समाज

के हामीले मास्क लगाउन बिर्सेका हौँ ?

सृजना खड्का |
माघ १९, २०७७ सोमबार ६:३९ बजे

तस्बिरहरू : सुजल बज्राचार्य

काठमाडौँ : कोभिड–१९ संक्रमण फैलिएसँगै मास्क मानिसको दैनिक बन्यो । कोभिड कालमा मास्क बिनाको मुहार बिरलै देखियो । कहिल्यै मास्क नलगाउनेले पनि कोभिडबाट मृत्यु हुने डरले मास्क लगाए । 

तर, केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रियो । भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क भने बाहिरिन थालेको छ । पसलमा मास्कबिनै सामान बेच्न थालेका छन्, व्यापारी । सामान किन्न मास्क बिनै जान थालेका छन्, ग्राहक । 


बिस्तारै चोक, गल्ली, सपिङ मल, होटल, रेस्टुरेन्ट जताततै मास्क लगाउनेको संख्या पातलिन थालेको छ । मास्कको बेवास्ता बढ्दैछ । जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित हाल संक्रमण र मृत्युको दर घट्ने क्रम रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको बताउँछन् । 

‘संक्रमणको संख्या घट्नेबित्तिकै धेरैमा ‘कोभिडलाई पार लगायौँ’ भन्ने भ्रम हुन सक्छ,’ उनी भन्छन्, ‘त्यसैले सावधानी अपनाउन छाडेको देखिन्छ । तर, कोभिड नियन्त्रणमा आएपनि फेरि फैलिन सक्ने संभावना रहिरहन्छ । मास्क नलगाउँदा एकबाट पाँच, पाँचबाट पन्ध्र हुँदै पुनः संक्रमण फैलिन सक्छ ।’

जनसंख्याको ६० प्रतिशत जोखिम समुहका व्यक्तिहरूले खोप लगाएपछि मात्रै हामी हाम्रो पुरानो जीवनशैलीमा फर्किन सक्ने उनी बताउँछन् । ‘अहिले नै खुलम्खुल्ला भएर हिँड्ने अवस्था छैन,’ उनी भन्छन्, ‘तीन करोडमा पाँच लाख भ्याक्सिन भनेको केही पनि होइन । भ्याक्सिन आउनु मात्रै ठूलो कुरा होइन ।’ 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन मानिसले मास्कमात्रै नभएर सबैखालका जनस्वास्थ्यका मापदण्ड बिर्सिदै गएको बताउँछन् । ‘लामोसमय मास्क लगाउँदा–लगाउँदा झिँझो लागेको हुन सक्छ,’ उनी भन्छन्, ‘केही दिन कोभिडले मृत्यु हुनेको संख्या शून्यमा भएको थियो । त्यसले पनि मानिसलाई मास्क नलगाउन सघाउ पुर्‍याएको हुन सक्छ ।’

कोभिडका लागि मात्रै होइन मास्क र स्यानिटाइजर

मास्कलाई हामीले कोभिडसँग मात्रै जोडेर हेरेपनि यसले अन्य धेरै रोगबाट बच्न सघाउने डा. पुन बताउँछन् । ‘हामीलाई दैनिक जीवनमा धेरै किसिमका अज्ञात संक्रमणहरूले आक्रमण गरिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘नेपालमा वर्षेनी हजारौ मानिस निमोनियाबाट मर्छन् । श्वासप्रश्वासका कारण निस्किने ब्याक्टेरियालाई मास्कले रोकेको हुन सक्छ ।’ 

त्यस्तै, मास्क प्रदुषणसँग पनि जोडिएको हुनाले यसले सिधै प्रदुषित हावा खानबाटसमेत बचाउने उनी बताउँछन् । ‘विश्वकै प्रदुशित सहरमा बस्ने हामीले मास्क त नलगाइ सुखै छैन,’ उनी भन्छन् । 

त्यस्तै, स्यानिटाइजर पनि कोभिडसँग मात्रै नभएर हाम्रो दैनिक जीवनसँग जोडिएको उनको तर्क छ । ‘स्यानिटाइजर हात धुनेसँग सम्बन्धित कुरा हो,’ उनी भन्छन्, ‘हामी जहाँ जान्छाँै त्यहाँ हात धुन संभव नहुन सक्छ । त्यो बेलामा हामीले स्यानिटाइजरको प्रयोग गर्छौँ । हामीले हात कोभिडबाट बच्नको लागि मात्रै धुने होइन ।’
हात धुने बानीले झाडापखालादेखि टाइफाइड, जन्डिसजस्ता सरुवा रोगहरूबाट बच्नसमेत सहयोग पुर्‍याउने उनी बताउँछन् ।

‘स्यानिटाइज गर्ने, मास्क लगाउने बानीलाई निरन्तरता दिन सक्यौँ भने हामी धेरै किसिमका सरुवा रोगबाट बच्न सक्छौँ,’ उनी भन्छन्, ‘ यसलाई आफ्नो जीवनशैली बनाउँदा हाम्रो स्वाथ्यमा घाटा होइन फाइदा नै हुन्छ ।’ 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x