तिलाई बढी स्पेस दिँदा समस्या आउन सक्ने भनेर समयमा ख्याल गर्नुपर्ने उनले बताइन् ।

‘महिलाले पुरुष साथी बनाउँदा उसलाई कुन स्थान दिने भनेर पहिले सोच्नुपर्छ । साथी बन्दा प्रेमीको रुपमा स्थान दिनुहुन्न । दाजुभाइको रुपमा वा साथी मात्र सोचेको भए सुरुमा खुलाइ दिनुपर्छ,’ उनले सुनाइन्,’ आफूलाई समस्या परेमा नजिकको साथीलाई सेयर गर्नुपर्छ । परिवारको सबभन्दा नजिकको साथीलाई भन्नुपर्छ । अन्तिममा केही लागेन भने मात्र प्रहरीकोमा जानुपर्छ ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x