समाज

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती

इकागज |
साउन २७, २०८० शनिबार २०:५५ बजे

गण्डकी- कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गरेकी छिन् ।

    समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुई गीति एल्बम सार्वजनिक गरेकी छिन् ।


    “कृषि प्रधान देश हाम्रो खेतबारी बाँझै छन् ।
    कति दुःख गरियो याद ताजै छन् ।।” 

    गीतबाट सुरु उनको ‘कृषि प्रधान देश’ गीति एल्बममा कृषि पेसाप्रतिको अनिच्छाले हामीलाई बर्सेनि परनिर्भरतातर्फ डोर्याएको उल्लेख गरिएको छ ।

    परम्परागत कृषि प्रणाली तथा उपकरण पछिल्ला पुस्ताका लागि नौला बन्दै गएकाले यी सामानलाई चिनाउनका लागि सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएको भन्दै गीतमा 
    “हलो जुवा स्याखु खत्री नामै नौला भैसके ।
    म्युयिममा राख्नुपर्ने बेला आइसके ।।”  भनिएको छ ।

    रोपाइँ गर्न भ्याइनभ्याइ हुने गरेको विगतको अवस्था र अहिले रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको विषयलाई गीतमा समेट्दै,
    “बासी हिलो रोप्न जान्थेम आँखा मिच्दै निन्द्रैमा ।
    अहिले ठूलै नाटक हुन्छ असार पन्ध्रमा ।।
    मन्त्री आउँछन् झण्डा हल्लाई असार पन्ध्र मनाउन ।
    गमलामा धान रोपी किसान जनाउन ।।” उल्लेख गरिएको छ ।

    किसानले खेती गर्न समयमा पर्याप्त मल, बीउ नपाउने गरेको कुरा खोतल्दै गीतकार वाग्लेले 
“किसानले खेती गर्दा मल बीउ नपाउने ।
सरकारको बजेट आउँछ बाँदर धपाउने ।।” भनेकी छिन् ।

    वाग्लेले कोही कसैलाई दोष मात्रै दिएर नभइ समाज र राष्ट्र निर्माणमा सबै आआफ्ना तर्फबाट जुट्नुपर्नेमा जोड दिएकी छिन् । हाम्रा संस्कार र संस्कृति बिगार्ने छुट कोही कसैलाई नभएको पनि उनका गीतमार्फत सन्देश दिन खोजिएको छ । खुर्सानी गोलभेँडामा परनिर्भर रहनुपर्ने अवस्थालाई चित्रण गर्दै गीतमा सक्षम युवा जन्मनुपर्ने आवश्यकता औँल्याइएको छ ।

    गीतकार वाग्लेले यसै वर्ष अर्को ‘फेरी पनि तीज आयो मन दुखाउन’ र्शीषकको गीति एल्बम बजारमा ल्याएकी छिन् । 
    “गारो हुने मनका पीडा परेलीमा लुकाउन ।
    फेरि पनि आयो तीज मन दुःखाउन ।।”

    उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र बेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने  पीडालाई गीतमा देखाइएको वाग्लेले बताउनुभयो । उनका अनुसार दुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् । 

    गीतलाई नमस्ते पोखराको युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । गीतको निर्देशन छवि सुवेदीले गरेका छन् भने छायाङ्कन तथा सम्पादन सुपरस्टार स्टुडियोका निर्देशक शिवराज भूर्तेलले गरेका हुन् । छायाङ्कनमा नेवा खलः कास्की र नेवा मिसा पुच्च पोखरा–३ ले सहयोग गरेका छन् । 

    पहिलोपटक विसं २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, शहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसकेकी छिन् । रासस


Author

थप समाचार
x