विश्व

रसिया-युक्रेन युद्ध : ४०३ जना नेपाली पोल्याण्ड पुगे

रसिया-युक्रेन-युद्ध-४०३-ज

इकागज |
फागुन २४, २०७८ मंगलबार १७:५९ बजे

काठमाडौँ- रसिया-युक्रेन युद्ध सुरु भएपछि ४०३ जना नेपाली पोल्याण्ड पुगेका छन् । युक्रेनबाट पोल्याण्डको सुरक्षित स्थानतर्फ लाग्न विभिन्न तीन नाका हुँदै प्रवेश गरेका हुन् । मेडिका नाकाबाट सबैभन्दा बढी नेपाली प्रवेश गरेका छन् ।

विभिन्न समयमा युक्रेन पुगेका नेपालीहरूलाई युक्रेनबाट उद्धार गरि सुरक्षित स्थानतर्फ लगिएको नेपाली जनसम्पर्क समिति पोल्याण्डका महामन्त्री सुरेन्द्र आचार्यले जानकारी दिए । पोल्याण्ड आएका सबै नेपालीहरू सुरक्षित अवस्थामा रहेको उनले बताए । युक्रेनमा थप संकट चुलिएपछि पोल्याण्डस्थित विभिन्न संघ संस्थाहरूले उद्धार गर्न सहयोग गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्‍ट्रिय समाज र विभिन्न संघ-संस्थाहरूले युद्धबाट प्रभावित नेपालीहरूलाई सुरक्षित स्थानतर्फ लैजान मद्त गरेका छन् । माइनस डिग्रीको चिसोमा पाँच-छ दिनको पैदल यात्रा गरेर उनीहरू पोल्याण्डको नाकामा आइपुगेका छन् । युक्रेनमा थोरै संख्या मात्र नेपालीहरू हुन सक्ने आचार्यको भनाइ छ । ‘पोल्याण्डमा आइपुगेका नेपालीहरू आफन्तकोमा गइसकेका छन्,’ उनले भने,’ धेरैलाई सुरक्षित वासस्थानमा व्यवस्थापन गरिएको छ । कतिपय नेपालीहरू आफ्ना साथीहरूकोमा गएका छन् ।’

खाना बस्नसहितको सेवा-सुविधा प्रदान गरिएको उनको भनाइ छ । उद्धार गरेर पोल्याण्ड पुगेका धेरै नेपालीहरू स्वदेश फर्कन नचाहेको उनले बताए । ‘धेरै ऋण गरेर आएकाले तत्कालै स्वदेश फर्कन चाहना नगर्ने छन्,’ उनले थपे,’ पोल्याण्ड सरकारले युक्रेनबाट आएकालाई बसोबास गर्न राम्रो व्यवस्थापन गरिरहेको छ ।’

पोल्याण्डमा पुगेका नेपालीहरू युरोपका अन्य मुलुकमा कसरी सेटल हुन सकिन्छ त्यसतर्फ ध्यान दिइरहेका छन् । धेरै संख्यामा विद्यार्थी रहेका छन् । उद्धार गरिएका अधिकांश नेपालीहरूले यतै काम गर्ने वातावरणको खोजीमा रहेका छन् ।



Author

थप समाचार
x