समाज

बिहे गर्न नमान्दा १५ वर्षीया प्रेमिकाको ३८ वर्षीय प्रेमीले गरे घाँटी रेटेर हत्या

इकागज |
फागुन २२, २०८० मंगलबार १९:२६ बजे

मोरङ- मोरङको पथरी शनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किशोरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन् ।


आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन् ।

हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । 

विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेकी छिन् । सामाजिक सन्जालमार्फत चौधरीको ज्ञानमतिसँग चिनजान भएको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन् ।

स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन् । सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।


Author

थप समाचार
x