खेलकुद

युरोमा इंगल्यान्डको मुख्य अस्त्र ह्यारी केन

इकागज |
जेठ २१, २०७८ शुक्रबार ६:३१ बजे

काठमाडौँ : आधुनिक फुटबलमा ‘नम्बर १०’ को मुख्य जिम्मेवारी आफ्ना टिमका फरवार्डहरूलाई गोलका लागि पास उपलब्ध गराउने हो । त्यसैले पनि ‘नम्बर १०’ लाई प्लेमेकर भन्‍ने गरिन्छ । पुराना पुस्ताका रोबर्टो बाजियोदेखि नयाँ पुस्ताका लियोन मेस्सीसम्मले ‘नम्बर १०’ को भूमिकालाई न्याय गरेका छन् । कतिपय खेलाडी स्ट्राइकर तथा ‘नम्बर १०’ दुवै भूमिकामा उत्तिकै निपुण हुन्छन् । 

जोसे मौउरिन्होले स्ट्राइकर ह्यारी केनलाई उत्कृष्ट ‘नम्बर १०’ भनेका छन् । टोटनहमका केनले लगाउने जर्सीको नम्बर पनि १० नै हो । स्ट्राइकर भए पनि उनको ‘प्लेमेकिङ’ क्षमता गज्जबको छ । आफू त निरन्तर गोल गर्छन् नै, साथी खेलाडीलाई पनि गोल गर्न मद्दत गर्छन् । भर्खरै सकिएको इंग्लिस प्रिमियर लिगमा २३ गोल गर्दै केनले गोल्डेन बुट जिते । अनि उनको नाममा १४ असिस्ट समेत रह्यो । 


केन टोटनहमका मात्र होइन, इंग्लिस टिमका पनि मुख्य अस्त्र हुन् । तर इंगल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटका लागि केनले निभाउन सक्ने दोहोरो भूमिका टाउको दुखाइको विषय बन्‍न सक्छ । त्यसकारण,  युरो २०२० सुरु हुन् अगाडि नै साउथगेटले केनको पोजिसन निर्क्यौल गर्नुपर्छ ।  

टोटनहममा केनलाई सघाउने खेलाडी सन ह्युङ मिन हुन् । सन टोटनहममा दाँया विङ्ग्सम देखिँदा बाँयातर्फ ग्यारेथ बेल (गत सिजन), स्टिभन बर्गवाइनलगायतका खेलाडीलाई उपयोग गरिन्छ । यद्यपि केनलाई सबैभन्दा बलियो साथ सनकै रहन्छ । 

बुधबार राति इंगल्यान्डले अस्ट्रियाको सामना गर्दा केनलाई जिम्मेवारी स्ट्राइकरकै दिइयो । तर उनी बारम्बार मिडफिल्डमा झरिरहन्थे । यस्तो लाग्थ्यो, केनलाई सहयोग गर्न ‘इंग्लिस सन’ छैनन् । इंगल्यान्ड  र अस्ट्रियाबीचको खेलपछि पूर्व म्यानचेस्टर युनाइटेड मिडफिल्डर रोय किनले केनबारे टिप्पणी गरे । 'अन्य इंग्लिस खेलाडीले केनलाई बढी भन्दा बढी पास मिलाइदिनुपर्छ । केन विपक्षीको बक्स वरिपरी रहनुपर्छ । अनि उनका लागि पर्याप्त क्रस उपलब्ध गराउनु पर्छ,’ किनले बेलायती टेलिभिजन च्यानल आईटिभीसँग कुरा गर्दै भनेका छन् । 

अस्ट्रियासँगको पहिलो हाफमा केन मिडफिल्डमा झर्दा, ज्याक ग्रेलिस अन्योलमा पर्थे । ग्रेलिस आफैँ पनि इंगल्यान्डलाई जिताउन गोलका मौका सिर्जना गरिरहेका थिए । तर केन र ग्रेलिसबीच समन्वयको अभाव देखियो । तर यी दुईबीच बलियो साझेदारी बन्‍ने हो भने इंगल्यान्ड युरोमा निकै परसम्म पुग्‍ने निश्चित छ । त्यसका लागि साउथगेटले केन र ग्रेलिसको जोडीलाई सहयोग पुग्‍ने किसिमको रणनीति बनाउन जरुरी छ । फेरि केनले पनि ग्रेलिसलाई विश्वास गर्न आवश्यक छ । तब मात्रै दुईको जोडी जम्‍न सक्छ ।

साउथगेटसँग केन बाहेक डोमिनिक काल्भर्ट लेविन जस्ता युवा स्ट्राइकर पनि छन् । जसले केनलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेपछि अस्ट्रियाका रक्षकहरूलाई दुःख दिए । साउथगेटसँग केन र लेविनलाई सँगै खेलाउने विकल्प पनि छ । तर यस्तो विकल्प केन र ग्रलिसलाई सँगै खेलाउने योजना भन्दा फलदायी हुन सक्दैन ।  

केनले इंगल्यान्डका लागि ५३ खेल खेल्दै ३४ गोल गरेका छन् । उनी इंगल्यान्डको सर्वकालिन उच्च गोलकर्ता बन्‍ने दौडमा छन् । उनी इंग्लिस टिममा निर्विवादरुपमा सबैभन्दा बलिया फिनिसर हुन् । यस्तोमा केनलाई बढी भन्दा बढी गोल गर्न सहयोग गर्नु नै इंगल्यान्डको मुख्य रणनीति हुनुपर्छ । (बेलायती अखबार दी टेग्रिाफबाट) 


Author

थप समाचार
x