विचार

गुरुज्यूको चउरको फुटबल म्याच

वसन्त लोहनी |
चैत १२, २०७८ १२:२६ बजे

बाजे पद्मनाभसँग लरबर गर्दै हुर्केका वेदप्रसादको अर्को यस्तै लरवर गर्ने व्यक्ति त्यो ठूलो जहान घरमा थिए दाजु फणीन्द्रप्रसाद । उनी १९६६ सालमा जन्मेका । त्यसैले वेदप्रसाद भन्दा ६ वर्ष जेठा । वेदप्रसाद हतारमा थिए पहाडबाट उर्लेर झर्दै गरेको नदी जस्तो । फणीन्द्रप्रसाद शान्त र गम्भीर थिए तलाउ जस्तो । भाइलाई असाध्यै माया गर्थे । सँगै लिएर हिँड्थे पनि । वेदप्रसाद त्यत्तिकै पछ्याउँथे ।

दाजुको आज्ञा पालक । दाजुले भने पछि त्यो अन्तिम हुन्थ्यो उनको लागि । सम्बन्ध राम र लक्ष्मणको जस्तो । त्यति वेलाको सम्बन्ध यसरी नै उद्गम हुन्थ्यो । र, प्रवाहित भएको पनि । दाजुले आफूलाई दाजु मात्र होइन अभिभावक ठान्थे र त्यस्तै भाइले दाजुलाई पिता सरहको आदर दिन्थे, विश्वास गर्थे । यो स्फूर्त हुन्थ्यो त्यति वेला, परिभाषित गर्न पर्दैनथ्यो ।


यो कुराको साक्षी म स्वयम् छु । यस अर्थमा कि मेरो पालामा मैले आफैँले पनि अनुभव गरेको कुरा हो यो । अर्थात्, यो सम्बन्धको गहिराइ । यसको कारक तत्त्व खोज्ने हो भने धेरै कारणहरू भित्र यो बाँधिएको छ । ती सबलाई केलाएर हेर्ने, विश्लेषणगर्ने र व्याख्यागर्ने पट्टि लागेमा अर्को लेख होइन किताब बन्‍न सक्छ । त्यसैले त्यतापट्टि नलागेर यति मात्र भनौँ कि यो सम्बन्ध जति संस्कारगत थियो सायद त्यति नै निर्भरतामुखी । संस्कारभित्र फेरि परिवेश, जीविका, मूल्य, मान्यता आध्यात्मिक चिन्तन र सामाजिक अन्तर सम्बन्धहरू पर्दछन् । हाम्रो छलफलको प्रयोजनको लागि संस्कार भनेको बाबु आमाले हालिदिएको ‘असल मान्छे बन्‍नु पर्दछ’ भन्‍ने समग्रता हो ।

यसलाई बलियो पार्न आध्यात्मिक चिन्तन राम्रोसँग हालिदिएको हुन्थ्यो । यसका लागि विभिन्‍न धार्मिक उदाहरण र कथाहरूको प्रयोग हुन्थ्यो चाहे विष्णु शर्माको पञ्चतन्त्रको होस्, नारायण पण्डितको हितोपदेशको या व्यासको अठार पुराणको । यी सबको मटक हो– परोपकार भनेको असल कर्म गर्नु हो र पाप भनेको अरूलाई पीडा दिनु हो । मृत्युशैय्याबाट लेखेको, होइन, बोलेको कुरा, जुन युगान्तकारी कविता बनेको छ हाम्रो महाकविको, त्यो संस्कारसँग सम्बन्धित छ । उनले यही संस्कार गुमाएको कुरा गरेका छन् जब भन्छन् – 
संस्कार आफ्नो सब नै गुमाए
म शून्यमा शून्य सरी बिलाए

मलाई लाग्छ यो स्वीकारोक्ति बाबुआमाले हालिदिएको संस्कारको त्यो सर्वोच्च चेतनायुक्त अभिव्यक्ति हो जुन श्रीमद्भागवतको १८ अध्यायको ६६ श्लोकमा छ । जसमा भगवान् कृष्णको उद्घोष हुन्छ – 
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज । 
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।।
यसको निचोड हो– म अर्थात् कृष्णमा समाहित होऊ । त्यसपछि मेरो जिम्मा हुन्छ, चिन्ता नगर । 

निर्भरताको कुरा गर्दा यति मात्र भनौ कि त्यति बेला आम नेपाली अभावमा जकडिएका थिए । घरभित्र मिलेर कामगर्नु पर्थ्यो र बाँडेर हुर्किनुपर्थ्यो । सबै लहरै सुत्थे भने सबैले उमेर अनुसार घरको काम गर्थे । यस क्रममा सम्बन्धले जोडिदिएको भावनाहरू मजबुत भएर एक आपसको माया बन्थ्यो जसले गर्दा एकलाई चोट लाग्दा अर्कोलाई दुख्थ्यो ।

यसरी घर मुली, अझ भनौँ पितृसत्तात्मक र आदेशात्मक संरचना बन्यो । म आफैले सम्झन्छु बुबा पछि दाजुको स्थान थियो । बुबाले त्यसरी नै बाटो लगाइदिनुभएको थियो भने म सम्झन्छु मेरी आमाले भनेको यस्तो – आमै! दाजुले भनेको कुरा पनि काट्न हुन्छ कहिले । के गरेको तैँले? वेद प्रसादको र फणीन्द्रप्रसादको त मेरो पुस्ता भन्दा ३५ वर्ष अगाडिको।

हाम्रो मध्यम वर्गीय सामाजिक बनावट, त्यसको चरित्र र त्यसबाट निःसृत हुने घर्षणबाट समग्रमा हेर्दा कतिपय बलियो सम्बन्धहरू मूलतः तिनटा कारणले पछि विभिन्‍न चरणमा रहन सक्छन्– कमजोर, धमिलो, उदासीन र पानी बाराबारको । र, भएका छन् कति घरहरूमा । भोगेका छन् धेरैले । पहिलो कारण हो आर्थिक ।

दोस्रो हो बिहाबारी भएपछिको नयाँ आगमनको धारणा र अधिपत्य जस अन्तर्गत समयको अन्तरालमा सम्बन्धहरू परिभाषित हुँदै जान्छन् । तेस्रो हो सम्वन्धबीचमा, अहिलेको शब्द प्रयोग गर्दा, ‘बिचौलियाहरू’ र तिनीहरूको घुसपैठ र स्वार्थ प्रदत्त भूमिका । यसको मर्म बुझ्नुपर्दा रामायणको मन्थराजस्ता वा त्यसको परिष्कृत स्वरूप भएका पात्रहरूको भूमिका हेर्नु पर्दछ । स्वीकार्नु पर्दछ, प्रभुले गरेको सृष्टि नै एक अर्थमा अपार व्यञ्जना हो।

दुवै कुरो बलियो थियो वेदप्रसाद र फणीन्द्रप्रसादबीच – संस्कार र निर्भरता, जसको स्वरूप थियो एक आपसको अगाध माया । त्यसैले उनी भाइ वेदप्रसादलाई मौका मिलेसम्म सँगै लिएर हिँड्थे । यसरी भाइलाई लिएर डुल्दै जाँदा एक दिन उनी धोबीधारा तिर लागे साथी भेट्न । डिल्लीबजारबाट पुतलीसडक जाँदा ओरालो सकिएपछिको दायाँतर्फको त्यो गल्ली, जहाँ अहिले मोटर जाने बाटुले घर छ, त्यहीबाट त्यो धोबीधाराको गल्ली सुरु हुन्थ्यो ।

अहिले पनि भित्र अलिकति गएपछि गल्ली नै छ कुमारी स्थानसम्म । त्यो गल्लीबाट छिरेर केही हिँडेपछि एउटा सानो तर गड्याङमड्याङ उकालो जहाँबाट गल्ली देब्रे कुमारी स्थानतिर मोडिन्छ । त्यता नलागेर सिधा उकालोको टुप्पोको सानो ढोका भएको घरभित्र छिरे फणीन्द्रप्रसाद । अनि बोलाए अलि ठूलो स्वरमा– लक्ष्मी, ए लक्ष्मी ।

त्यति बेलाको उमेरमा जे दाजुले गर्यो त्यही नै ठीक हो भनेर कपी गर्थे या सिक्थे वेदप्रसाद । तर त्यतिखेर भने बढी दाजुलाई सहयोग गर्न होला उनले झन् ठूलो स्वरमा बोलाए– लक्ष्मी, ए लक्ष्मी । आफूभन्दा अग्लो एउटा केटो आएर वेदप्रसादको नाकमा बुढीऔँला र चोरऔँलाले नाकमा समातेर अलि हल्लाएर भने– ‘मलाई लक्ष्मी भन्‍ने ? म त तिम्रो दाजु । दाजु भन्‍नुपर्दछ । बुझ्यौ ।’ फणीन्द्रप्रसाद रमाएर मुसुमुसु हाँसिरहेका थिए । त्यस दिनदेखि वेदप्रसादले आजीवन आफ्नो दाजु माने उनलाई । मृत्युपर्यन्त त्यो दाजु भाइको सम्बन्धलाई हिफाजत गरे । त्यो केटो थिए फणीन्द्रप्रसादको दरबार स्कूलमा सँगै पढ्ने साथी लक्ष्मीप्रसाद देवकोटा जो पछि महाकवि बने । 

यसपछिका दिनहरूमा वेदप्रसाद हुर्के लक्ष्मीप्रसादसँग पनि सम्मिलित भएर । त्यति वेलाको चलन जुन हाम्रो पालासम्म पनि थियो– ‘कम्बाइन्ड स्टडी’ गर्ने, अर्थात् सँगै मिलेर पढ्ने । लक्ष्मीप्रसाद ज्ञानेश्वको घरमा आइरहन्थे यसरी फणीन्द्रप्रसादसँग मिलेर पढ्न । वेदप्रसाद दाजुसँग लरबर गरिरहेका हुन्थे । दाजुले अराहेको काम तुरुन्त गरिहाल्थे । सँगै सुत्थे पनि रात निकै बित्यो भने । कारण तीनवटा थियो ।

पहिलो निष्पट्ट अध्यारो । वेदप्रसाद जन्मनुभन्दा चार वर्ष अगाडि नै बिजुली बत्ती काठमाडौँभित्र अटाएको नेपालमा सन् १९११ मा फर्पिङबाट उत्पादन भएर आइसकेको हो । सायद एसियाकै तेस्रो थियो त्यो फर्पिङ जलविद्युत् केन्द्र । तर शासकहरूका लागि मात्र थियो बिजुली । जनताका लागि थिएन ।

त्यसैले त्यो अँध्यारोमा घरको अर्को लङतिर जान गाहारो थियो । दोस्रो, चोरको डर । त्यति बेला के कारणले हो चोरको बिगबिगी हुन्थ्यो । आवाज सुनिन्थ्यो छर छिमेकमा राति– चोर ! चोर !! चोर आयो, भनेर कराएको । तेस्रो, त्यति वेला बच्चाहरूमा भूतप्रेतको डर कसरी हो हालिन पुगेको थियो । राति भूत आउँछ भन्‍ने थियो । भूत आएको आफ्नै आँखाले देख्नेहरू पनि हुन्थे ।

वेदप्रसाद त सानै देखि निडर स्वभावका थिए तर राती अरू सुतिसकेपछि फणीन्द्र प्रसाद भाइलाई माया गरेर आफै भन्थे – कृष्ण तँ यही सुत आज । वेद प्रसाद झन् रमाउँथे दाजुसँग सुत्न पाउँदा । यसरी फणीन्द्र प्रसाद जसलाई दादा भन्थे उनी र लक्ष्मी प्रसाद जसलाई दाजु भन्थे, यी दुइको बीचमा सुत्थे वेदप्रसाद । लक्ष्मी प्रसाद त राती अबेरसम्म पढ्ने र सुत्ने जोगाड मिलाएरै आएका हुन्थे । तर उनी दिउसै आउँथे । कारण थियो उनलाई सर्पको असाध्यै डर लाग्थ्यो । त्यति वेला सर्पहरू घुमिरहेका हुन्थे।

दुवै मेधावी विद्यार्थी थिए । त्यसैले पठनपाठनमा तेज । दरबार स्कूलमा पढ्दा दुईचोटी डबल प्रमोशन लिएको प्रसङ्ग वेदप्रसादले यसरी सुनाएका थिएँ – ‘एकचोटी ५ मा डबल प्रमोशन लिँदा दुवैजना दादा र देवकोटाले ७ मा गएको र फेरि ७ बाट पनि त्यसैगरी डबल प्रमोशन लिएर ९ क्लासमा पुगेका हुन् । ९ लाई सेकेन्ड क्लास र १० लाई फर्स्ट क्लास भनिन्थो । हाम्रो दादाले चाहिँ एक लाइन लेखेको मलाई सम्झना छैन रातदिन सँगै बस्दा पनि । तर देवकोटा भने त्यति बेलादेखि नै कविता लेख्ने गर्थे । कापीको पछाडि गुलाफको फूल भनेर लेखेको एउटा कविता भएको त्यो कापी मसँग पछिसम्म पनि थियो । अहिले कहाँ छ थाहा छैन, तर खोज्यो भने पाइन सक्छ ।’

यसरी हुर्किएका वेदप्रसाद घोडा जस्तै साइकल चढ्न पनि पारङ्गत थिए । दादा र दाजुलाई पनि साइकल चढ्न सिकाए । सिक्ने क्रममा एक पटक दादा फणीन्द्रप्रसाद डिल्लीबजारको पीपलबोटको ओरालोमा लडे । उनले त्यसपछि साइकल चढेनन् । तर दाजु लक्ष्मीप्रसादले भने राम्ररी नै सिके र पछिसम्म पनि साइकल चढ्थे ।

वेदप्रसादले लक्ष्मी प्रसादसँगको हृदय विदारक शान्त भवन अस्पतालको त्यो अन्तिम भेट पनि सुनाएका थिए, कता कता चस्स दुखेर रसाएको आँखा लिएर । मैले २० वर्ष अगाडि पुरा लेख नै लेखेको थिए यसबारे त्यतिखेरको कान्तिपुरको आफ्नो नियमित मङ्गलवारको स्तम्भमा, जुन २०५८ साल कार्तिक २८ गते छापिएको थियो । त्यसैबाट एउटा सानो अंश उद्धरण गरेर त्यो दृश्य प्रस्ट्याउन चाहन्छु ।

‘त्यसै भवनको तेस्रो तलाको उत्तर–पश्चिम झ्याल भएको सानो कोठामा रोगले थलिएका तर पनि अनुहारमा धेरै ओज भएका एक ४९ वर्षका व्यक्ति बाँच्नका लागि होइन मर्नका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । वि.सं. २०१६ साल भदौको तेस्रो साताको कुनै दिनको एउटा अपरान्हमा त्यस कोठामा एउटा अधबैंसे व्यक्ति छिर्छन् ।

अनि देख्छन् ओछ्यानमा लम्पसार परेका रोगीलाई र एउटा मेचमा तिनको श्रीमती र अर्कोमा कुनै अपरिचितलाई । आफैं मनमा कुरा गर्छन्, स्नेह र सम्मानको उर्लंदो भाव लिएर । कति चाँडो पछिल्लोपटक देखेकोभन्दा अहिले गलिसक्नु भएछ । सायद त्यो ओछ्यानमा लम्पसार परेका बिरामीले भेट्न गएका यी व्यक्तिका अनुहारमा छचल्किएको यो भाव बुझेर होला आफ्नी श्रीमती र अर्कोलाई बाहिर जान यसरी भन्छन्– ‘म कृष्णसँग एकान्तमा कुरा गर्दछु, तिमीहरू बाहिर जाउ ।’

उनीहरू बाहिर गएपछि आफूनजिकै आउन इसारा गरेर भन्छन् – ‘तिमी साइन्टिफिक म्यान कृष्ण, माइ ब्रदर । तिमीले त कुरा सही ढंगबाट बुझ्छौ । हेर ! मलाई अहिले हजार बिच्छीले टोकेको जस्तो भएको छ । त्यसैले मलाई अहिले मर्न सहयोग गर्ने मान्छेले धेरै पुण्य कमाउन सक्छ । तिमी बुझ यो कुरा । त्यसैले म तिमीसँग एउटा अनुरोध गर्दछु, कृष्ण मलाई सहयोग गर ।’

आँखाभरि आँसु हुन्छ त्यो भेट्न जाने व्यक्तिको जसले त्यो बोलिरहेको बिरामीलाई सानैदेखि देखेको हुन्छ, माया गरेको हुन्छ र आदर गरेको हुन्छ । बिरामी अझ भन्दै गइरहेका हुन्छन्– ‘त्यसैले कृष्ण, तिमीले सबभन्दा धेरै पुण्य गरेको काम हुनेछ यो, मलाई अलिकति पोटासियम साइनाइड खुसुक्क ल्याएर देउन ।’अब यतिबेला भने गहमा आँसु अटाउन सकेन र नाकको डाँडीको ओरालोबाट गालासम्म झर्न थाले । अनि ती बिरामी हेर्न गएका व्यक्तिले अरू केही सुन्‍न सकेनन् र हठात् फर्किए त्यस कोठाबाट दबेको स्वरमा रोएर ।’

नाक समातेर हल्लाएको वेलादेखि पोटासियम साइनाइड मागेको बेलासम्मको लामो अन्तरालमा विताएका रमाइला दिनहरू सम्झिँदै वेदप्रसादले भने– ‘तेहि नो दिवसा गतः ।’ कति रमाइलो थियो, अनि कति सुन्दर बाल्यकाल थियो ती दिनहरूमा । यसो भन्दै एउटा गजपको फुटबल म्याचको कुरा गरे । वेद प्रसाद जन्मेको ६ वर्षपछि नेपालमा फुटबल आएको विश्वास गरिन्छ सन् १९२१ तिर । मूलतः सन् १९१४ देखि १९१८ सम्मको प्रथम विश्व युद्धमा चन्द्र शमशेरले नेपाली सेनालाई होमेपछि दुइटा कुरा भयो । पहिलो हो चन्द्र शमशेरले अकुत सम्पत्ति कमाए त्यसबापत । त्यो उनले बेलायतको बैकमा राखे ।

यसरी जम्मा गरेको मुलुकको ४ करोड १० लाख पाउन्ड उनले आफ्नो छोराहरूका लागि लागि राखे । लामो समय श्री ३ भएकाले प्रत्येक वर्ष सरकार चलाएर बचेको राज्यको आम्दानी उनको निजी भएर आएकै थियो । उनको छोरा भन्‍ने बित्तिकै ५ मा ३ जोड्ने अनि १ जोड्ने भनिन्छ । अर्थात्, जेठीबाट ५ छोरा र कान्छीबाट ३ र भित्रिनीबाट १ । यसरी ९ भयो । तर उनले भित्रिनी पट्टीबाट जन्मेको छैटौँ अर्थात् अन्तरे छोरा बद्री शमशेरलाई भने यो विदेशमा राखेको रकम दिएनन् ।

बद्रीका छोरा प्रह्लाद अमेरिकन लाइब्रेरीमा कामगर्दा टाइप राइटर चोरीमा पक्राउ परेका थिए । तीन पुस्ता लेख्दा होसहवास गुम हुन लागेका हनुमान ढोकाको पुलिसको कलम नै खसेको थियो जब प्रह्लादले चन्द्र शमशेरको नाति के भने । ४ करोड १० लाख पाउन्ड जुन चन्द्र शमशेरले आफ्ना ८ छोराहरू जेठो मोहनदेखि कान्छो मदन सम्मलाई बाँडेर दिए ।

मैले दस वर्ष अगाडि एउटा लेखमा यसरी लेखेको थिए– ‘यो रकम आजको दिनमा हिसाब गर्ने हो भने साढे चार खर्ब हुन्छ ।’ अहिले त यो झन् बढी हुन्छ । वास्तविक अर्थमा भन्‍नुपर्दा यो ठूलो धनराशि गरिब नेपालीको रगत र पसिना थियो । तन्‍नेरीको ज्यान बेचेर आएको थियो । पृथ्वी नारायण शाहको पालामा मुलुकबाट एक पैसा बाहिर लगेर राख्नु ठूलो अपराध ठहरिन्थ्यो ।

राणा शासकको लुट ‘हुकुम सम्मत’ हुन्थ्यो । अहिलेको शासकहरूको चाहिँ ‘कानुन सम्मत’ हुन्छ र गैरकानुनी रूपबाट विदेश गइरहेको छ । यो कुरो पानामा पेपर र प्याराडाइज पेपरहरूले बोलिरहेका छन् । सुन्‍ने को छ र ? अख्तियार छ शासकको नोट कमाउने जपना पूरा गर्न थपना बन्‍नका लागि । त्यसैले ठूलो भ्रष्टाचार जति राजनीतिक मिलेमतोमा कर्मकाण्ड पूरा गरेर तामेलीमा राखिदिन्छ उसले । 

पहिलो विश्व युद्धमा होमिएकाहरू जो बाचेर विकट गाउघरमा आए तिनीहरूले देखे सन्सार भन्‍ने अर्कै रहेछ । यसलाई नै नेपालमा आएको पहिलो ‘एक्सपोजर इफेक्ट’ भन्‍न सकिन्छ । अनि यसको परिणामको रूपमा नेपालमा फुटबल खेलको सुरुवातलाई लिन सकिन्छ । कसरी खेलिन्थ्यो भन्‍ने त्यो बेग्लै कुरा हो । यसबारे गुरुज्यूको चउरको फुटबल म्याचमा पनि हामी हेर्नेछौँ । तर खेलिन्थ्यो गाउँघरतिर पनि । डन्डी बिउ खेलेर हुर्किने ठाउँमा फुटबल आयो । अत्यन्त लोकप्रिय बन्यो।

औपचारिक रूपमा यो खेल नेपालमा सुरुवातगर्ने श्रेय ठमेल नर्सिङ क्याम्पमा खेल आयोजनागर्ने नारायण नर्सिङ राणालाई दिइन्छ । तर मलाइ लाग्छ आफ्नै पाराको खेल त युद्धबाट फर्केकाहरूले विकट गाउँघरमा अगाडि नै पुराइसकेका थिए जति बेला नर्सिङ क्याम्प र राणाका दरबारहरू भित्रको मैदानमा यो खेल विधिवत् खेल्न थालियो । यस्ता मैदान थिए बबर महलभित्र, बहादुर भवनभित्र, सिंह दरबार भित्र ।

कसरी खेल्थे आम नागरिकले त्यति वेला? त्यो वेलाको त के कुरा म सानो छदा मेरो आफ्नो अनुभवको कुरा गर्ने हो भने पनि बारीमा गएर भोगटे टिप्थ्यौ हामी । अनि दौँतरीहरू मिलेर घरको चोकमा त्यो भोगटेलाई बल बनाएर खाली 

खुट्टाले हानेर खेल्थ्यौ । एक पटक भोगटेको बललाई हान्दा चोकमा छापेको इटमा परेर खुटटाको माइली औँलाको नङ खप्लक्क बाहिर निस्केको थियो मेरो आफ्नै । करिब १०० वर्ष अगाडि राणाको दरबार भित्रको मैदानमा स्तरिय खेल हुँदा सर्व साधारणले खेल्ने फुटबल म्याच गुरुज्यूको चउरको जस्तो हुन्थ्यो । यो कथा आफैमा अनौठो छ जुन वेदप्रसादले बताएका थिए ।

फुटबल म्याच हुने अघिल्लो दिनको तयारी नै रोमाञ्चकारी थियो । भोलि म्याच हुदैछ भन्‍ने कुराले नै धेरै खुसी ल्याएको थियो । सबभन्दा रमाइलो वेदप्रसादलाई त त्यो फुटबल बनाउँदाको थियो । अहिलेको हिसाबले सोच्दा फुटबल बनाउने भन्‍ने कुरा नै कल्पनाभन्दा बाहिरको छ ।

दिउँसै लक्ष्मीप्रसाद आइपुग्छन् फुटबल बनाउन । तर काम भने राती मात्र सुरु भयो । त्यतिन्जेल म्याचबारे छलफल मात्र भइरह्यो र जोगाड मिलाउने काम । दादा र दाजु भन्दा बढी रोमाञ्चित भएर वेदप्रसाद फर्याकफुरुक गरिरहेका थिए । उनी त सानो भएकोले खेलाडी हुने कुरै भएन । तर खेलाडीको भन्दा खेल्न नपाउनेको चुरीफुरी बढी त्यो बेला ।

उनीलाई दाजुहरूले अराहेको काम थियो पुरानो काम नलाग्ने कपडा खोजेर ल्याउने । त्यसैमा जुटे एकलव्य भएर । घरको कोठा कोठामा गए खोज्न र मागे भेटेसम्मसँग– पुरानो काम नलाग्‍ने कपडा दिनुस् न, भन्दै । तानिसकेको पुरानो च्यातिएको धोती रोकेर एकले भनिन्– न लैजा त्यो । थाङ्ना बनाउनु पर्दछ । पुराना मोजाहरू अझ आवश्यक थियो । यसरी जम्मा गरे वेदप्रसादले र हतारिँदै पुगे दाजुहरूलाई दिन ।

बेलुका भएपछि बल्ल बल बनाउने काम सुरु भयो । पुराना कपडाहरूलाई सहस्र फाटेका काम नलाग्ने मोजाहरूभित्र कोच्ने र ती सबलाई जोड्ने । टुकीको धमिलो उज्यालोमा यो काम भइरहेको थियो, यति ध्यान र दक्षतासँग कि मानौँ कुनै नौलो आविष्कार हुन लागिरहेको छ । नमिलेका कोचकाच यता थिच्यो उता भुक्क उठ्ने । त्यो मिलायो फेरि अर्कोतिर ।

सबैतिर उस्तै गोलो पार्नु पर्ने हुँदा अलि झन्झट पनि हुँदै गइरहेको थियो । बल्लबल्ल फाइनल सिउने काम भयो बल बनाएर भोलिको म्याचको लागि । घण्टौँको यो मेहनत पछि बल्ल तयार भएको बललाई एकै पटक हेरेर दुवै मुस्कुराउन थाले । काम फत्ते गरेको खुसी थियो त्यहाँ । यसपछि वेदप्रसाद पनि सुते दुवै दाजुहरूको बीचमा । 

फुटबल म्याच हुने ठाउँ– गुर्जुको चउर । यो चउर डिल्लीबजारको राणाकालीन चारखाल अड्डाको पश्चिमपट्टि छ । चारखालको पश्चिमतिरको अहिलेको एकतर्फी बाटोबाट लागेपछि डिल्लीबजारको पुतली सडक जाने मूलबाटोको ओरालोमा जोडिनु अगाडि दाहिने तिरको चउर हो । अहिले चउरको सबैतिर ढोका खोलिएकाले चउर जस्तो नलागेर बाटो नै जस्तो लाग्छ । तर त्यति बेला यो फुटबल खेल्न मिल्ने फराकिलो चउर थियो । त्यहाँ गुरुज्यूको पल्टनले कवाज खेल्थ्यो ।

रणबहादुरको पालामा सन् १७९९ गठन गरिदा यसको नाम शार्दूल जङ्ग थियो । जङ्गबहादुरले गुरुज्यूको घरमा पठाइदिएपछि यसलाई गुरुज्यूको पल्टन भन्‍न थालियो । कालो दौरा सुरुवालमा खुकुरी र बन्दुकले सजिएको यो पल्टन मूलतः खुसी, उत्सव र चाडबाडका लागि थियो । त्यसैले यसले अझै बाजा बजाउँछ खुसियालीको, हाम्रो संस्कृतिको अभिन्‍न अङ्ग भएर । वेदप्रसादको पिता रुद्रप्रसाद यस पल्टनको कप्तान भए पनि औपचारिक समारोहमा मात्र सैनिक पोसाक लगाएर सामेल हुन्थे, दैनिक कवाजमा होइन ।

सन् १९२३ तिरको यो म्याच खेल्न चउरमा खेलाडीहरू जम्मा हुन थाले । फणीन्द्रप्रसाद र लक्ष्मीप्रसादका साथीहरू थिए ती । खेलाडी जस्ता पनि देखिँदैन थिए । आ–आफ्नो घरको जे लुगा छ त्यही लुगामा थिए । कहाँबाट फुटबल खेल्ने बुट पाउनु ? फर्केका सैनिकलाई थाहा भए पनि सायद त्यो थाहा नै थिएन होला त्यति वेला यिनीहरूलाई चाहिँ । सबै खाली खुट्टामा थिए । तर खेलको हौसला भने कुनै ठूलो फुटबल म्याचको भन्दा कम थिएन । हिजो राति बनाएको बल लिएर फणीन्द्रप्रसाद आइसकेका थिए, साथमा भाइ वेदप्रसादलाई लिएर ।

लक्ष्मीप्रसाद धोबीधाराबाट अझ अगाडि नै । प्रत्येक टिमको ११ जना खेलाडी भने दुवैतिर आ–आफ्नो ठाउँमा थिए । रेफ्री पनि थिए सिट्ठी लिएका । खेल सुरु भयो पूरा जोसको साथ । वेदप्रसाद आफ्नो दाजुको टिमलाई जिताउन हल्ला गर्दै थिए । हाफटाइमपछि फेरि खेल सुरु भयो । तर खेल निर्णायक हुन सकेन । कसैले पनि गोल गर्न नसकेर वा गोल बराबर भएर होइन । समय त सकिएकै थिएन । त्यो फुटबल नै फुट्यो । सिएको फुस्किएर या चुँडेर पुराना कपडाहरू त सब बाहिर निस्किए । धेरै लात खाएर हो या उज्यालोमा पारेर हो, ती पुराना कपडाहरू हिजो बेलुकी भन्दा पनि झन् पुराना देखिएका थिए ।

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
ad
x