खेलकुद

एरिक्सनको इखले बौरिएको डेनमार्क

इकागज |
असार १९, २०७८ शनिबार १८:४५ बजे

काठमाडौँ : डेनमार्क सन् १९९२ मा युरो च्याम्पियन बन्यो । डेनमार्कले ठूला टिम सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितामा आजसम्म हात पारेको सबैभन्दा ठूलो सफलता पनि यही हो । डेनमार्कले यो सफलता हासिल गर्नु पछाडि भने एउटा रोचक प्रसंग छ । खासमा डेनमार्क त्यो साल युरोमा छनौट हुनै सकेको थिएन । डेनमार्कले युरो खेल्ने मौका पायाे, युगोस्लाभियाका कारण । युगोस्लाभियालाई युरोमा भाग लिन बञ्‍चित गरिएपछि यसको सट्टामा डेनमार्कले प्रवेश पायाे । 

त्यसबेला डेनमार्कले महादेशीय प्रतियोगिताका लागि तयारी गर्न जम्मा एक साताको समय पाएको थियो । जुन बाँकी सात टिमलाई पछि पार्दै उपाधि जित्न पर्याप्त भयो । यसपटकको डेनिस टिमलाई त्यो च्याम्पियन टिमसँग दाजिँदैछ । तर के डेनमार्कले आफ्नो स्टार खेलाडी क्रिस्टियन एरिक्सनविना युरो जित्ने सपना देखेको छ ? डेनमार्कका पूर्वमन्त्री लिके फ्रिस हरकोहीले यो सपना देखिरहेको बताउँछन् । ‘एरिक्सन घटनाबारे आउँदा धेरै वर्ष कुरा गरिनेछ । डेनमार्कमा मानिसहरूको दिमागबाट एरिक्सन ढलेको दृश्य हटेको छैन,’डेनमार्कका पूर्वमन्त्रीे फ्रिसले भनेका छन्,‘हाम्रो मस्तिष्कमा १९९२ को युरो पनि छ जहाँ हामी  छोटो समयकै तयारीमा पनि च्याम्पियन बनेका थियौँ ।  यो अपत्यारिलो सुनिएला तर डेनमार्कमा सबैले यस्तो सपना देखेका छन् ।’


एरिक्सन मैदानमा ढलेको दृश्य जारी युरोको बिर्सनै नसकिने एक दृश्य बनेको छ । त्यो घटनापछि विश्वभरका तटस्थ समर्थकले युरोमा डेनमार्कलाई समर्थन गरिरहेको मान्छन्, पूर्वमन्त्री फ्रिस । डेनिस टिमकै मिडफिल्डर पियर एमाइल होयबर्ग आफूहरूका लागि युरो उतारचढावपूर्ण प्रतियोगिता रहेको बताउँछन् । फिनल्यान्डसँगको खेल सम्झिँदै होयबर्ग भन्छन्, ‘हामीले त्यो खेलमा आफूलाई र पूरै देशलाई गर्व महसुस गराउने गरी खेल्यौँ ।’ 

युरो १९९२ मा प्राप्त सफलता डेनिस फुटबलको सबैभन्दा ठूलो सफलता हो । छनौट हुन नसकेपनि भाग्यवस युरो जित्दा डेनमार्कले फाइनलमा जर्मनीलाई पराजित गरेको थियो । त्यस वर्ष डेनमार्क युरोपियन च्याम्पियन बन्दा कोपनहेगनकी निकोलाइन दुई वर्षकी थिइन् । बुवा आमाले उनलाई सधैँ त्यो सफलता चखिलो गरी सुनाएका छन्  । डेनमार्क फेरि सफल भयो भने, निकोलाइन प्रत्यक्षदर्शी बन्‍नेछिन् र आफूलाई बुबा आमाले च्याम्पियनको कथा सुनाए झैं उनले पनि आफ्ना सन्तानलाई त्यस्तै कथा सुनाउनेछिन् । । ‘डेनमार्कमा उत्सव छ । सायद हामी फेरि च्याम्पियन बन्‍न सक्छौँ,’ उनी भन्छिन् । 

एरिक्सनले मैदान छाडेपछि डेनिस समर्थकले आफ्नो टिमप्रतिको अपेक्षा त्यागिदिएका थिए । यत्ति कामना थियो कि बाँकी कोही अस्वस्थ नहुन् ।  ‘हामीले टिमबाट कुनै आशा गर्ने भन्दा पनि सबै खेलाडी कुशल रहुन् भन्ने कामना गर्‍र्यौ,’ निकोलाइनले भनिन् । डेनिस नागरिकले अपेक्षा त्यागे पनि डेनमार्कले फिनल्यान्डसँगको खेलपछि गज्जबको लय समात्यो । समूह चरणको दोस्रो खेलमा बलियो बेल्जियमसँग २–१ ले हारे पनि डेनमार्क त्यसपछिका खेलमा अपराजित रह्यो ।

समूह चरणकै अर्को खेलमा डेनमार्कले रुसलाई ४–१ ले हरायो भने अन्तिम १६ मा वेल्समाथि पनि चार गोल ठोक्यो । यही दुई खेलको प्रदर्शनपछि हो डेनमार्कबासीमा सन् १९९२ को सपना बौरिएको ।डेनमार्क युरोमा क्रमशः अघि बढिरहँदा उता छिमेकी स्विडेन भने बाहिरीसकेको छ । स्विडेनको बर्हिगमनले डेनमार्कको क्वार्टरफाइनल यात्राको महत्व झन् बढेको छ । 

‘एरिक्सन घटनाबारे आउँदा धेरै वर्ष कुरा गरिनेछ । डेनमार्कमा मानिसहरूको दिमागबाट एरिक्सन ढलेको दृश्य हटेको छैन,’डेनमार्कका पूर्वमन्त्रीे फ्रिसले भनेका छन्,‘हाम्रो मस्तिष्कमा १९९२ को युरो पनि छ जहाँ हामी  छोटो समयकै तयारीमा पनि च्याम्पियन बनेका थियौँ ।  यो अपत्यारिलो सुनिएला तर डेनमार्कमा सबैले यस्तो सपना देखेका छन् ।’

डेनमार्कको युरो यात्रालाई नजिकबाट नियालिरहेका स्थानीय खेलकुद पत्रकार फ्रेडेरिक दंग छन् । उनले सेमिफाइनलको टिकटसमेत काटिसके । उनको कामना छ , ‘त्यो टिकट रद्द गर्न नपरोस् । उनी साक्षी रहेको खेलले डेनमार्कलाई उपाधिको झन् नजिक लगोस् ।’  उनले त महिनौँ अघि नै आफ्ना साथीहरूलाई पनि डेनमार्कको ‘रेप्लिका’ जर्सी किन्न झक्झक्याएका थिए । अहिले डेनमार्कमा यस्तो जर्सीको अभाव छ । फ्रेडेरिकको सुझावलाई बेलैमा ध्यान नदिएकोमा ३२ वर्षीय आन्द्रेस थकथक मानिरहेका छन् ।  

वास्तवमा राष्ट्रिय टिमले युरोमा देखाएको खेलले डेनमार्कमा एकता र राष्ट्रियताको भावना बलियो बनेको बताइन्छ । अनि एरिक्सन अस्पताल भर्ना भएपछि डेनिस टिम झन् इखालु भएको छ । ‘डेनिस खेलाडी प्रत्येक क्षण आफ्नो टिमका लागि खेलिरहेका छन् । त्यसकारण डेनिस टिम र पूरै डेनमार्कमा गज्जबको माहोल बनेको छ,’ फ्रेडेरिक भन्छन् । 

डेनिस खेलाडीको इखको असली परीक्षा शनिबार राति हुँदैछ । जहाँ उनीहरूले चेक गणतन्त्रको सामना गर्दैछन् । विजयी भए डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । त्यसपछि उनीहरूको भेट इंग्ल्यान्ड वा युक्रेनसँग हुनेछ । यीमध्ये एकलाई हराए, फाइनलको टिकट । क्‍वार्टरफाइनल पुगेर डेनमार्कले एक हदसम्मको सफलता हासिल गरिसकेको छ । तर होयबर्ग भने अहिले नै आफूहरू युरोमा सफल भइसकेको मान्‍न तयार छैनन् । 

२९ वर्षअघि डेनमार्कले युरो जित्दा पिटर स्माइकल गोलरक्षक थिए । अहिले उनकै छोरा कास्पर टिमको गोलपोस्ट सम्हालिरहेका छन् । कास्परबाहेक आन्दे्रस क्रिस्टिेनसन, सिमोन काएर र यानिक भेस्टेगार्ड जस्ता प्रतिभाशाली रक्षकहरूले अहिलेको डेनिस रक्षापंक्तिलाई अभेद्य बनाएका छन् । ‘हामी कसैले पनि आफ्नो जिम्मेवारीलाई हल्कारुपमा लिएका छैनौँ । सबैको लक्ष्य एउटै छ, डेनमार्क र डेनिस नागरिकलाई खुशी बनाउने,’ होयबर्गले भनेका छन् । 

डेनमार्कका लागि वेल्सभन्दा चेक गणतन्त्र कठिन विपक्षी सावित हुनसक्छ । तर डेनिस खेलाडीहरू चेकको चुनौती सामना गर्न तयार रहेको सन्देश दिइरहेका छन् । यस्तोमा उनीहरूलाई आत्मविश्वासी बन्न के ले प्रेरणा दिइरहेको छ ? ‘डेनिस समर्थकहरूले देखाएको स्‍नेहले । अनि हामीले देखेको सपनाले पनि’ २५ वर्षिय मिडफिल्डर होयबर्गको जवाफ छ, ‘ हामी सबैले सानो छँदा देखेको सपना, युरो र विश्वकप जस्ता प्रतियोगितामा डेनमार्कको जर्सी लगाउने त थियो । अहिले हामी त्यही सपना पूरा गरिरहेका छौँ । 

 
 


Author

थप समाचार
x