विश्व

नाकाबन्दीलाई कतारले कुनै भाउ नदिएपछि पछि हट्यो ‘खाडी किङ’

चन्द्रशेखर अधिकारी |
पुस २१, २०७७ मंगलबार २०:४३ बजे

काठमाडौँ : पश्‍चिम एसियामा उदाउँदो शक्ति कतारमाथि साउदी अरेबिया लगायत चार मुलुकले लगाएको प्रतिबन्ध हटेको छ । साउदी अरेबियाले प्रतिबन्ध हटाएको जानकारी दिए पनि अन्य छिमेकी मुलुक इजिप्ट, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहाराइनले भने त्यस्तो घोषणा अझै गरेका छैनन् । समुद्र होइन, जमिन नै जोडिएको मुलुक साउदीले नाकाबन्दी हटाएपछि अन्यले पनि स्वतः नाका खुला गर्ने स्पष्ट छ ।
 
अरब क्षेत्रको सानो मुलुक कतारमाथि छिमेकीहरूले नाकाबन्दी लगाएको साढे तीन वर्षपछि त्यसको नेतृत्व गर्ने मुलुक साउदीले नाकाबन्दी खुला गरेको हो । कुवेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमा-नाका खुलाउने सहमति बनेको जानकारी दिएपछि त्यो नाकाबन्दी खुला भएको जानकारी कतारी नागरिकले पाएका हुन् । 

अन्यथा नाकाबन्दी छ या छैन कुनै कतारी नागरिकलाई त्यति महत्वको विषय बनेको थिएन । आरम्भदेखि नै कतार र साउदी अरेबियाबीचको समस्या समाधानमा भूमिका खेलिरहेको कुवेतले अन्ततः सफलता पाउँदै कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको जानकारी बाहिर ल्याएको हो ।


गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)को सम्मेलनको अघि यस्तो निर्णय लिएको गल्फ न्युजले उल्लेख नै गरेको छ । खाडी राष्ट्रहरूले क्षेत्रीय ‘एकता र स्थायित्व’ लागि सम्झौतामा हस्ताक्षर गरेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पनि मंगलबार अवेर जानकारी दिएको सञ्‍चारमाध्यमहरुले छापेका छन् ।

साउदी नेतृत्वमा इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै सन् २०१७ जुनमा नाकाबन्दी लगाएको थियो । उक्त नाकाबन्दी खोल्न इरानसँग कूटनीतिक सम्बन्ध तोड्नुपर्ने, अलजजिरा बन्द गर्नुपर्ने, टर्कीको सैनिक अखडा बन्द गर्नुपर्ने लगायतका तेह्रबुँदे ‘कठोर सर्त’ समेत राखेको थियो । नाकाबन्दीका कारण कतारले खर्बौं डलरको क्षति व्यहोरे पनि राजनीतिक जीत हासिल मात्र गरेर यो टिकाइले विश्‍वलाई नै चकित पारेको छ ।
 
साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुवेतका विदेशमन्त्रीलाई उधृत गर्दै गल्फ टाइम्सले लेखेको छ । जीसीसीका ती मुलुकले गरेको घेराबन्दीबाट कतारले सिकेर आफू आत्मनिर्भरसमेत बनेको छ । उनीहरूले कतारसँग कूटनीतिक, व्यापार र यातायात सम्पर्कविच्छेद गरेका थिए । सबै आरोपको खण्डन कतारले गर्दै आए पनि उनीहरुले सुनेका थिएनन् । तर, अहिले खाडी किङ साउँदीले नै पछि हटेर सबै सीमानाका सुचारु गरिदिएको छ । यद्यपि कतार सरकारले नाकाबन्दी खुलाउन पहल भने गरिरहेको थियो ।
  
कतारमा नाकाबन्दी भएपछि नेपाली पनि झस्केका थिए । त्यसको कारण थियो– कतारमा कार्यरत नेपालीहरू र नेपालमा भारतले त्यसको डेढ  वर्षअघि लगाएको छ महिने नाकाबन्दी सम्झेर । संविधान जारी गर्ने समयमा भारतले लगाएको अघोषित नाकाबन्दी र त्यो पीडालाई नेपालीले नजिकबाट नियालेका थिए । नेपालीले नाकाबन्दी त भुलिसके तर कतारले नाकाबन्दीको बीचमा आफूलाई निकै खारेर आत्मनिर्भर बनेको छ ।
 
नाकाबन्दी खुल्नु-नखुल्नुमा कतारीलाई कुनै महत्व नै थिएन । छिमेकसँग सम्वन्ध राम्रो राख्नु उसको बाध्यता छ । किनकी आगामी वर्ष उसले २२ औं विश्‍वकप खेलाउँदै छ । कतारले आफ्नो क्षेत्रीय प्रभाव विस्तारका लागि नै अलजजिरा मिडिया नेटवर्क स्थापना गरेर अघि बढेको थियो । अलजजिरा टेलिभिजनले बन्द अरबलाई बिस्तारै खुला गराउनेतर्फ लगेको थियो । त्यही कुरा उसलाई काँडा बन्न पुग्यो । यसले त्यहाँ सामाजिक क्रान्ति नै ल्याउने डरले साउदीले कतारमाथि नाकाबन्दी लगाएको कतै छिप्दैन ।
 
साउदीले खासमा अल-थानी परिवारको सत्ता ढाल्ने वा आफ्नो पिछलग्गु बनाउने सोचसाथ यो कदम चालेको भए पनि आफैँ हार्दै अहिले कतारमाथिको प्रतिबन्ध खुला गरेको हो । यसमा कतारको जीत भएको छ । यो नाकाबन्दी अन्त्यका लागि संयुक्त राज्य अमेरिका र कुवेतलाई साउदी र कतार दुवैले धन्यवाद दिएका छन् ।

अल उला घोषणा पत्र नाम दिइएको दुई सहमति पत्रमा छ-सदस्यीय खाडी सहकार्य परिषद्का नेताले हस्ताक्षर गरेको भनिए पनि बाहिर सार्वजनिक भएको छैन् । साउदी सहर अल उलामा खाडी क्षेत्रका यी मुलुकहरूको शिखर सम्मेलन अर्थात जीसीसी सम्मेलन र मस्यौदा तयार भएको हो ।

यसको सन्देश हो आफू बलियो र आत्मनिर्भर बन्‍न सके कसैले केही गर्न सक्दैनन् भन्‍ने पनि हो । हुन पनि कतारमा जनता र सरकारबीचको सहकार्य असाध्यै राम्रो छ । त्यसको कारण कतार आफैँ बलियो बन्यो र समस्यामा परेन । परेका समस्या पनि चिर्दै गयो । आफ्ना नागरिक निकै धनी भए पनि मुलुकलाई पर्दा कतारले साथ पायो नागरिकबाट पनि ।
 
नाकाबन्दी भएलगत्तै बेलायती पत्रिका ‘द गार्डियन’मा छापिएको थियो । ‘पछिल्लो समय हामी धनाढ्य समुदाय हौं । कसैले काम नगरे पनि फरक नपर्ने अवस्था पनि छ,’ कतारी राजाकी कान्छी बहिनी शेख हिन्दले भनाई थियो, ‘तर, नाकाबन्दीपछि हामी त्यसै बसेनौ आत्मनिर्भर बन्‍ने दृढता र राष्ट्रभक्तिको लोभलाग्दो लहर देखियो । यो नाकाबन्दीको सकारात्मक पाटो हो ।’
 
नाकाबन्दीलाई कतारले अवसरमा परिणत गरेर आफ्नो क्षमता देखाएको छ । कतारको खाद्य आत्मनिर्भरता, सामाजिक अमनचैन र आर्थिक दिगोपन मात्र होइन, क्षेत्रीय राजनीतिक भूमिकामा समेत महत्वपूर्ण सुधार गर्ने काम कतारबाट भयो । अफगानस्तिान सरकार र तालिवानको मध्यस्थता होस या अमेरिका र तालिवानको मध्यस्थता पनि कतारको भूमिमा हुन पुग्यो । अमेरिकी बेस पनि कतारमा पनि रह्यो । जुन साउदीमा मात्र थियो । कतार अव अन्तराष्ट्रिय सैन्य फोर्स बनाउने धुनमा छ ।
 
नाकाबन्दीको सामना डटेर गरेको कतारले यस अवधिमा वैकल्पिक व्यापारिक मार्ग, विश्‍वकपमा लागि पूर्वाधार, ठूला स्टडियम मात्र होइन जोड्‍ने रेलमार्ग बनायो । होटलहरुको निर्माण कत्ति रोकेन । करिब-करिब निर्यातउन्मुख खाद्य आत्मनिर्भरतामा परिणत गर्दै कृषिमा छलाङ नै मारेको छ ।

हवाईजहाजमा गाई ल्याएर तापक्रमको व्यवस्थापनसँगै पशुपालन अघि बढाएको छ । थपिएका हवाई रुट, साना पोर्टको निर्माणदेखि अन्य धेरै कार्य भएका छन् । सबैभन्दा महत्वपूर्ण त त्यहाँ चुलिएको राष्ट्रिय आत्मविश्‍वास नै हो । 


 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x