समाज

बालखैमा बलात्कृत, बालखैमा बलात्कारी

दश वर्षमुनिका सात सय २२ बलात्कृत, बलात्कारीमा पनि यही उमेर समूहको संलग्‍नता बढ्दो

सृजना खड्का |
फागुन ९, २०७७ आइतबार ८:३३ बजे

काठमाडौँ : आतंकवाद भन्दा कम छैन बलात्कार । यस अर्थमा बलात्कारका पीडकहरू आतंकवादी हुन् । यो अपराधमा कलिला केटाकेटीको संलग्नता बढ्दो छ । सोच्नुहुन्छ ? १० वर्षमुनि उमेरका पीडक र पीडितको संख्या उल्लेख्य छ नेपालमा । 

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकले बलात्कारका घटनामाथि डरलाग्दो संकेत गर्छ । उक्त तथ्यांक अनुसार अढाई वर्षमा १० वर्षमुनिका १५ बालक बलात्कारका पीडक अर्थात् बलात्कारी भएको देखिन्छ । 


बालबालिकाको बठ्याइँलाई विचरा बनाएर ढाडस दिइरहँदा कस्तासम्म घटना घट्न सक्छन् धेरैले अनुमान लगाउन सक्दैनन् । अपराध अनुसन्धानमा लामो समय काम गरेका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीको बुझाइ पनि यस्तै छ । 

‘हाम्रो समाजले बलात्कारका पीडितलाई झन् पीडित बनाउँछ,’ उनी भन्छन्, ‘बलात्कारका घटना लाज र इज्जतसँग जोडिन्छ, यी कुराहरू बालबालिकाले नियालिरहेका हुन्छन्, जसको कारण सानैमा उनीहरूको पनि मनोबल बढेको देखिन्छ ।’ 

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ को बलात्कार सम्बन्धि मुद्दामा १० वर्षमुनिका ८ जना बालक पीडक भएका छन् । जमध्ये प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा एक-एक जना, बाग्मती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना १० वर्षमुनिका बालक बलात्कारी भएको देखिन्छ । 

आर्थिक वर्ष २०७६/०७७ मा १० वर्षमुनिका ५ जना बालक बलात्कारको मुद्दामा पीडक भएको यो तथ्यांकले देखाउँछ । जसमा लम्बिनी प्रदेशमा २ जना र उपत्यकामा ३ जना बालक बलात्कारको केसमा पीडक छन् । 

चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकमा २ जना बालक पीडक भएको देखिन्छ । दुबै जना लम्बिनी प्रदेशका हुन् । पूर्व डिआइजी मल्ल यस्ता केसमा अभिभावकलाई दोषी देख्छन् । ‘आजकाल बालबालिकाको शारीरिक विकास पहिलाभन्दा छिटो-छिटो हुन थालेको छ,’ उनी भन्छन्, ‘अहिलेका आठ-दश वर्षका बच्चाहरू हाम्रो उमेरको आठ-दश वर्षका जस्ता निर्दोष र केही नजान्ने छैनन्, अभिभावकले केही नभने पनि इन्टरनेट र सोसल मिडियाबाट उनीहरूले धेरै कुरा सिकिरहेका हुन्छन् ।’

बालबालिकामा नैतिक शिक्षा नपुगेकै कारण यस्ता घटनाहरू बढिरहेको पूर्व डिआइजी ठकुरीको बुझाइ छ । ‘धेरै अभिभावकहरूले बच्चालाई ‘बाच्चै छ, केही थाहा छैन’ भनिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘केही गल्ती गरेपनि बच्चा हो गल्ती भइहाल्छ भन्ने चलन छ । तर, त्यसो गर्नुको सट्टामा हामीले उनीहरूलाई समाज, परिवार विपरित लिङ्गप्रतिको दायित्वबारे बुझाउनुपर्छ, नैतिक शिक्षा सिकाउनुपर्छ ।’  

बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवरको तर्क भने फरक छ । उनी कोही बालक आफैँ बलात्कारको शिकार भएपछि अरुलाई बलात्कारको कोसिस गर्ने बताउँछन् । ‘जो बालक बलात्कारको घटनाबाट गुज्रिएका हुन्छन् उनीहरूले यस्तो कोसिस गर्छन्,’ उनी भन्छन्, ‘कतिपयलाई आफूले बलात्कार गरेँ भनेर थाहा नभएको पनि हुन सक्छ । यस्ता घटना कम गर्नको लागि घर, परिवार, शिक्षक सबैले बालबालिकालाई यौन शिक्षाको बारेमा बेलैमा जानकारी दिनुपर्छ ।’

अर्कोतर्फ पूर्व डिआइजी ठकुरी धेरैजसो बालकले आफ्नै वा आफूभन्दा कम उमेरकी बालिकालाई बलात्कारको कोसिस गर्ने  गरेको बताउँछन् । ‘साना उमेरका बालकले उनीहरूकै उमेर वा त्योभन्दा कम उमेरका बालिकालाई प्रयास गर्छन्,’ उनी भन्छन्, ‘यी हाम्रो समाजमा भइरहेका घटना हुन्, तर, यसलाई हामीले घरभित्रको कुरा हो, अन्जानमा गरेको गल्ती हो भनेर लुकाउने गर्छौँ ।’ 

कलिलैमा बलात्कारको शिकार

नेपाल प्रहरीको तथ्यांक नियाल्ने हो भने १० वर्षमुनिका पीडकभन्दा पीडितको संख्या धेरै देखिन्छ । अढाई वर्षको तथ्यांकले १० वर्षमुनिका ७ सय २२ बालिका बलात्कृत भएको देखाउँछ । 

आर्थिक वर्ष २०७५/०७६ मा १० वर्षमुनिका २ सय ९८ जना बालिकाको बलात्कार भएको छ । जसमध्ये प्रदेश १ मा ७९ जना, प्रदेश २ मा ३८ जना, बाग्मती प्रदेशमा ४४ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६० जना, कर्णालीमा ९ जना, सुदूरपश्चिममा २१ जना र उपत्यका २५ बालिका बलात्कृत भएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा १० वर्षमुनिका २ सय ७३ बालिका बलात्कृत भएको तथ्यांकले देखाउँछ । जसमध्ये प्रदेश १ मा ५१ जना, प्रदेश २ मा ३२ जना, बाग्मती प्रदेशमा ३६ जना, गण्डकीमा २२ जना, लम्बिनीमा ६७ जना, कर्णालीमा १३ जना, सुदूरपश्चिममा ९ जना, उपत्यकामा ४२ जना र केन्द्रीय अनुसन्धान ब्यूरोमा १ जना पीडितको मुद्दा दर्ता भएको छ । 

त्यस्तै चालु आर्थिक वर्षको पुससम्म १० वर्षमुनि बलात्कार हुनेको संख्या १ सय ५१ रहेको छ । जसमध्ये प्रदेश १ मा ३३ जना, प्रदेश २ मा ११ जना, बाग्मती प्रदेशमा २६ जना, गण्डकीमा ११ जना, लुम्बिनीमा ३१ जना, कर्णालीमा १० जना, सुदूरपश्चिममा १२ जना र उपत्यकामा १५ जना बलात्कृत भएका छन् । यी पीडितमध्ये दुईजना बालक रहेका छन् ।

 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x