समाज

'आफूले गरेको मेहनत सफल हुँदा हृदय फुलेर आउँदो रहेछ'

लक्ष्मी भण्डारी |
पुस २८, २०७८ बुधबार ११:३० बजे

सुर्खेत – गत सोमबार प्रदेश अस्पतालमा कार्यरत स्टाफ नर्स सुशिला वली ड्युटीमै थिइन् । राति १२ बजे एम्बुलेन्समा बच्चा जन्मिएको खबर आयो । उनी हतार हतार एम्बुलेन्स भएको ठाउँमा गइन् । आमा रगतले लछुप्पै भिजेकी थिइन् । भुइँमा बच्चा अचेत अवस्थामा थियो । बच्चा मरिसकेको र आमालाई बचाउन अस्पताल ल्याएको उनीहरूले बताएका थिए । 

सुशिलाको मनमा बच्चालाई  पनि जिवित गराउन सकिन्छ कि भन्ने लाग्यो । उनले छिटो छिटो उपचारको लागि लगिन् । ‘मलाई मनमा कताकता बच्चा जीवित छ कि ? उसलाई फर्काउन सकिन्छ कि भन्ने लाग्यो,’ त्यो रात स्मरण गर्दै उनले भनिन् ‘अनि बच्चाको धड्कन सुन्न थालें । तर, केही सुनिएन । लगातार कृत्रिम श्वासप्रश्वास दिन थालें । बच्चाको धड्कन बढ्दै गयो । बच्चाले आफै सास फेर्न सकेको थिएन । यसले मलाई झन् झन् दुःखी बनाउँथ्यो । उही बेला बच्चाको मुटुको चालले मलाई खुसी लाग्थ्यो र उत्साह जाग्दथ्यो ।’ लगातारको अथक प्रयासपछि बल्ल बच्चा रोयो तर पनि रुवाइ राम्रो थिएन । उनले बच्चालाई अक्सिजन दिएर न्यानो कपडाले बेरेर राखिन्  । लामो प्रयासपछि बच्चा जिवित हुँदा उनी प्रसन्न छिन् । ‘यो भन्दा खुसी खोज्न कहाँ जाउँ’ सुशिला भन्छिन्, ‘आज बच्चा जन्मिएको पनि ६ दिन भयो । आफूले गरेको मेहनत सफल हुँदा हृदय फुलेर आउँदो रहेछ,’ उनले खुसी सुनाइन् । 


पञ्चपुरी–९ कि सरिता बुढा बच्चा मरेता पनि आमालाई बचाउन सकिन्छ कि भन्ने आशमा अस्पताल आएकी रहिछिन् । उनलाई अमाजु र फुपूसँग अस्पताल ल्याएका थिए । आमा मात्र होइन ‘मरेको भनिएको’ बच्चा जीवित देख्दा उनी निकै खुसी छिन् । ‘मेरो लागि हजुर भगवान बनेर आउनुभयो’ सरिताले आफू र बच्चालाई बचाउने नर्ससँग भनिन्, ‘भगवान खोज्न अन्त नपर्दो रहेछ ।’

यसरी बिरामीले पुर्नजिवन पाएर सुशिलालाई भगवान मानेको यो पहिलो घटना भने होइन । सयौ पटक उनलाई बिरामीले अस्पतालको बेडबाट डिस्चार्ज भएर घर फर्कनेबेला भन्छन् ‘हजुर हाम्रो भगवान् हो ।’

कहिलेकाही मेहनत गदागर्दै पनि असफल भएमा दुःख लाग्ने गरेको उनले बताइन् । ‘गरेको मेहनत सफल भएमा खुसी लाग्छ’ उनी भन्छिन्, ‘कुनै केशमा मेहनत गर्दा गर्दै पनि असफल हुन्छ र स्वास्थ्यकर्मीले नै हेलचक्र्याइँ गरेर हो भनेको सुन्दा मन भारी हुन्छ ।’

कर्णाली भौगोलिक हिसाबले विकट छ  त्यसैले ढिला गरी अस्पताल आउँदा पनि सयौ आमा र बच्चाको ज्यान जोखिममा रहेको उनी बताउँछिन् । ‘पहिला उहाँहरू स्वास्थ्यचौकी जानुहुन्छ र त्यहाँ सम्पूर्ण सेवा नहुँदा स्पवास्थ्यचौकीले यहाँ रिर्फर गर्छ’ उनी भन्छिन्, ‘यसरी रिफर भएर यहाँसम्म आइपुग्दासम्म आमा र बच्चाको ज्यान जोखिममा रहने गरेको छ ।’

२०७१ सालबाट कार्यरत उनी आफ्नो ड्युटी बाहेकका समयमा पनि उत्तिकै सेवामा तल्लिन हुन्छिन् । ‘मेरो पनि आफ्नो बच्चा भएर होला सबैका बच्चालाई आफ्नै झै लाग्छ’ उनी भन्छिन्, ‘आफ्नो ड्युटी मात्र भन्दा पनि मानवीय कर्तव्यका रूपमा पनि सोच्नुपर्छ ।’ सामान्य परिवारमा हुर्किएकी सुशिलालाई सेतो कोट लगाउने डाक्टर र नर्स देख्दा आफू पनि यस्तै हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

‘मेरो घर पनि अस्पताल नजिक भएकाले यहाँबाट डाक्टर र नर्स सेतो कोट लगाएर हिडेको हेर्थे अनि मलाई पनि यस्तै हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो’ उनी भन्छिन्, ‘घर परिवारका सदस्यहरू बिरामी भइरहँदा पनि स्वास्थ्य विषय नै रोजेँ ।’ सुरुवातमा सुशिलाले नर्स पढ्छु भन्दा घरपरिवारमा उनलाई पढाउन राजी भएनन् । ‘म सामान्य परिवारमा जन्मिएकाले पनि सजिलै नर्स पढाउन सक्ने अवस्था थिएन’ उनले भनिन्, ‘मेरो इच्छा त्यही भएपछि घरमा जग्गा बेचेर मलाई पढाउनुभयो ।’


Author

थप समाचार
x