विचार

समुन्‍नत नेपाल

कुलतग्रस्त खुला सीमा

सूर्यनाथ उपाध्याय |
असार १२, २०७९ आइतबार ६:३९ बजे

लागू औषध दुर्व्यसनी आज विश्वभरि एउटा चुनौती र समस्या बनेको छ । यसले मानव जातिमा गम्भीर समस्या ल्याएको छ । लागू औषधिको सेवन, यसको उत्पादन, बेच–बिखन, ओसार पसारले देशको अर्थ व्यवस्था मात्र हैन, पूरा समाजमा नै नराम्रो असर पारेको छ । 

नेपालसँग इन्डियाको खुला सिमाना जोडिएको छ । खुला रुपमा इन्डियाबाट मानिसहरू कुनै रोकतोक नभई आउजाउ हुँदा निकै समस्या निम्तिएका छन् । तीमध्ये एउटा समस्या लागू औषधिको ओसारपसार पनि हो । खुला सिमानामा निश्चित गरिएका नाकाबाट मात्र आफ्नो परिचयपत्र (इन्डियनहरूको हकमा आधार कार्ड र नेपालीहरूको हकमा परिचयपत्र) को रेकर्ड राखेर मात्र सीमामा आउजाउ गर्न पर्ने व्यवस्था नगरी दिँदा अरु खतराहरू बढ्नुसँगै लागू पदार्थ ओसारपसार सजिलो भएको छ । यसले गर्दा लागू पदार्थ ओसारपसार बढिरहेको पनि छ । सजिलै लागू पदार्थ ओसारपसार हुँदा लाखौं युवा दुर्व्यसनमा जाकिएका छन् । 


लागू औषध दुर्व्यसनले गर्दा यस्तासित सम्पर्कमा आएका थुप्रै युवाले समेत उनीहरूकै लहैलहैमा आफ्नो जीवन सही बाटोमा डोर्‍याउन सकिरहेका छैनन् । छोराछोरी दुर्व्यसनमा जाकिँदा बाबुआमालाई तनाव थपिन्छ । स्कुल कलेजमा पढ्ने नेपालको भविष्यलाई उज्यालो बनाउन सक्ने युवा युवतीहरू नै यस्तोमा डुब्दा देशको नयाँ भविष्य नै अँध्यारो हुने भएको छ । एक त बूढाबूढी झन् त्यसमा भएका छोरा छोरी त्यस्तो कुलतमा पर्दा परिवारमा हुने पिरलाई सजिलै अडुकल्न सकिन्न । यस्तो अवस्था बेहोर्नु पर्नेलाई नै थाहा होला कस्तो नारकीय जीवनमा त्यो परिवार हुन्छ ? यो कल्पनाभन्दा पर छ । यसले समाजमा आर्थिक सामाजिक र अपराधजन्य क्रियाकलाप भै सारा समाजमा थुप्रै समस्याहरू उत्पन्न हुन पुग्छन् । 

प्रहरीले निगरानीका लागि काठमाडौंलगायत देशका विभिन्न ८ स्थानमा लागू औषध नियन्त्रण ब्यूरोका शाखा स्थापना गरेको छ । तीमध्ये ६ वटा इन्डियासँग सीमा जोडिएका स्थानमा (महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, पोखरा, बिराटनगर, काँकडभित्ता र सुर्खेतमा) ब्युरो छन् । यी सीमा नजिक राख्नु परेको पनि खुला सीमाकै कारण हो । तर माथि उल्लेख गरिएजस्तो आवत जावतलाई नियमन गर्न नगरिँदा  वर्तमान व्यवस्थाले कुनै काम गर्न सकेको छैन । यस्तो व्यवस्था देखाउनका लागि मात्र भएको छ । लागू औषध ओसार पसार मात्र हैन, कतिपय युवाहरू सीमा पारी गएर लागू औषध सेवन गरी फर्कने पनि गर्ने गरेका छन् । त्यस्ता युवाहरूलाई इन्डियामा रहेका व्यापारीले सजिलै पासोमा पारेका छन् । लागू औषधहरू र त्यसमा पनि मानसिक रुपमा उडाउने सिन्थेटिक लागू औषधहरूको आयतन सानो र शरीरका विभिन्न भागमा सजिलै लुकाएर वा अरु सामानहरूमा सजिलै टाँसेर वा मिसाएर ल्याउन सकिने भएकोले लागू पदार्थको ओसारपसारको अवस्था अझ डरलाग्दो भएको छ । 

मुख्यगरी इन्डियाको बाटो गरेर विभिन्न मुलुकबाट नेपालमा लागू पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको छ । खुला सीमाले इन्डियाबाट लागू पदार्थ नेपाल भित्र्याउन अधिकतम दुरुत्साहन पाएको छ । 

नेपाल सरकारले गरेको लागू औषधको सर्वेक्षण २०६९ र २०७६ अनुसार वार्षिक करिब ५.६ प्रतिशतले लागू औषध उपभोत्ताकोे वृद्धि भैरहेको छ । लागू पदार्थ दुर्व्यसनको पासोमा परेका यसको कुलतमा जाकिन लागेकाहरूको यकिन तथ्यांक छैन । प्रहरीको अनुमान अनुसार कूल १ लाख ५० हजारको हाराहारीमा दुर्व्यसनी रहेका छन् । महिला, बालबालिका विरुद्ध हुने घरेलु हिंसा लगायतका चोरी, लुटपाट, आगजनी, तोडफोड, अपहरण, कर्तव्यज्यान जस्ता जघन्य अपराधको मूलजरो पनि लागू औषध नै रहेको तथ्यंले देखाउँछ ।

२०७६ देखि २०७७ असारसम्म ४ हजार ५ सय ५४ जना दुर्व्यसनी पक्राउ परेका छन् । यीबाट प्रहरीले लागू पदार्थ दुर्व्यसनले प्रयोग गर्ने बुप्रेनोर्फिक, डाइजेपाम, कोरेक्स, ट्याबलेट, आदि बरामद गर्ने गरेको छ । 

गृह मन्त्रालयको एक सर्वेक्षणले नेपालमा लागू औषध प्रयोगकर्ता १,३०,४२४ जना भएको उल्लेख गरेकोछ । तीमध्ये पुरुष १,२१,६९२ जना र महिला ८,७३२ जना देखिन्छ । अन्तर्राष्ट्रिय लागू पदार्थका संगठित गिरोह (Drug Mafia)  अवैध कारोवारका पारवहन विन्दुको रुपमा नेपालको भूमि प्रयोग गरिरहेको र भविष्यमा अझ बढी प्रयोग गर्न सक्ने सम्भावना प्रवल देखिन्छ । सजिलै पाइने थोरै पैसा पर्ने, लामो समयसम्म लठ्याउने भएकोले लागू औषधको दुव्र्यसन बढ्दै गएको देखिएको छ । 

नेपालमा लागू औषधको अवैध ओसारपसारमा संलग्न संगठित गिरोहको गतिविधि सीमा क्षेत्र विशेषतः इन्डियासँगको खुला सीमाले गर्दा बढ्दै गएको छ । नेपाल हुँदै अन्य मुलुकमा अवैध ओसारपसार हुने हेरोइन स्थलमार्ग र हवाई मार्ग हुँदै नेपाल भित्रिने गरेको छ । 

नेपालमा लागू औषध पैठारी गर्ने र नेपालमा बेच्नेमाथि सालिन्दा ३÷४ हजार मानिसमाथि मुद्दा दर्ता गरिन्छ । यीमध्ये धेरै जसो इन्डियन नागरिक नै हुन्छन् । यी त भए पक्राउ पर्नेहरू, अझ पक्राउ नपर्ने खुला सीमाबाट कुनै रोकतोक नभई लागू औषध आफूसँग वोकेर ल्याउनेको संख्या त कति छ कति । लागू औषधको दुव्र्यसन तथा अवैध ओसार–पसार पक्कै पनि बहुपक्षीय सरोकारको विषय हो । यो समस्या सामूहिक बन्दै गएको छ पनि । संसारभरि थुप्रै देशहरूमा यो समस्या विकराल हुँदै गएको छ । यसको पछाडि ठूलै डफ्फा भएको र कताकता यो कारोबार राजनीतिक व्यक्तिहरूसित पनि जोडिएको विभिन्न देशको अनुभवले देखाएको छ । यो कारोबार उनीहरूका लागि आर्थिक स्रोत भएको छ । नेपालमा सन् १९६० को दशकदेखि हिप्पी संस्कृति आएसँगै लागू औषध दुव्र्यसनी समस्या भित्रिएको पाइन्छ । यो समस्या दिनदिनै जटिल बन्दै गएको देखिन्छ । सुरुमा लागू औषधको दुरुपयोग, ओसारपसार केही अफिमजन्य खोकी औषधी र मनलाई उचाल्ने औषधी (Psychotropic Medicines) मा मात्र सीमित थियो । सन् १९९० को दशक सुरु भएपछि लागू तथा मनलाई उचाल्ने औषधि (Narotic and Psychotropic Medicine)  को दुरुपयोग युवायुवतीमा बढ्दै गएको पाइन्छ । 

यी लागू औषधिले हाम्रो युवायुवतीलाई यसरी पासोमा जाक्ने भएको र यसको मुख्य कारण नेपालसितको इन्डियाको सर्वाङ्ग खुला सिमाना नै भएको छ । यसमा सरकार तत्काल सक्रिय भएर खुला सीमालाई माथि उल्लेख गरे बमोजिम नियमन गर्नुपर्छ । त्यसो गर्न हामीलाई कसैले रोक्न सक्दैन । इन्डियासित भएका कुनै पनि सन्धिले हामीलाई रोक्दैन । हाम्रो आत्मविश्वास मात्र चाहिन्छ । त्यसो नगरी हामी दच्की रहने हो भने यो देशको कुनै भविष्य हुँदैन । सरकारमा बस्नेहरूमा दच्किने प्रवृत्ति भएकोले अब जनता नै जागृत भएर अग्रसर हुनपर्नेछ । हाम्रो सीमामा रहेका गाउँ र नगरपालिकाले अग्रसरता लिनपर्ने देखिन्छ । हाम्रो सीमा अहिलेसम्म जोगाएका यिनै सीमावासीले हुन् । सीमामा भएका बस्तीका जनताले प्रत्यक्षरुपमा दुर्व्यवहार कहर, सास्ती बोकी रहेका छन् । त्यसैले भारतसित सीमामा जोडिएका हाम्रा स्थानीय जनता र सरकारले केन्द्रमा रहेको सरकारलाई दबाब दिई माथि उल्लेख गरिएअनुसार सीमामा परिचय पत्र भएकालाई मात्र उनीहरूको आवत जावतको रेकर्ड राखी जाँच गरेर मात्र नेपाल भित्र पाउने व्यवस्था गर्नु पर्छ । अन्यथा हाम्रो युवा पुस्ता र सम्पूर्ण समाजलाई लागू पदार्थको दुर्व्यसन र त्यसबाट हुने अनेकौं दुष्प्रभावहरूबाट जोगउन सकिन्न । 

*समुन्‍नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ । 

प्रतिक्रियाको लागि [email protected]

समुन्‍नत नेपालका यसअघि प्रकाशित लेखहरू 

- पश्चिम सेती जलस्रोत परियोजना : लाभ–हानि र जोखिम

-  वातावरणीय निकायहरूबीच निष्क्रिय समन्वय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : किन र केका लागि ?

भ्रष्ट र कुशासनलाई बढार्न राजनीतिको मूलधारमा सुशासनका एजेन्डा

- के नेपाल जलस्रोतमा विश्वकै धनी हो ?

-  नेपालमा एकीकृत जलस्रोत व्यवस्थापन : सन्दर्भ र चुनौती

हामी कोही सुरक्षित छैनौँ

‘भन्न नहुने कुरा, गाउन नहुने गीत’को गतिमा उद्योग

- जलवायु परिवर्तन र नेपालको अस्तित्वको सवाल

हुलाक टिकटमा नेपालको इतिहास : जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

प्रधानमन्त्री देउवाको भारत भ्रमण : धरमराइरहेका आधारभूत पक्ष

मन्त्रीजीको भ्रष्टाचार चर्तिकला !

संविधानमा रहेका आयोगहरूको उपयोग र औचित्य
    


Author

थप समाचार
x