समाज

बालेनको चेतावनीसँगै उठेन सिंहदरबारको फोहोर

अतिन आचार्य |
चैत २६, २०७९ आइतबार १४:४ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ-  शनिबार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे,’ आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।‘ ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने’ साहले चेतावनी दिएका थिए । 

हिजो बिदा भएकाले सिंहदरबारबाट फोहोर उठ्ने कुरै भएन । तर, आज (आइतबार) भने कार्यालय समयअगावै उठ्नुपर्ने फोहोर अहिलेसम्म उठाइएको छैन । बालेनले घोषणा गरेको २४ घण्टामै सिंहदरबारको फोहोरको फोहोर उठ्न छोडेको हो । सिंहदरबारको फोहोर पुतली बगैचामा थुपारिएको छ ।


यससँगै स्थानीय सरकार र संघीय सरकारबीच द्वन्द्व सिंहदरबारबाट सुरु भएको छ ।

सिंहदरबार परिसरको फोहोर उठाउने जिम्मा काठमाडौँ महागनरपालिकाले निजी कम्पनीलाई सुम्पेको छ । परिवर्तन सेवा प्रालिले महानगरको आदेश आएपछि मात्र फोहोर उठाउने संकेत गरेको छ ।

परिवर्तन सेवाका अध्यक्ष मित्र घिमिरेले सिंहदरबारको फोहोर आजदेखि उठाउन छोडिएको बताए । उनका अनुसार सिंहदरबारबाट दैनिक चार टन फोहोर संकलन हुने गर्छ । विभिन्न मन्त्रालय र क्यन्टिनबाट फोहोर उत्पादन हुने गर्छ । ‘सिंहदरबारबाट दैनिक २ टन फोहोर सिसडोल जाने गर्छ,’ घिमिरेले भने,’ दुई टन कुहिने फोहोर र २ टन नकुहिने फोहोर सिंहदरबारबाट संकलन भइरहेको छ ।‘

महानगरको आदेश आएपछि मात्र सिंहदरबाट फोहोर उठाउने घिमिरेको भनाइ छ । आदेशविपरीत फोहोर उठाएर लगेमा सिसडोलमा महानगरले सबै गाडी रोकिदिने उनले जानकारी दिए ।

‘फोहोर उठाउन नपाएको जानकारी प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकामा जानकारी दिइसकेको छ,’ उनले अगाडि थपे,’  कतिपय ठाउँमा हामीले मौखिक जानकारी पनि दिएका छौँ ।‘ 

काठमाडौँ महानगर र संघीय सरकारबीच चाँडो वार्ता गरी समस्याको समाधान गर्न माग गरे ।

‘कुनै व्यक्तिले सार्वजनिक स्थानमा फोहोर राख्दा कारबाही गरिन्छ । सरकारले फोहोर नउठाउँदा कसले कारबाही गर्छ?’ उनले प्रतिप्रश्न गर्दै भने,’ फोहोर उठाउने कार्य अति आवश्यक सूचीमा पनि पर्छ । यसमा सबै पक्ष जिम्मेवारी बन्नुपर्छ ।‘

यो व्यावसायिक द्वन्द्व नभएर महानगर र केन्द्र सरकारबीचको लडाइ रहेको घिमिरेको ठहर छ ।

परिवर्तन सेवाले महानगरको ६,७,८,१७ र १८ बाट फोहोर उठाउने गरेको छ ।

सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले फोहोर उठे नउठेको विषयमा थाहा नभएको प्रतिक्रिया दिए ।

‘क्यान्टिन तिरको फोहोर नउठेको होला अरुतिर सबै सफा छन्,’ उनले भने,’ मिडियाबाट सिंहदरबारको फोहोर नउठाउने थाहा भएको हो । ऐन अनुसार फोहोर उठाउने जिम्मा हामी सबैको हो ।‘

सहरी विकास मन्त्रालयले अफिसियल्ली समाधान गर्ने विषयमा जानकारी नभएको बताए ।

 

 

 

 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x