समाज

जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले छापेका विद्यालयका पुस्तक गुणस्तरहीन

अतिन आचार्य |
मंसिर १७, २०७८ शुक्रबार ७:२० बजे

काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्रले नेपालको आधिकारीक नक्सा नछापी कोभिड-१९ को नक्सा राखेर पुस्तक प्रकाशन गरेको पाइएको छ । पुस्तकको अगाडि भागमा नक्सा राख्‍नुपर्नेमा पछाडिको कभर पेजमा राखिएको छ । आवरण पृष्‍ठको अघिल्लो भागको बायाँ पृष्‍ठमा राख्‍नुपर्ने थियो ।

सरकारको नियमविपरित पुस्तकको मुल्‍य कायम गर्ने र मुल्‍य सर्वाधिकार पृष्‍ठमा राखिनुपर्नेमा नराखिएको पाइएको हो । कति प्रति छापिएको र सामुदायिक एवम् संस्थागत विद्यालयमा कति प्रति गएको समेत सामग्री केन्द्रले उल्लेख गरेको छैन । सरकारले तयार गरेको पाठ्‍यपुस्तक जनक शिक्षा सामग्रीले लापरबाही गरेको राष्‍ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।


त्यसैगरी निजी प्रकाशकहरूले विद्यालयका लागि गुणस्तरहीन पुस्तकहरू प्रकाशन गरेको पाइएको छ । विभिन्‍न प्रकाशक कम्पनीले २ कक्षा देखि १२ कक्षासम्मको पुस्तक छपाईमा कमजोरी र पाठ्यसामग्री गुणस्तर कम रहेको छ ।

कमसल कागजको प्रयोग गरेको र पाठ्‍यक्रम विकास केन्द्र गम्भीर नभएकाले प्रकाशक कम्पनीहरूले पुस्तक छपाई गरी बिक्री वितरण गरेको पाइएको छ । पुस्तक प्रकाशकहरूले तोकिएको मापदण्डसमेत पालना गरेका छैनन् ।

एकता प्रकाशन केन्द्र, एकता प्रकाशन केन्द्र, कोशेली प्रकाशन, युनाइटेड प्रकाशन, विद्यार्थी प्रकाशन, रिडमोर प्रकाशन र गिनिज प्रकाशनले गुणस्तरहीन पुस्तक छपाई गरी बिक्री वितरण गरेका हुन् ।

एकता पब्लिकेशनले पाठ्य सामग्रीको प्रत्येक पृष्‍ठको अन्तिम भागमा पाठ्‍यक्रम विकास केन्द्रबाट स्वीकृत उल्लेख नगरिएको पाइएको छ । संस्करण २०७८ भएता पनि कति प्रति छपाई भएको त्यसको संख्यासमेत उल्लेख गरेको छैन । मन्त्रालयको निर्णयअनुसार मुल्‍य कायम गर्ने र मुल्‍य सर्वाधिकार पृष्‍ठमा राख्‍नुपर्नेमा नराखी पुस्तकको पछाडिको कभर पेजमा राखिएको हो ।

कोशेली प्रकाशनले पनि संस्करण २०७८ भएता पनि कति प्रति छपाइ भएको त्यसको उल्लेख गरेको छैन । सरकारको निर्णयअनुसार मुल्‍य कायम गर्ने र मुल्‍य सर्वाधिकार पृष्‍ठमा राख्‍नुपर्नेमा नराखी पुस्तकको पछाडिको कभर पेजमा राखिएको हो । पाठ्‍यसामग्री शिर्षक पृष्‍ठभन्दा पछि दाँया पृष्‍ठमा समावेश गरि राखिएको छ ।

युनाइटेड पब्लिकेशनले पनि संस्करण २०७८ भएता पनि कति प्रति छपाइ भएको त्यसको उल्लेख गरेको छैन । सरकारको निर्णयअनुसार मुल्‍य कायम गर्ने र मुल्‍य सर्वाधिकार पृष्‍ठमा राख्‍नुपर्नेमा नराखी पुस्तकको पछाडिको कभर पेजमा राखिएको हो । पाठ्‍य सामग्री शीर्षक पृष्‍ठभन्दा पछि दाँया पृष्‍ठमा समावेश गरि राखिएको छ ।

केन्द्रमा परेको उजुरीका आधारमा प्रहरी नायब उपरीक्षक कृष्‍ण अधिकारीको टोलीले अध्ययन गरेको थियो । सम्बन्धित प्रकाशन गृहका सञ्‍चालक, नेपाल गुणस्तर तथा नापतौल विभाग र पाठ्‍यक्रम विकास केन्द्रका प्रतिनिधसहितको सहभागितामा छलफल, पाठ्‍यपुस्तकको अध्ययन एवं प्रकाशित पाठ्‍य सामग्रीको अवलोकन गरेका थिए ।

सरकारको निर्णयअनुसार लागू भएको पाठ्‍यक्रम तथा पाठ्‍य सामग्री विकास तथा वितरण निर्देशिका २०७६ को २८ (ख) मा भएको व्यवस्था बमोजिम मापदण्डमा स्वीकृत बमोजिमको गुणस्तर, मुल्‍यलगायतका समग्र पक्ष पाठ्‍य सामग्रीमा रहे, नरहेको जाँचबुझ गर्ने गराउने अधिकार पाठ्‍यक्रम विकास केन्द्रलाई रहेको तर, यस विषयमा पाठ्‍यक्रम विकास केन्द्र जिम्मेबार नभएको पाइएको छ ।

पाठ्‍य सामग्री प्रकाशनको स्वीकृति प्राप्‍त गर्दा हरेक वर्षको लागि ५ हजार प्रति छपाई गर्ने अनुमति प्राप्‍त हुन्छ । तर, पाठ्‍य सामग्रीको प्रति उल्लेख नगर्दा ५ हजारभन्दा बढी प्रति छपाई भए नभएको सुनिश्‍चित हुने कुनै भरपर्दो आधार छैन । राज्यलाई वर्षेनी प्राप्‍त हुने राजस्वमा कमी हुने देखिएकोले प्रति छपाई उल्लेख गर्नुपर्छ ।

मन्त्रालय स्तरीय निर्णयअनुसार कक्षा ५ देखि १२ सम्मका पाठ्‍यपुस्तक जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मुद्रण र बिक्रीको जिम्मा पाएको छ । १ देखि ४ सम्मका पाठ्‍यपुस्तक निजी क्षेत्रले समेत छपाई गर्दे आएको  छ । निजी क्षेत्रबाट प्रकाशित पाठ्‍यपुस्तकको मुल्‍य बढी पर्न जानेछ । छपाइ गरेको पुस्तक सस्तो मुल्‍यमा पुस्तक पाइने भएकाले जनक शिक्षा सामाग्री केन्द्रले सम्पूर्ण जिम्मा लिनुपर्ने सतर्कता केन्द्रले औँल्याएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x