समाज

निकिशामाथिको दुर्व्यवहार : पहिचानमाथिको प्रहार

सृजना खड्का |
मंसिर ४, २०७७ बिहीबार १८:५४ बजे

काठमाडौँः सामाजिक सञ्‍जाल टिकटकबाट चर्चामा आएकी निकिशा श्रेष्ठमाथि मंगलबार सार्वजनिक थलोमा दुर्व्यवहार भयो । सडकमा हिडिरहेकी श्रेष्ठमाथि स्कुटरमा चढेका किशोरहरुले लैङ्गिक भेदभावपूर्ण शव्दहरु प्रयोग गर्दै दुर्व्यवहार गरे । 

श्रेष्ठमाथि दुर्व्यवहार भएको भिडियो मंगलबार सामाजिक सञ्जालबाट बाहिरिएपछि चारैतिर चर्को विरोध भयो । भिडियोमा अपशव्द बोलेर दुर्व्यवहार गर्नेलाई निकिशाले लखेट्न खोजेको देखिन्छ । भिडियो ‘सफिल’ नाम गरेको फेसबुक एकाउन्टबाट सार्वजनिक भएको थियो । अपलोड गर्ने बित्तिकै विरोध हुन थालेपछि सफिलले भिडियो हटाएका थिए । 


श्रेष्ठमाथि दुर्व्यवहार भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले साइबर ब्यूरोलाई छानबिन गर्न निर्देशन दियो । प्रहरीले बिहीबार दुर्व्यवहार गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर, तौमढीका १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र १६ वर्षीय नाम नखुलेका किशोरलाई प्रहरीले दिउँसो पक्राउ गर्‍यो । प्रहरीले सफिलले स्कुटर चलाइरहेको र नाम नखुलेका किशोरले श्रेष्ठमाथि अपशव्द प्रयोग गरेको जानकारी दिएको छ । 

श्रेष्ठमाथि लैंगिक दुर्व्यवहार भएको भन्दै अधिकारकर्मीहरूले दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । अधिवक्ता सुजन पन्तले कसैलाई लैङ्गिक पहिचानको आधारमा दुर्व्यवहार गर्नु दुखद् भएको बताए । ‘व्यक्तिले कसरी बाँच्‍न चाहन्छ त्यो उसको अधिकारको कुरा हो,’ उनले भने, ‘यहाँ अरुलाई दुर्व्यवहार गरेर आफू भाइरल हुन खोजिएको, त्यसो गर्न पाइदैन । कानुनअनुसार यो अपराध हो ।’ यस्ता घटनाले समाज कतातिर जाँदैछ भन्‍ने कुरा प्रस्टसँग देखाएको पन्तले बताए ।

लैंगिक पहिचानको हकमा सर्वोच्च अदालतले गरेको फैसलाबारे जानकारी दिंदै पन्त भन्छन्, ‘कुनै पनि व्यक्तिले आफ्नो अनुभूति अनुसारको लैंगिक पहिचान हासिल गर्नु व्यक्तिगत निर्णयको अधिकार हो । यसमा अरु व्यक्ति, समाज, राज्य वा कानुनले जैविक लिङ्ग के हो भनी निर्धारण गर्नु सान्दर्भिक हुँदैन ।’

कानुनअनुसार नेपालमा जसले आफुलाई जे चाहन्छ त्यही चिनाउन पाउने उनले बताए । भिडियोमा देखिने व्यक्ति आफैले सार्वजनिक गराएको भए विद्युतिय कारोबार ऐनको दफा ४७ मा ५ वर्ष कैद वा एक लाख जरिवाना हुने व्यवस्था रहेको छ । ‘अपराध गर्ने नाबालक हो भने १० वर्ष कटेपछि अपराध गर्न कसैलाई छुट छैन,’ पन्तले भने, ‘उनीहरूका लागि बाल बिज्याइँको कानुन र बाल सुधार गृहहरू यसै बनेका होइनन् ।’ 

निलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले जबसम्म परिवारले निकिशा जस्ता व्यक्तिलाई स्विकार्दैनन् तबसम्म समुदायले नस्विकार्ने बताइन् । ‘सबैभन्दा पहिला परिवारले उनीहरूलाई बुझ्नुपर्छ,’ उनले भनिन्, ‘उनको परिवारले अहिलेसम्म पनि यो कुरा स्विकारेको देखिँदैन । यो ढाकछोप गरेर लुकाएर राख्ने कुरा होइन ।’ 

गुरुङले यो घटना अमानवीय गतिविधिको पराकाष्टा भएको बताइन । ‘परिवारले कति हदसम्म साथ दिन्छ र स्विकार गर्छ, त्यसले पनि ऊ माथि हुने दुर्व्यवहारविरुध्द कसरी लड्ने र कम गर्न के गर्ने भन्न सकिन्छ,’ उनले भनिन्, ‘नत्र यस्ता घटनाहरू फेरि नदोहोरिएलान् भन्न सकिदैन । उसले आफ्नो पहिचान र अधिकारको बारेमा राम्ररी कुरा गर्न सक्दिनन् । परिवारले सहयोग गर्‍यो भने समाजसँग लड्ने बल अवस्य आउँछ ।’ 

लैंगिक आधारमा गरिने दुर्व्यवहारको  लडाइ एक्लैले होइन सबै मिलेर लड्नु पर्ने गुरुङले बताइन् । ‘यो निकिशाको मात्र लडाइ होइन, सम्पूर्ण तेस्रो लिङ्गीहरुको लडाइ हो,’ उनले भनिन्, ‘दुर्व्यवहार गर्नेलाई ढुङ्गाले हान्दैमा लडाइको अन्त्य हुँदैन । निकिशाको केसमा भिडियो बनाएर राखेको भएर एक्सन लिन सजिलो भयो । तर, प्रमाणबिनाका दुर्व्यवहारहरू दैनिक जीवनमा हामीले भोगिरहेका छौं ।’ 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x