धर्नामा बसेका अधिवक्तालाई पूर्वमहान्यायाधिवक्ता संग्रौलाको प्रश्न : नेताको चाकरी गर्ने तपाईँ कति ठीक ?
काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद् सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वाेच्च अदालतको गेटमा कानुन व्यवसायी धर्नामा बसेका छन् ।
कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद् सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।
उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वाेच्च अदाललत जाने तयारीमा छन् । उनलाई रोक्न सर्वाेच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका छन् ।
यसरी धर्नामा बसेका कानुन व्यवसायीलाई पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाईं कति ठीक भन्दै प्रश्न गरेका छन् ।
‘विद्वान भनिने वकिलले जोकर हुनु कति ठीक ? चोलेन्द्र ठीक छ्न् भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाईँ कति ठीक ?,’ उनले फेसबुकमा लेखेका छन् ।
कानुन व्यवसायीलाई सम्बोधन गर्दै संग्रौलाले फेसबुकमा लेखेका छन् :
आदरणीय वकिल मित्रहरू,
चोलेन्द्रजीको महाअभियोगका बारेमा आफ्ना नेताज्युहरूलाई सोध्न जानुहोस् । अदालतलाई बेथितिको दलदलमा हाल्ने न्यायाधीश र प्रधानन्यायाधीशलाई आफ्नो स्वार्थअनुसार माया गर्ने र लखेट्ने नेता र उनका झोला बोक्ने वकिलकै कारण अदालत ध्वस्त भयो । यसका विरुद्ध अब जनता नै उठ्ने बेला भयो । तपाईँका नेताले क्लिन चिट चोलेन्द्रजीलाई दिए । तपाईँहरू ढोका रुंगेर उभिनु भएको छ । नारा कसकाविरुद्ध लगाउनु हुन्छ ?
विद्वान भनिने वकिलले जोकर हुनु कति ठीक ? चोलेन्द्र ठीक छ्न् भन्दिनँ, तर अदालतलाई पपेट बनाउने नेता र तिनको चाकरी गर्ने तपाइँ कति ठीक?