समाज

'मेकअप आर्टिस्ट' सुजकी भन्छिन्- काम गरेरै समाजले हेर्ने नजर बदल्नु छ

अतिन आचार्य |
बैशाख १५, २०८० शुक्रबार ११:० बजे

काठमाडौँ - सुन्दर देखिन कसलाई मन लाग्दैन र ? आफूलाई सुन्दर देखाउन चाहनु मानवीय स्वभाव नै हो । आजभोलि मानिसहरूलाई प्राकृतिक सुन्दरताले मात्रै पुग्दैन । आधुनिक समयमा सुन्दरता प्राकृतिकभन्दा कृत्तिम बढी हुने गरेको छ । कृत्तिम बन्नु आफैँमा नराम्रो होइन । बनावटी सुन्दरता पनि कोहीबेला राम्रो देखिन्छन् । 

हिजोआज राम्रो र आकर्षक देखिन पनि सहारा चाहिन्छ । सहरदेखि गाउँसम्म सौन्दर्य उद्योग फस्टाएका छन् । समय यस्तो आयो कि चोक चोकमा ब्युटिसियन भेटिन्छन् ।


यही सुन्दर बनाउने प्रतिस्पर्धाको भीडमा छुट्टै पहिचान खोजिरहेकी छिन् सुजकी उप्रेती । सौन्दर्यको क्षेत्रमा आफूलाई फरक तरिकाले स्थापित गर्ने ध्याउन्नमा छिन् उनी ।

‘सौन्दर्य क्षेत्रलाई नेपालमा नराम्रो दृष्टिकोणबाट हेर्ने गरिएको छ,’ उनी भन्छिन्,’ काम गरेर यसलाई हेर्ने नजर र बुझाइ बदल्नु छ । सुन्दरतालाई विलासिताको रूपमा हेरिएकाले पनि आम मानिसको धारणा बदल्न सकिएको छैन । तर, मानिसहरूको यसमा पनि उत्तिकै चासो छ ।‘

सुजकी आफूले गरेको कामले समाजमा सकरात्मक सन्देश जावस् भन्ने चाहना राख्‍छिन् । मानिसजस्तै समाज पनि सुन्दर होस् भन्ने उनको चाहना छ । समाजलाई राम्रो बनाउन कला, राम्रो सोचाइ, ज्ञान र हरेक कामप्रति सम्मान जरुरी हुने उनी ठान्छिन् ।

सुजकीले मेकअप र हेयर स्टाइलिङबाट करियर सुरु गरिन् । उनको फोकस सुन्दरतामा नै थियो । उमेरले २० टेक्दै गर्दा उनले पहिलोपटक काम सुरु गरिन् । जसलाई आज यो ठाउँमा पुर्‍याउन योगदान पुर्‍याएको मान्छिन् ।

‘पाँच वर्ष भयो यो क्षेत्रमा काम गर्न थालेको । कामले धेरै सिकाउँछ भन्थे अहिले मैले सिकेको महसुस गर्न पाएकी छु र अझै सिक्न बाँकी छ भनेर आफूलाई चिन्न पाएकी छु,’  उनी भन्छिन् ।

उनले ब्युटीसियनको तालिम लिइन् । छिरिङमा शेर्पासँग तालिम लिइन् , सौन्दर्यप्रति रुचि भएकाले नै सुरुदेखि तालिम लिन उनी उत्साहित थिइन् । सानैदेखि आर्टमा उनको लगाव थियो । फेस आर्ट गर्थिन् ।

रुचि र सौखले गरेको काम भएकाले उनलाई कामप्रति कहिले पनि आलस्यता जागेन । उनी अरुलाई कामसमेत सिकाउँछिन् ।  उनले सय भन्दा बढी विद्यार्थीलाई तालिम दिइसकेको बताइन् ।

फुर्सदको समयमा आफ्नो सीपलाई निखार्न युट्युबको पनि सहारा लिन्छिन् । जहाँबाट उनले मेकअपसम्बन्धी नयाँ-नयाँ आइडिया लिने गर्छिन् । सबै कुराहरू मानिसले दिएको ज्ञानबाट पनि लिन नसकिने उनलाई लाग्दो रहेछ । युट्युबमा गएर फेरि नयाँ मानिसबाट ज्ञान लिने काम गरे उनी विगत सुनाउँछिन् ।

सुरुमा परिवारबाट उनको कामलाई स्वीकार्न गाह्रो भएको थियो । विस्तारै अभिभावकले बुझ्दै गएपछि सामान्य रूपमा लिएको उनले बताइन् । बाबाको भने उनलाई सिए बनाउने चाहना थियो ।

‘बाबाले बैंकको उच्च पदमा रहेको हेर्न चाहनुभएको थियो,’ सुरुवाती क्षण सम्झँदै भन्छिन्,’ ममीले भने छोरीले जुन काम गरे पनि राम्रो काम गरोस् र आफ्नो खुट्टामा उभिएको हेर्न चाहनु भएको थियो ।‘

सुरुवातीको दिनमा भने उनले निकै झन्झट व्यहोर्नु परेको थियो । ‘एक हप्तासम्म काम गर्दा पाँच सय रुपैयाँ पनि आउँदैन थियो । सबैले सुरुमा काम गर्दा धेरै पैसा नआउने भनेर भन्दा आफूलाई गाह्रो हुन्थ्यो,’ संघर्षको दिन सम्झँदै उनले तितो अनुभव सुनाइन् ।

विस्तारै-विस्तारै काममा सहजै हुँदै गयो । आफूलाई निखारिन् । सबैले चिन्दै गए । कामका लागि बोलाउन थाले । ब्युटिसियनको कामलाई सबैभन्दा बढी चाहिने जनसम्पर्क हुनु पर्ने उनको अनुभव छ । सम्बन्धले कामलाई धेरै मानिसमा पुगेको उनले बताइन् । एक जनाको राम्रो काम गरेपछि उसैले कामको प्रचार गर्ने गरेको उनको भनाइ छ ।

काम गर्नथालेपछि उनले घरबाट आफ्नो लागि आर्थिक सहयोग मागिनन् । विस्तारै घरमा सहयोग गरिरहेको उनले बताइन् । ‘घरखर्च चलाउन मात्र सहयोग गरेकी छैन,’ उनले थपिन्,’ दुई जना बहिनी र भाइलाई पनि आफ्नो खर्चले हेर्नु परिरहेको छ ।‘ 

सिजनमा मासिक १ लाख रुपैयाँ आम्दानी हुने उनले बताइन् । कामको प्रचार-प्रसार भएर उनलाई क्लाइन्टले फोन गरेर बोलाउने गरेका छन् । उनी भन्छिन्,’ बेहुली मेकअपको १५ हजार, पार्टी मेकअप ७ हजार र नर्मल मेकअपको ३ देखि ५ हजार रुपैयाँ लिने गरेकी छु ।‘

मिस हेरिटेज इन्टरनेशनल, मिस ग्रान्ड नेपाल, इन्डियन आइडलका पवनदीप तथा नेपाली कलाकारको मेकओभर गरिसकेको उनीसँग अनुभव छ । उनले नेपाल र भारतका विभिन्न कार्यशाला र सेमिनारमा भाग लिएर आफ्नो सीपलाई अब्बल बनाएकी छन् ।

सुजकीको अनुभवमा प्रत्येक क्लाइन्ट एक अद्वितीय र व्यक्तिगत लुक सिर्जना गर्न लायकका हुन्छन् । मेकअप एक कला हो र यसलाई व्यक्तिको प्राकृतिक सौन्दर्य निखार्न प्रयोग गर्नुपर्छ भन्ने उनको विश्वास छ ।

आफूले विशेष खालको प्रविधि प्रयोग गरी मेकअप गर्ने गरेको उनले सुनाइन् । आफूले सिकेको सीप अरुलाई पनि सिकाउँदै जाने उनको योजना छ । उनले मेकअप आर्टिस्टमा आफ्नो पहिचान बनाउनेहरूलाई तालिम र सल्लाह दिने लक्ष्य राखेकी छिन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x