विचार

नेपाल-अस्ट्रेलिया सम्बन्धका ६१ वर्ष

गोर्खाली सिपाहीहरूले आफूहरूलाई पुर्याएको योगदानको अस्ट्रेलिया सरकार सधैँ स्मरण गर्दछ ।

सन्तोष खडेरी |
फागुन ४, २०७७ मंगलबार १९:३३ बजे

नेपालको प्रमुख आर्थिक साझेदारहरूमध्ये एक, पछिल्लो समय धेरै नेपाली विद्यार्थीका लागि शिक्षाको एक प्रमुख गन्तव्य मानिएको मुलुक अस्ट्रेलियासँग नेपालको सम्बन्ध स्थापना भएको ६ दशक पूरा भएको छ । नेपाल र अस्ट्रेलियाबीचको औपचारिक दौत्य सम्बन्ध ६१ वर्ष मात्र पुरानो भए पनि दुई मुलुकबीचको साइनो भने एक शताब्दीभन्दा पनि लामो छ ।
 
सन् १९१५ मा प्रथम विश्‍वयुद्धको समयमा बेलायती पक्षबाट लडाइँ लड्न पुगेका गोर्खाली सिपाहीहरूले गल्लीपोलीको लडाइँमा अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडेका थिए । त्यसको सम्झनामा प्रत्येक वर्ष २५ अप्रिलमा त्यहाँ हुने विशेष सैन्य परेडमा आज पनि गोर्खालीहरूलाई आमन्त्रण गर्ने गरिन्छ । त्यस्तै, अस्ट्रेलिया सरकारले गोर्खाली सिपाहीहरूले आफूहरूलाई पुर्याएको योगदानको सधैँ स्मरण गर्ने गर्दछन् ।

द्वितीय विश्‍वयुद्धको अन्त्यलगत्तै नेपालका तत्कालीन प्रधानमन्त्री महाराज जुद्ध शमशेरले राजर्षि महाराजको रूप धारण गरी गेरु फेटासहित रिडीतर्फ प्रस्थान गरेपछि पद्म शमशेरले महाराजसहित प्रधानमन्त्रीको पद सम्हाले । वि.सं. १९९० मा नेपालमा आएको विनाशकारी महाभूकम्पपछि तत्कालीन महाराज जुद्धले आन्तरिक र केही भारतीय लगानीसहित नेपालमा औद्योगिकीरणको सुरुवात गरेका थिए । 


नयाँ महाराज पद्‍म शमशेरले मुलुकमा बाह्य लगानी भित्र्याएर औद्योगिकीरणको योजनामा थिए । अमेरिकासँग वाणिज्य तथा मैत्री सन्धि गर्नुलाई पद्‍मको त्यही योजनाको उपज थियो भनी त्यतिबेला उनलाई भेटेका बेलायती, अमेरिकी र भारतीय प्रतिनिधिहरूका दस्तावेजबाट थाह हुन्छ । त्यो योजना कार्यान्वयन गर्नै नपाई सत्ता संघर्षको चेपुवामा परी पद्‍म शमशेरले मुलुक छाड्न बाध्य भए ।

 २३ अप्रिल १९७१ मा क्यान्वेरा विमानस्थलमा नेपालका राजा रानीलाई स्वागत गर्दै अष्ट्रेलियाका तत्कालीन गभर्नर जनरल पल ह्याजलक दम्पती। पृष्ठभूमिमा अष्ट्रेलियाका लागि तत्कालीन नेपाली राजदूत प्रकाशचन्द्र ठाकुर दम्पती।

पद्मपछि महाराज बनेका मोहन शमशेरले समेत मुलुकको विकासका लागि विदेशी लगानी एवं विदेशी सहायता खोजेका थिए । मोहन शमशेरले सत्ता सम्हाल्नासाथ अस्ट्रेलियाली कम्पनीहरूलाई आफूहरूसँग मिलेर नेपालमा उद्योग स्थापना गर्न नेपालले आह्वान गरेको थियो । युद्धको अन्त्यपछि अस्ट्रेलियाले समेत संसारभर आफ्नो मित्रता र व्यापारलाई द्रुत गतिका साथ फैलाउन चाहेको थियो । 

अस्ट्रेलियाको बाह्य व्यापार वाणिज्यसम्बन्धी जानकारी सार्वजनिक हुने त्यहाँको सरकारी म्यागेजिन ‘ओभरसिज ट्रेडिङ’को १९४८ जुनको अंकमा यसबारे उल्लेख छ, जसमा नेपालले आफूसँगको साझेदारीमा नेपालमा सिमेन्ट, कागज, ऊन, कपडा र जलविद्युत् लगायतका क्षेत्रमा अस्ट्रेलियाली कम्पनीहरूले ५० प्रतिशतसम्मको लगानीमा उद्योग स्थापना गर्न नेपाल सरकारले आह्वान गरेको छ भनिएको थियो । साथै त्यसका लागि नेपालले एकजना सत्तारूढ परिवारकै राणा सदस्यलाई विशेष आयुक्तसमेत नियुक्त गरिएको भन्‍ने थियो, यसैलाई थप बल प्रदान गर्ने गरी त्यसको दुई महिनापछि १ अगस्ट १९४८ मा अस्ट्रेलियाको क्यानबेराबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी युपीआईले समेत खबर सम्प्रेषण गरेको थियो । 

त्यसमा समेत नेपालसँगको साझेदारीमा अस्ट्रेलियाली कम्पनीहरूले ५० प्रतिशतसम्म पुँजी लगानी गरी माथि उल्लिखित क्षेत्रहरूमा नेपालमा उद्योग खोल्न नेपाल सरकारले आह्वान गरेको भन्‍ने थियो । अस्ट्रेलियन कम्पनीहरू त्यहाँ पुगेर प्राविधिक सहायता उपलब्ध गराउँदा र नेपालमा अति कम थोरै संख्यामा रहेका शिक्षित जनशक्तिलाई प्रशिक्षण दिई उद्योगका लागि चाहिने दक्ष जनशक्तिसमेत उत्पादन हुन्छन् भन्‍ने थियो ।

भारतीय स्वतन्त्रतापछि राणाकालमा नै भारतमा कूटनैतिक नियोग रहेका विभिन्‍न मुलुकका कूटनैतिक अधिकारीहरूले नेपाल भ्रमण गर्ने गरेका थिए । यसै क्रममा दिल्लीस्थित अस्ट्रेलियाली राजदूत आइभिन गिफार्ड मैके नेपाल आएका थिए, नेपाली भूभागमा पहिलो पाइला टेक्ने अस्ट्रेलियाली नागरिक उनै अस्ट्रेलियन राजदूत रहेका आइभिन गिफार्ड मैके दम्पती हुन्, राजदूत मैके सन् १९४८ को अप्रिल-मे महिनामा भारतमा राजदूत रहँदा नेपाल भ्रमण गरेका थिए, (दी सन सिड्नी अस्ट्रेलिया, १५ जुन १९४८)

                                                       राजा महेन्द्रलाई स्वागत गर्दै प्रधानमन्त्री विलियम मेकम्यान

उनी त्यतिबेला नेपालस्थित ब्रिटिस राजदूतावासमा बसेका थिए । त्यस्तै उनले नेपाल भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री महाराज लगायतका नेपाली अधिकारीहरूसँग भेट गरेका थिए, भारतमा आफ्नो कार्यकालको अन्तिम दिनहरूमा उनी नेपाल गएकाले उनको त्यो भ्रमण भेटघाट र परिचयमूलकभन्दा थप हुन सकेन भनी अनुमान गर्न सकिन्छ, उनीपछिका अर्का अस्ट्रेलियाली राजदूतले भने औपचारिक रूपमा नै नेपालको भ्रमण गरेका थिए ।

सन् १९४९ नोभेम्बर त्यस्तै वि.सं. २००६ मंसिरमा दिल्लीस्थित अस्ट्रेलियाली राजदूत हर्बर्ट रोय पोलिक गालेनले नेपालको भ्रमण गरेका थिए । राजदूत गेलान अस्ट्रेलियाका प्रधानमन्त्री वेन चिफ्लीको शुभकामना सन्देश लिएर नेपालका तत्कालीन प्रधानमन्त्री महाराज मोहन शमशेर जबरासँग भेटवार्ता गर्न नेपाल आएका थिए । उक्त भेटमा नेपाल-अस्ट्रेलियाबीच व्यापार तथा मैत्री सम्बन्धबारे समेत चर्चा भएको थियो । (मोहन शमशेरको शासनकालको संक्षिप्त विवरण, २६ मंसिर २००६ प्रचार विभागद्वारा संगृहीत)

संयुक्त राष्ट्रसंघ सूदुर पूर्वी देशका निम्ति आर्थिक समिति ‘एक्याफे’को तेस्रो अधिवेशन सन् १९४८ को २९ नोभेम्बर देखि ११ डिसेम्बरसम्म अस्ट्रेलियाको ल्याप्सटन सहरमा आयोजना गरिएको थियो । त्यसमा भाग लिन नेपालबाट शिक्षा विभागका तत्कालीन डाइरेक्टर जनरल मृगेन्द्र शमशेर जबरा नेतृत्वको प्रतिनिधि मण्डल अस्ट्रेलिया पुगेको थियो । उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा आधारशिक्षाका डेपुटी सेक्रेटरी तारामानसिंह स्वार र प्रा. साम्वदेव पाण्डे थिए । त्यही अधिवेशनमा नेपालले त्यहाँ एसोसियट सदस्यका रूपमा ‘एक्याफे’मा प्रवेश पाएको थियो । संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिनुभन्दा पहिले नै ‘एक्याफे’मा नेपालको प्रवेश राष्ट्रसंघको कुनै पनि निकायमा नेपालको पहिलो प्रवेश थियो । (दी सिड्नी मोर्निङ हेराल्ड, अस्ट्रेलिया २ डिसेम्बर १९४८)

अस्ट्रेलिया पुगेको त्यही प्रतिनिधिमण्डल न्युजिल्यान्ड सरकारको निमन्त्रणामा त्यति बेलै न्युजिल्यान्डसमेत पुगेको थियो, लडाइँ लड्न त्यस क्षेत्रमा पुगेका गोर्खाली सिपाहीबाहेक न्युजिल्यान्ड र अस्ट्रेलियाको भ्रमण गर्ने प्रथम नेपाली प्रतिनिधिमण्डल त्यही नै थियो, सन् १९४८/४९ तिरै एक अर्काको प्रत्यक्ष सम्पर्कमा पुगिसकेका नेपाल र अस्ट्रेलियाले आपसी रूपमा दौत्य सम्बन्ध स्थापना गर्न भने अर्को १२ वर्ष नै पर्खन पर्यो ।

यता नेपालमा तत्काल राणा शासनको अन्त्य भएको र प्रजातन्त्रपछिको संक्रमणकालीन समयमा नेपालले आफ्नो वैदेशिक सम्बन्धलाई थप परिष्कृत गर्न नसकेकाले त्यतिबेला सम्बन्ध अगाडि बढ्न सकेन भनी मान्‍न सकिन्छ । सन् १९४९ को नोभेम्बर महिनामा नै नेपालको राष्ट्रसंघको सदस्यताको आवेदनलाई स्वीकार गरी नेपाललाई सदस्यता दिलाउनु पर्छ भनी अस्ट्रेलियाले राष्ट्रसंघमा आवाज उठाएर नेपाललाई सघाएको थियो । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, नोभेम्बर १९४९

                      राजाको सम्मानमा अष्ट्रेलिया सरकारले प्रदान गरेको सम्मान 'गार्ड अफ अनर' लिँदै।

अस्ट्रेलियासँग नेपालको औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता अस्ट्रेलियाले नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विभिन्न विधाका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएर अस्ट्रेलियामा तालिम तथा पढ्ने अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा अस्ट्रेलियाले उति बेलैदेखि नै सहयोग गर्दै आएको हो । 

सन् १९५४ मा विभिन्‍न क्षेत्रमा पाँच नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको थियो भने युनेस्कोमार्फत एकजना अस्ट्रेलियाली नागरिकलाई लाइब्रेरियनका रूपमा नेपाल पठाएको थियो । कोलम्बो प्लानको सदस्यको नाताले नेपालले अस्ट्रेलियाबाट सन् १९५८ देखि नै सडक निर्माणका लागि आवश्यक उपकरणदेखि रेडियो उपकरणसम्मको सहयोग प्राप्त गरेको थियो । त्यस्तै त्यो समयमा दिल्लीस्थित अस्ट्रेलियन राजदूतसमेत समय–समयमा नेपाल आउने गरेका थिए । (अस्ट्रेलियाज् पार्ट इन दी कोलोम्बो प्लान प्रोग्रेस रिपोर्ट, १९५८)

अंग्रेज-नेपाल युद्धपछिको सुगौली सन्धिदेखि सन् १९५९ को करिब डेढ शताब्दी लामो समयसम्म नेपालले १० मुलुकसँग मात्र दौत्य सम्बन्ध कायम गरेको थियो । राणाकालको अन्त्य हुँदासम्म बेलायत, अमेरिका, भारत र फ्रान्स गरी चारवटा मुलुकसँग नेपालको सम्बन्ध स्थापना भएको थियो । चीन, शोभियत रुस, जापान, श्रीलंका, इजिप्ट र जर्मनी गरी ६ वटा मुलुकसँग प्रजातान्त्रिक नेपाल (राणा शासनको अन्त्यपछि राजा त्रिभुवनको शासनकालमा कुनै पनि मुलुकसँग वैदेशिक सम्बन्ध स्थापना भएन र सबै ६ वटै राजा महेन्द्रको शासनकालमा भएका हुन्) ले सम्बन्ध स्थापना गरेको थियो । 

सन् १९५९ मे महिनामा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा नेपालमा पहिलोपटक जननिर्वाचित सरकारको गठन भयो । उक्त सरकारले निकै द्रुत गतिमा वैदेशिक सम्बन्ध अगाडि बढायो । फलस्वरूप कोइराला सरकारको १८ महिनाको अवधिमा थप १६ मुलुकसँग सम्बन्ध स्थापना भयो । त्यसै क्रममा १५ फेब्रुअरी १९६० मा नेपाल र अस्ट्रेलियाबीच औपचारिक रूपमा सम्बन्ध स्थापना गर्ने परस्पर सम्झौता भयो ।

सम्बन्ध स्थापनाको करिब ११ दिनपछि सोही २६ फेब्रुअरीमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री रोबर्ट गोर्डन मेन्जिसले दिल्लीस्थित अस्ट्रेलियन राजदूत वाल्टर रसेल क्रकरलाई नेपालमा समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको घोषणा गरे । अस्ट्रेलियाले कोलम्बो प्लानअन्तर्गत नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग दिल्लीस्थित राजदूतले नै समन्वय गर्ने क्रममा नेपालसँग सम्पर्क स्थापित गर्दै आइरहेको समेत जानकारी गराए । 

                                               पार्लिमेन्ट्री लन्च समारोहलाई सम्बोधन गर्दै राजा महेन्द्र

साथै प्रधानमन्त्री मेन्जिसले नेपालका लागि अस्ट्रेलियन राजदूतको नियुक्तिबाट नेपाल र अस्ट्रेलिया दुवै सरकारहरूबीचको सम्बन्धमा थप समन्वय गर्न मद्दत पुर्‍याउने विश्‍वास व्यक्त गर्दै तत्काल काठमाडौँमा आफ्नो नियोग खोल्न आफूहरूलाई आवश्यक नलागेको समेत प्रस्ट पारे । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, फेब्रुअरी १९६०)

अस्ट्रेलियाले नेपालका लागि गैरआवासीय राजदूत नियुक्त गरेको दुई दिनपछि सोही २८ फेब्रुअरीमा यता नेपाल सरकारले समेत नेपाल र अस्ट्रेलिया दुवै मुलुकले एक अर्काको मुलुकमा आफ्ना राजदूतहरू खटाउने छन् भन्‍ने घोषणा गर्यो । (अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसिएट प्रेस, २८ फेब्रुअरी १९६०

३१ अगस्ट सन् १९६० मा भारतका लागि अस्ट्रेलियाली राजदूत रहेका वाल्टर रसेल क्रकरले नेपालका लागि पहिलो गैरआवासीय अस्ट्रेलियाली राजदूतका रूपमा तत्कालीन राजा महेन्द्रसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, अगस्ट १९६०)

अस्ट्रेलियाले नेपालमा तत्कालै राजदूत खटाएको भए पनि नेपालले भने त्यसको ६ वर्षपछि मात्र गैरआवासीय राजदूत खटायो । सन् १९६० सम्म बेलायत, भारत र अमेरिकामा मात्र नेपालको आवासीय दूतावास थियो । सन् १९६५ को जुलाईमा नेपालले जापानमा दूतावास स्थापना गर्यो । जापानका लागि प्रथम आवासीय राजदूतमा नियुक्त भएका भरतराज राजभण्डारीलाई अर्को वर्ष नेपालले अस्ट्रेलियाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी सुम्पियो । 

१६-मार्च १९६६ का दिन अस्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पल ह्याजलक (पछि अस्ट्रेलियाका १७ औँ गभर्नर जनरल कार्यकाल १९६९÷७४) ले अस्ट्रेलियाका लागि नेपालले पहिलो राजदूतमा भरतराज राजभण्डारीलाई नियुक्त गरेको जानकारी गराउँदै नेपालको उक्त निर्णय स्वागत गरे । साथै उनले सन् १९६० मा दौत्य सम्बन्ध स्थापनापछि दुवै मुलुकले परस्पर रूपमा राजदूत खटाउने निर्णय गरेकामा नेपालका तर्फबाट अहिले भएको बताए । (करेन्ट नोट्स अन इन्टरनेसनल अफेयर्स, मार्च १९६६)

३० मार्च १९६६ का दिन अस्ट्रेलियाका नवनियुक्त नेपाली राजदूत भरतराज राजभण्डारीले अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल रिचर्ड केसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे, (दी क्यानबेरा टाइम्स, ३१ मार्च १९६६)

           अष्ट्रेलिया भ्रमणको क्रममा त्यहाँ अध्यय र प्रशिक्षणका लागि पुगेका नेपाली प्रशिक्षार्थी बिद्यार्थीहरुका साथ राजा महेन्द्र

अस्ट्रेलियाले नेपालको कृषि, पशुपक्षी, वनजंगल, परराष्ट्रसेवा, चिकित्सा, जहाज, इन्जिनियरिङ, रेडियो लगायतका क्षेत्रका जनशक्तिलाई तालिम तथा पढाइको सहयोग निरन्तर रूपमा उपलब्ध गराउँदै आएको थियो । यसै क्रममा अस्ट्रेलियाले यी क्षेत्रमा नेपाली जनशक्तिलाई प्रशिक्षणका लागि भन्दै समय समयमा विभिन्‍न अस्ट्रेलियाली प्राविधिकहरूलाई समेत नेपाल पठाएर प्रशिक्षित गर्दै आएको थियो, सन् १९६६ अक्टोबरमा नेपालमा फरेस्टरहरूको सहयोगसमेत उपलब्ध गराएको थियो । (दी क्यानबेरा टाइम्स, ११ अक्टोबर १९६६)

सन् १९७० को फेब्रुअरी २७ नेपालका तत्कालीन युवराज वीरेन्द्रको शुभविवाह आयोजना भयो । युवराजको विवाह समारोहमा भाग लिन अस्ट्रेलियालाई समेत निमन्त्रणा पठाइएको थियो । उक्त समारोहमा गभर्नर जनरलको प्रतिनिधिका रूपमा पूर्वगभर्नर जनरल रिचर्ड केसीले सहभागिता जनाएका थिए । अस्ट्रेलियाका तत्कालीन परराष्ट्र मन्त्री विलियम मेकम्यान (पछि अस्ट्रेलियाका २० औँ प्रधानमन्त्री कार्यकाल १९७१–७२) ले ३० जनवरीमा रिचर्ड केसी नेपाल जाने बताएका थिए । (दी क्यानबेरा टाइम्स, ३१ जनवरी १९७०)

सोही वर्षको अप्रिल महिनामा अस्ट्रेलियाको क्यानबेरामा ‘चौथो एसियाली न्यायिक सम्मेलन’ सम्पन्‍न भएको थियो, उक्त सम्मेलनमा भाग लिन नेपालका तर्फबाट तत्कालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंह क्यानबेरा पुगेका थिए । (दी क्यानबेरा टाइम्स, ९ अप्रिल १९७०)

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी राजदूत भरतराज राजभण्डारी नेपाल फर्किएपछि उनले परराष्ट्र सचिवको जिम्मेवारी सम्हाले । राजभण्डारी अर्को वर्ष सम्पन्न राजा महेन्द्रको राजकीय भ्रमणका क्रममा परराष्ट्र सचिवका हैसियतले भ्रमण टोलीमा सहभागी थिए । राजभण्डारीपछि नयाँ राजदूतका रूपमा प्रकाशचन्द्र ठाकुर नियुक्त भए, (ठाकुर बर्माबाट राणाकालमा नै नेपाल आएर राणा परिवारसँग विवाह गरी मोहन शमशेरको पालामा बर्मामा पहिलो कनसलेट जनरल नियुक्त भएर नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।) २३ सेप्टेम्बर १९७० मा नवनियुक्त राजदूत ठाकुरले अस्ट्रेलियाका लागि गैरआवासीय नेपाली राजदूतका रूपमा त्यहाँका तत्कालीन गभर्नर पल ह्याजलकसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९७०)

                                     अष्ट्रेलियाका लागि दोश्रो गैरआवासीय नेपाली राजदूत प्रकाशचन्द्र ठाकुर

सन् १९७१ अप्रिल र मे महिनामा राजा महेन्द्रले चार हप्ता लामो अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण पूर्वी एसियाको भ्रमण गरेका थिए, २ अप्रिलका दिन अस्ट्रेलियाली प्रधानमन्त्री कार्यालयले नेपालका राजा महेन्द्र अस्ट्रेलियाली गभर्नर जनरल पल ह्याजलकको निमन्त्रणामा २३-३० अप्रिलसम्म अस्ट्रेलियाको साताव्यापी लामो राजकीय भ्रमणमा अस्ट्रेलिया आउन लागेको जानकारी सार्वजनिक गरेको थियो । (दी क्यानबेरा टाइम्स, ३ अप्रिल १९७१)

१९ अप्रिलका दिन रानी रत्न, परराष्ट्रमन्त्री गेहेन्द्रबहादुर राजभण्डारी लगायतका अन्य नेपाली अधिकारीहरूसहित राजा महेन्द्र काठमाडौँबाट अस्ट्रेलिया र न्युजिल्यान्डका लागि प्रस्थान गरे । उनी अस्ट्रेलिया जाँदा बाटो पारेर थाइल्यान्डको बैंकक र फिलिपिन्सको मनिलासम्म पुगे । मनिलाबाट २३ अप्रिलका दिन राजा महेन्द्र पहिले सिड्नी पुगे । सिड्नीबाट सोही दिन उनी अस्ट्रेलियाको राजधानी क्यानबेरा ओर्लिए । त्यहाँको विमानस्थलमा नेपालका राजा रानीलाई स्वागत गर्न अस्ट्रेलियाका गभर्नर जनरल पल ह्याजलक आफ्नी पत्नीसहित स्वयं विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्री मेकम्यान भने त्यसै समयमा आकस्मिक रूपमा सदनको सामना गर्नुपर्ने भएपछि विमानस्थलमा राजालाई स्वागतका लागि उपस्थित हुन सकेनन् । प्रधानमन्त्री पत्नी श्रीमती मेकम्यान भने उपस्थित थिइन् । त्यस्तै शिक्षा एवं विज्ञानमन्त्री फेयर बायर्नसमेत उपस्थित थिए । क्यानबेरामा राजा गभर्नर जनरलको अतिथिका रूपमा गभर्मेन्ट हाउसमा नै बसेका थिए । सोही दिन अपराह्न राजा महेन्द्रको सम्मानमा कमनवेल्थ पार्लिमेन्ट हाउसमा गभर्नर जनरलले प्रदान गरेको दिवाभोजमा विमानस्थलमा उपस्थित हुन नसकेका प्रधानमन्त्री विलियम मेकम्यान समेत उपस्थित भए । (दी क्यानबेरा टाइम्स, २४ अप्रिल १९७०)

त्यहाँका मन्त्रिपरिषद् सदस्यहरू, सांसदहरूसहित त्यहाँस्थित कूटनैतिक नियोगका पदाधिकारीहरूसमेत उपस्थित दिवाभोजमा अस्ट्रेलियाका प्रधानमन्त्री र नेपालका राजा दुवैले सम्बोधन गरेका थिए । त्यहाँका प्रधानमन्त्रीले नेपालका राजपरिवारको पहिलो अस्ट्रेलिया भ्रमण भएको उल्लेख गर्दै आफ्नो मुलुकमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । साथै उनले प्रथम विश्‍वयुद्धका दौरान गल्लीपोलीको लडाइँमा जनरल मोनासको नेतृत्वमा रहेको अस्ट्रेलियाली सेनाको चौथो ब्रिगेडमा गोर्खाली सिपाहीले पुर्याएको योगदानको स्मरण गरे । 

साथै उनले गोर्खाली सिपाहीको बहादुरीलाई आफूहरूले कहिल्यै नभुल्ने बताउँदै आफूहरूलाई अप्ठ्यारो परिस्थितिमा गोर्खाली सिपाहीले गरेको महत्वपूर्ण योगदानसमेत नभुल्ने बताए । कोलम्बो प्लानअन्तर्गत आफूहरूले नेपाललाई गरिरहेको सहयोगको समेत चर्चा गरे । राजाले आतिथ्य सत्कार र कोलम्बो प्लानअन्तर्गत नेपाललाई गरेको सहयोगप्रति धन्यवादज्ञापन गरे । राजा महेन्द्र २५ अप्रिलको बिहान क्यानबेराबाट ब्रिसबेनका लागि प्रस्थान गरे । 

                                     अष्ट्रेलियामा रेडियो सम्बन्धि तालिमका लागि त्यहाँ पुगेका एक प्रशिक्षार्थी रेडियोकर्मी

गभर्नर जनरल आफैँ उपस्थित भएर क्यानबेराबाट राजालाई बिदाइ गरे । ब्रिसबेनबाट राजा मेलबर्नतर्फ प्रस्थान गरे । मेलबर्नबाट पुनः सिड्नी पुगे । ३० अप्रिलका दिन राजाले साताव्यापी आफ्नो अस्ट्रेलियामा भ्रमण सिड्नीमा पुगेर सम्पन्न गरे । सिड्नीबाट उनी न्युजिल्यान्डका लागि उडे त्यहाँ राजालाई बिदाइ गर्न गभर्नर जनरल आफैँ उपस्थित भएका थिए ।

राजा महेन्द्रको अस्ट्रेलिया भ्रमण हुनु केही महिना अगाडि मात्रै फेब्रुअरी १९७१ मा अस्ट्रेलियाले आफ्नो वैदेशिक सहायताअन्तर्गत अन्य मुलुकसहित नेपाललाई समेत दुईवटा डिसी तीन विमान दिने घोषणा गरेको थियो, अस्ट्रेलियाले सहायता प्रदान गर्ने भनेपछि नेपालले आन्तरिक उडानका लागि नेपाल एअरलाइन्समार्फत सञ्‍चालन गर्ने गरी २८ सिटे दुइटा साना विमानको माग गरेको थियो । (दी एज, १५ फेब्रुअरी १९७१) सोही १ सेप्टेम्बरमा नेपालका लागि अस्ट्रेलियन राजदूत प्याट्रिक सले ती दुई विमान नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । (न्यु नेसन सिंगापुर २ सेप्टेम्बर १९७१)

ती विमान वैदेशिक सहायताअन्तर्गत अस्ट्रेलियाले नेपाललाई प्रदान गरेको भनिएको भए पनि पूर्ण सहायता थियो वा आंशिक थियो भन्‍नेबारे भने ती समाचारबाट थाहा हुँदैन । अस्ट्रेलिया भ्रमणबाट फर्केको एक वर्षभित्र नै राजा महेन्द्रको निधन भयो र नयाँ राजाका रूपमा वीरेन्द्रले सत्ता सम्हाले ।

प्रकाशचन्द्र ठाकुर जापान र अस्ट्रेलियाको राजदूतबाट नेपाल फर्किएपछि उनी परराष्ट्र सेवाबाट बर्खास्त भए । नयाँ राजदूतका रूपमा यादवप्रसाद पन्तको नियुक्ति भयो, २९ नोभेम्बर १९७४ मा नवनियुक्त राजदूत पन्तले त्यहाँका तत्कालीन गभर्नर जनरल जोन केरसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (दी क्यानबेरा टाइम्स, ३० नोभेम्बर १९७४) 
२४ फेब्रुअरी १९७५ का दिन नयाँ राजा वीरेन्द्रको राज्याभिषेक समारोह तोकियो । संसारको एकमात्र हिन्दू अधिराज्य नेपाल र त्यसका एकमात्र हिन्दु राजाको राज्याभिषेक समारोहमा संसारभरका ७० भन्दा बढी मुलुकका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । यसै क्रममा अस्ट्रेलियाका गभर्नर जनरललाई समेत आमन्त्रण गरिएको थियो । यसपटक राज्याभिषेक समारोहमा गभर्नर जनरल आफैँ उपस्थित थिए ।

२० फेब्रुअरीमा अस्ट्रेलियाबाट इन्डोनेसियाको बाली हुँदै नेपाल प्रस्थान गरेका अस्ट्रेलियन गभर्नर जनरल जोन केर सोही रात बालीमा बिताएर अर्को दिन २१ फेब्रुअरीमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए, बहालवाला अस्ट्रेलियन गभर्नर जनरल नेपाल आएको हालसम्म त्यो नै पहिलो र अन्तिम घटना हो ।

गभर्नर जनरललाई विमानस्थलमा स्वागत गर्न राजा वीरेन्द्र, प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, प्रधानन्यायाधीश रत्नबहादुर विष्ट, परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय पञ्‍चायतका अध्यक्ष नवराज सुवेदीसमेत उपस्थित थिए । २३ फेब्रुअरीमा उनको र राजाको भेटवार्ता भयो । २६ फेब्रुअरीमा फूलचोकीमा कोलम्बो प्लानअन्तर्गत निर्माणाधीन नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘फ्रिक्वेन्सी रिपिटर प्रोजेक्ट’को अवलोकन गर्न फूलचोकी पुगे । २७ फेब्रुअरीका दिन नेपाल भ्रमण अन्त्य गरी दक्षिण एसियाली अन्य मुलुकको भ्रमणका लागि उनी दिल्ली फर्किए । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९७५)

                                                            नेपालका लागि पहिलो अष्ट्रेलियन आवासीय राजदूत डायान जोन्स्ट

सन् १९७५ जुलाई महिनामा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र अधिराजकुमारी कोमलले निजी रूपमा दुई हप्ता लामो अस्ट्रेलिया भ्रमण गरे । उनीहरूका साथ शाही परिवारका सदस्य एवं ज्ञानेन्द्रका काका अधिराजकुमार हिमालयविक्रम र उनकी पत्‍नी प्रिन्सेप शाहसमेत थिए । उनीहरूका साथमा राजदूत यादवप्रसाद पन्त समेत सहभागी थिए । २८ जुलाईका दिन सिड्नीमा ओर्लिएका ज्ञानेन्द्रको टोलीको निजी भ्रमण भए पनि क्यानबेरामा उनीहरूले गभर्नर जनरलको आतिथ्य समेत प्राप्त गरे । ३ अगस्टमा गभर्मेन्ट हाउसमा तत्कालीन गभर्नर जनरल जोन केरसँग भेटवार्ता गरे, गभर्नरले उनीहरूको सम्मानमा भोजको आयोजनासमेत गरे । ज्ञानेन्द्रले दुई हप्ते भ्रमणका क्रममा दक्षिणी अस्ट्रेलियाका वन्यजन्तु आरक्षण केन्द्र, कृषि विश्‍वविद्यालयहरूलगायतको भ्रमण गरे । (दी क्यानबेरा टाइम्स, २८ जुलाई र ४ अगस्ट १९७५)

यादवप्रसाद पन्तको कार्यकाल सकिएपछि अस्ट्रेलियाका लागि नयाँ राजदूतमा योजना आयोगका उपाध्यक्ष रहिसकेका डा. बद्रीप्रसाद श्रेष्ठको नियुक्ति भयो । उनै राजदूत श्रेष्ठले सन् १९८१ को २ अप्रिलमा क्यानबेरामा रहेको गभर्मेन्ट हाउसमा पुगेर त्यहाँका तत्कालीन गभर्नर जनरल जेलमेन कोवेनसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे । (दी क्यानबेरा टाइम्स, ३ अप्रिल १९८१)

सन् १९८४ को अप्रिलमा अस्ट्रेलियाले नेपालमा आवासीय दूतावास स्थापना गर्यो । नेपालमा आवासीय दूतावास स्थापना गर्ने घोषणा सोही १४ मार्चमा तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले गरेका थिए । हेडनले आगामी अप्रिलमा अस्ट्रेलियाले नेपालमा दूतावास स्थापना गर्ने बताएका थिए । उनले काठमाडौँमा दूतावास स्थापनाबाट अस्ट्रेलिया र नेपालबीच थप सौहार्द र घनिष्ठ सम्बन्ध कायम रहने, नेपाल भ्रमणमा जाने अस्ट्रेलियाली नागरिकको संख्यामा लगातार वृद्धि भइरहेकाले उनीहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन त्यस्तै अस्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको २.६ मिलियन अस्ट्रेलियन डलरको सहयोगको परिचालनमा प्रभावकारी साबित हुने विश्‍वास व्यक्त गरेका थिए ।

अप्रिलमा दूतावास स्थापना भइसकेपछि दिल्लीस्थित अस्ट्रेलियन राजदूत ग्राहम बर्टन फिक्सले सोही ३० नोभेम्बरमा नेपालका राजा वीरेन्द्रसमक्ष गैरआवासीय राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र बुझाए । दिल्लीस्थित अस्ट्रेलियन राजदूतले दिल्लीबाट नै नेपाल हेर्ने गर्थे त्यस्तै नेपालमा खोलिएको दूतावासको जिम्मेवारी भने ‘चार्ज डे अफेयर्स’लाई सुम्पेको थियो । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९८४)

                                                                ०२-सेप्टेम्बर-१९८५ मा अष्ट्रेलिया भ्रमणका क्रममा राजा बिरेन्द्र

सन् १९८४ ताका आज जस्तो नेपालीहरू अस्ट्रेलिया जाने चलन थिएन । त्यतिबेला कोलम्बो प्लानअन्तर्गत मात्र नेपाली विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गर्थे । पर्यटनका रूपमा विकसित हुँदै गरेको नेपालमा भने त्यतिबेला बर्सेनि करिब ५ हजार अस्ट्रेलियन नागरिक नेपाल भ्रमणमा आउँथे । अस्ट्रेलियाले नेपालमा दूतावास खोल्नुभन्दा अघि नेपाल आउने अस्ट्रेलियन नागरिकहरूलाई नेपालस्थित ब्रिटिस दूतावासले कमलवेल्थ राष्ट्रको सदस्यका रूपमा उनीहरूलाई कन्सुलेर सेवा दिन्थ्यो । सन् १९८५ को मे महिनाको दोस्रो साता अस्ट्रेलियाका तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले नेपालको दुई दिने भ्रमण गरे । 

अस्ट्रेलियाका बहालवाला परराष्ट्रमन्त्रीले गरेको पहिलो भ्रमण थियो त्यो । सोही वर्षको सेप्टेम्बर १-८ सम्म अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल निनियन स्टिफेनको निमन्त्रणामा नेपालका राजा वीरेन्द्रको साताव्यापी लामो राजकीय भ्रमण सम्पन्न भएको थियो । आफ्नो अस्ट्रेलियाको भ्रमण हुनुभन्दा ५० दिन पहिले मात्रै नारायणप्रसाद अर्जेललाई राजाले अस्ट्रेलियाको नयाँ राजदूतमा नियुक्त गरेका थिए । अर्जेलले सोही २१ अगस्टमा ओहोदाको प्रमाणपत्र पेस गरेका थिए, १ अगस्ट १९८५ मा काठमाडौँबाट नेपालले राजाको भ्रमण हुन लागेको जानकारी गराएको थियो । 

त्यस्तै उता अस्ट्रेलियाबाट ८ अगस्टमा अस्ट्रेलियन प्रधानमन्त्री कार्यालयले नेपालको राजाको भ्रमण हुने जानकारी गराएका थियो । राजा वीरेन्द्र अस्ट्रेलिया भ्रमणका लागि ३० अगस्टमा काठमाडौँबाट ब्रुनाई हुँदै त्यता प्रस्थान गरेका थिए । अस्ट्रेलिया उड्नुपूर्व राजाको शाही वक्तव्यमा अन्तर्राष्ट्रिय शान्ति र न्यायको क्षेत्रमा अस्ट्रेलियाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

१ सेप्टेम्बरमा पुगेका उनी त्यसको अर्को दिन २ सेप्टेम्बरमा राजधानी क्यानबेरा ओर्लिए । राजाको भ्रमण दलमा रानी ऐश्‍वर्य, अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी, कुमार खड्गविक्रम शाह, परराष्ट्रमन्त्री रणधीर सुब्बा, राजदरबारका सचिव नारायणप्रसाद श्रेष्ठ, राजाका संवाद सचिव चीरनशमशेर थापा, परराष्ट्र सचिव विश्‍व प्रधान, राजदूत नारायण प्रसाद अर्जेल र परराष्ट्रका विश्‍वेश्‍वरप्रसाद रिमाल थिए । त्यस दिन राजा गभर्नर जनरलको अतिथिका रूपमा गभर्नर हाउसमा रहे । अर्को दिन ३ सेप्टेम्बरमा प्रधानमन्त्री बब हाकसँग राजाको भेट भयो । सोही दिन बेलुकी राजाको सम्मानमा पार्लिमेन्टी डिनरको आयोजना गरियो ।

त्यहाँ प्रधानमन्त्री, मन्त्रिपरिषद्का अन्य सदस्यहरू, सांसदहरू, त्यहाँस्थित कूटनैतिक नियोगका पदाधिकारीसमेत उपस्थित थिए । राजालाई स्वागत गर्दै प्रधानमन्त्री बबले अस्ट्रेलिया–नेपाल सम्बन्ध, गोर्खाली सेनाले प्रथम विश्‍वयुद्धका समयमा अस्ट्रेलियालाई पुर्याएको मद्दत, अघिल्ला राजा महेन्द्रको अस्ट्रेलिया भ्रमण, अस्ट्रेलियाले नेपालमा स्थापना गरेको दूतावास, हालै मात्रै अस्ट्रेलियाका विदेश मन्त्रीको नेपाल भ्रमणसँगै नेपालमा अस्ट्रेलियाले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा गरे । राजाले समेत आतिथ्यका लागि धन्यवाद व्यक्त गर्दै, नेपाल–अस्ट्रेलिया सम्बन्ध, अस्ट्रेलियाली सहयोगका लागि कृतज्ञता व्यक्त गरे । एक साता अस्ट्रेलियामा रहँदा राजा सिड्नी, क्यानबेरा, ब्रिस्बेन र मेलबर्न लगायतका क्षेत्रको भ्रमण गरे । (दी क्यानबेरा टाइम्स, २-४ सेप्टेम्बर १९८५)

                          अष्ट्रेलिया भ्रमणका क्रममा सिड्नीको चिडियाखाना हेर्न पुगेका राजा बिरेन्द्र र रानी एश्वर्य

राजा वीरेन्द्रको सोही अस्ट्रेलिया भ्रमणसँग नेपाल टेलिभिजन प्रसारणको इतिहाससमेत जोडिएको छ । सन् १९८५ जनवरी ३० मा नेपाल टेलिभिजन स्थापना भएको थियो । सोही १३ अगस्टमा टेलिभिजनले पहिलोपटक परीक्षण प्रसारण सुरु गरेको थियो । त्यतिन्जेलसम्म पनि नेपालमा नेपाल टेलिभिजनको प्रसारण सम्भव हुने–नहुने भन्ने अन्योल कायमै थियो । तर राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमणको क्रममा खिचेको भिडियो स्याटालाइटमार्फत काठमाडौँमा प्रसारण गरिएपछि भने नेपाल टेलिभिजन प्रसारणले साकार रूप लियो । 

२ सेप्टेम्बरमा राजा क्यानबेरामा जहाजबाट ओर्लिएर अस्ट्रेलियाली प्रधानमन्त्री बब हाकले स्वागत गरेको त्यस्तै त्यहाँका उच्चपदस्थ अधिकारीहरूसँग हात मिलाइएको आधा घण्टा लामो भिडियो खिचिएको थियो । काठमाडौँको बलम्बूस्थित स्याटालाइटले रिसिभ गरेपछि काठमाडौँमा वसन्तपुर, गौशाला र रत्‍नपार्क क्षेत्रमा प्रसारण गरिएको थियो, भिडियो खिच्न टेलिभिजनका निर्देशक नीर शाह, पत्रकार दुर्गानाथ शर्मा र क्यामेरामेन श्याम चित्रकार सरकारी टोलीमा नसमेटिए पनि टेलिभिजनमा त्यो दृश्य देखाउने योजनासाथ अस्ट्रेलिया पुगेका थिए । (दी क्यानबेरा टाइम्स ३ सेप्टेम्बर १९८५)

सन् १९८४ मा नेपालमा स्थापना भएको अस्ट्रेलियाली दूतावास त्यसको दुई वर्षपछि सन् १९८६ मा राजदूत स्तरमा स्तरोन्नति गरियो । १९८६ को ४ मेमा त्यहाँका तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनले नेपालस्थित अस्ट्रेलियाली दूतावासका लागि पहिलो आवासीय राजदूत डायान जोन्स्टनलाई नियुक्त गरिएको जानकारी गराए । साथै उनले नेपाल–अस्ट्रेलिया लामो सम्बन्धमा काठमाडौँमा अस्ट्रेलियाली राजदूतको नियुक्तिबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ हुने विश्‍वास व्यक्त गरे । नेपालका लागि नवनियुक्त अस्ट्रेलियाली राजदूत डायन अस्ट्रेलियाकी छैटौँ महिला राजदूत थिइन् । पहिलो आवासीय राजदूत डायान जोन्स्टन जसले १८ जुलाई १९८६ मा नेपालका राजा वीरेन्द्रसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरिन् । (अस्ट्रेलियन फरेन अफेयर्स रेकर्ड, १९८६)

नेपालका तर्फबाट भने अस्ट्रेलियाको क्यानबेरामा मार्च २००७ मा मात्र नेपाली दूतावास स्थापना भएको हो, जसको औपचारिक उद्घाटन सोही सेप्टेम्बर महिनामा भएको थियो । अस्ट्रेलियाका लागि पहिलो नेपाली आवासीय राजदूत भने योगेन्द्र ढकाल हुन् । नेपाल र अस्ट्रेलियाले सन् २०१० मा सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ त्यस्तै सन् २०२० मा ६० औँ वर्षगाँठ मनाएका थिए । सन् २०१६ नोभेम्बरमा नेपालका तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको अस्ट्रेलिया भ्रमण सम्पन्‍न भएको थियो । सोही भ्रमणका क्रममा उनका समकक्षी अस्ट्रेलियन परराष्ट्रमन्त्रीसँग भेटर्वार्ता भएको थियो । सम्बन्ध स्थापनाको पछिल्लो ६१ वर्षमा दुवै मुलुकका तर्फबाट हालसम्म प्रधानमन्त्री स्तरमा औपचारिक भ्रमण भने हुन सकेको छैन ।

अस्ट्रेलियाले विभिन्‍न क्षेत्रमा नेपालको विकासमा सहयोग पुर्याइरहेको छ, नेपालमा सन् १९८५ मा आएको भूकम्प होस् या सन् २०१५ मा आएको अर्को विनाशकारी भूकम्प होस् ती दुवैमा अस्ट्रेलियाले नेपाललाई महत्वपूर्ण सहायता उपलब्ध गराएको छ । त्यस्तै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने मुलुकमध्ये अस्ट्रेलिया दसौँ स्थानमा छ । अस्ट्रेलियाली नागरिकहरू ठूलो संख्यामा बर्सेनि रूपमा नेपाल भ्रमणमा आउने गर्छन् । पछिल्ला दशकमा अध्ययनका लागि अस्ट्रेलिया पुग्‍ने नेपाली विद्यार्थीहरूको संख्यामा वृद्धि भएसँगै अस्ट्रेलियामा नेपाली समुदायको उपस्थितिसमेत बढ्दै गएको छ ।

र अन्त्यमा, 
नेपालका लागि नवनियुक्त अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कले हिजो १५ फेब्रुअरीमा नेपाल–अस्ट्रेलिया सम्बन्ध ६१औँ वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी छिन् । परराष्ट्रले संयोगका रुपमा यो अवसर जुरेको बताए पनि सम्बन्धमा ख्याल गरेको भन्‍ने सकारात्मक सन्देश पनि गएको छ ।


सन् १९८५ को मे महिनामा नेपाल भ्रमणमा आएका अष्ट्रेलियाका तत्कालीन परराष्ट्रमन्त्री बिल हेडनको सम्मानमा नेपालका जलश्रोत मन्त्री पशुपतिशमशेर जबराले आयोजना गरेको रात्री भोजमा नेपाली र  अष्ट्रेलियन अधिकारीका साथ हेडन

तस्बिरहरू : सन्तोष खडेरीले संकलन गरेका हुन् ।

खडेरीका यसअघिका लेख :
राजा त्रिभुवनलाई अमेरिकाले भिसा नदिनुको वास्तविकता

पृथ्वी : अपराधभन्दा अभियोग धेरै

त्यसपछि पञ्चायती सरकार बीपीलाई फाँसीमा चढाउने योजनाबाट पछि हट्यो

बाथटबमा अन्तिम सास फेरेका ती कूटनीतिज्ञ

राजा महेन्द्रको चिठी नेहरूलाई : पुस १ प्रकरणपछि तुलसी गिरीको त्यो दिल्ली उडान

खुकुरीभन्दा कर्द लाग्‍ने, राजाभन्दा युवराज जान्‍ने !

नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलको त्यो चीन भ्रमण

नेपालको दुई फिट लामो खुकुरी, अमेरिकाको स्वतन्त्र राष्ट्रको मान्यतापत्र

मानार्थ सैन्य पदवीको इतिहास

इन्डोनेसियामा तैनाथ बेलायती गोर्खा फौजको विरोध


Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार
x