खेलकुद

खेल पर्यटन प्रवर्द्धन गर्दै 'मन्जुश्री ट्रेल रेस', १० बढी देशका खेलाडी आउने

इकागज |
फागुन २७, २०८० आइतबार १९:९ बजे

काठमाडौँ- आगामी चैत २३ गते सुरु हुने 'चौथो मन्जुश्री ट्रेल रेस' को दर्ता खुलेको छ । एसिया ट्रेल मास्टर्सको छनोट खेलका रूपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मन्जुश्री ट्रेल रेसको आवेदन खुलाइएको हो ।

 जस अन्तर्गत मन्जुश्री ट्रेल रेसको १०० माइल र १०० किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागी गराइनेछ ।


 त्यसैका लागि, चाइन, फ्रान्स आदि देशका विश्व वरीयतामा उच्च स्थानमा रहेका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । अहिलेसम्म विभिन्न १० देशबाट १३० खेलाडीले सहभागिताको फारम भरिसकेका छन् ।

मञ्जुश्री ट्रेल रेसको आयोजना 'मञ्जुश्री ट्रेल रेस' नामक गैरसरकारी संस्थाले गरेको हो छ । नेपाल सरकारको सहयोगमा आयोजना हुन लागेको पर्वतीय खेल महोत्सवका विभिन्न आधिकारिक खेल मध्ये ट्रेल रनिङका लागि मन्जुश्री ट्रेल रेसलाई अनुबन्धित गरिएको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकैको दूरीमा ऐतिहासिक भूमिबाट रेस सुरु गर्ने काम मञ्जुश्री ट्रेल रेसले गर्दै आएको छ । काठमाडौँ उपत्यकालाई फन्का मारेर रेसको मज्जा लिन सकिने भएकाले मञ्जुश्रीले आयोजना गर्दै आएको यस रेसतर्फ आकर्षण चुलिँदो छ ।

मञ्जुश्री ट्रेल रेसले हरेक वर्ष रेस आयोजना गर्दै आइरहेको छ । सन् २०२३ को रेसको चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी थिए । जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको अध्यक्ष थापाले जानकारी दिए । रेसमा सहभागी हुन इच्छुकले मञ्जुश्री ट्रेल रेसको आधिकारिक वेबसाइट (manjushreetrailrace.com) मार्फत आवेदन दिन सक्नेछन् । विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले निजी पहलमै सन् १०१६ मा यो रुट छिचोले ।

जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरूसहित नक्साङ्कन गरेका थिए । विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

हाल आएर यो रुटका विभिन्न संघसंस्था आदिले यही क्षेत्रमा साइलिङ, हाइकिङ आदि संचालन गरिराखेका छन् । फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने सँस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्यूनतम् योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

१ सय ७० किलोमिटर रेसमा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

 पचास किलोमिटर रेसमा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।


Author

थप समाचार
x